५ बुँदे सहमतिपछि अनसन तोड्दै डा. केसी



नेपाल समाचारपत्र, काठमाडौँ ।
सरकार र अनसनरत प्रा.डा. गोविन्द केसीबीच शुक्रबार राति ११ बजे सहमति भएको छ । सरकारका स्वास्थ्य मन्त्री दीपक बोहरा र केसीले ५ बुँदे पत्रमा हस्ताक्षर गर्दै सहमति गरेका हुन् । यसपश्चात केसी अनसन आज तोड्ने बताइएको छ । सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आर्इओएम) को डीनमा डा. जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने उल्लेख गरिएको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिने बुँदासमेत सहमति पत्रमा समावेश छ । सहमतिको चौथो बुँदामा त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने उल्लेख छ भने पाँचौंमा केसीले अनसन कार्यक्रम अन्त गर्ने उल्लेख छ । केसीको प्रमुख मागमध्ये प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा एक भए पनि यो विषय भने सहमतिपत्रमा उल्लेख गरिएको छैन् ।

सर्वोच्च अदालतले आईओएमको डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न आदेश दिएलगत्तै प्रा.डा केसी यसको खारेजी र प्रधानन्यायाधीशको राजीनामा माग गर्दै अनसन बसेका थिए । तर, अदालतले उनीमाथि अवहेलना मुद्दा दर्ता गराउँदै पक्राउ गर्न आदेश दिएको थियो । तर, केसी अदालतकै आदेशमा तारेखमा छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस्