राष्ट्रियसभा सदस्य, एमालेले बनायो मापदण्ड



काठमाडौं, (नेस)
नेकपा एमालले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने मापदण्ड तयार पारेको छ। एमालेले तीन तहका निर्वाचनमा उम्मेदवार बनेका र समानुपातिकको बन्द सूचीमा रहेका कुनै पनि नेता कार्यकर्तालाई राष्ट्रियसभाको उम्मेदवार नबनाउने निर्णय गरेको हो।

शुक्रबार कार्यवाहक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले चुनाव हार्ने र यसअघि ३ तहको निर्वाचनमा उम्मेदवार बनेका तथा प्रदेश र केन्द्रमा समानुपातिकको बन्द सूचीमा परेका नेताकार्यकर्तालाई राष्ट्रियसभामा उम्मेदवार बनाउन नहुने मापदण्ड प्रस्ताव गर्नुभएको थियो। सो प्रस्तावलाई बैठकले पारित गरेको छ।

बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो समय योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका, भौगोलिक र सामाजिक सन्तुलन मिलाउन सक्नेलाई प्राथमिता दिने निर्णय गरेको छ। बैठकले प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदण्डअनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको छ। नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था प्रदेश संगठन कमिटीले गर्ने जानकारी दिनुभयो।

बैठकले केही दिनयता तराई–मधेसमा चलेको शीतलहरबाट ज्यान जोगाउनका लागि तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ। विगत केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कैयौं व्यक्तिको ज्यान गएको र धेरै गम्भीर बिरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य टोली पठाउन तथा पर्याप्त औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको सचिव ज्ञवालीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्