न्यायपालिकाको गरिमा बढाउन बारको आग्रह



काठमाडौं, (नेस)
नेपाल बार एसोसिएसनले प्राडा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ। प्रक्रिया मिचेर डा. केसीले प्रधानन्यायाधीशलाई लाञ्छना लगाएको भन्दै बारले स्वतन्त्र न्यायपालिकाको गरिमा बढाउन आग्रह गरेको हो।

बार एसोसिएसनले न्यायाधीशविरुद्ध उजुरी गर्नुपरेमा न्यायपरिषद् हुँदाहुँदै अदालतको आदेश र फैसलालाई लिएर अशिष्ट भाषाको प्रयोग गरेको बताएको हो। न्यायाधीशविरुद्ध उजुरी गर्ने थलो न्यायपरिषद् भएको र परिषद्ले अध्ययन गर्न सक्ने भएको तर उक्त प्रक्रियामा नगई अनशनको गलत प्रवृत्ति डा. केसीले शुरू गरेको बारको विज्ञप्तिमा उल्लेख छ।

सर्वोच अदालतले अवहेलना मुद्दामा साधारण तारेखमा रिहा गरेपछि पनि अनशन बस्नु उचित नभएको भन्दै बारले तत्काल अनशन फिर्ता लिन डा. केसीलाई आग्रह गरेको छ। स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न सबैले आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने भन्दै बारले प्रधानन्यायाधीशको राजीनामा माग्ने कामले प्रश्रय पाउन नहुने बताएको छ।

बार एसोसिएसनका महासचिव खम्मबहादुर खातीले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– ‘अदालतको फैसलालाई लिएर स्वच्छ टीकाटिप्पणी नगरी व्यक्तिगत रूपमा लाञ्छना लगाउने, आफ्नो आमरण अनशन जारी राख्नेजस्ता विषयवस्तुले प्रश्रय पाउने हो भने गलत प्रक्रिया र पद्धतिको विकास हुने देखिन्छ।’

यस्तै, बार एसोसिएसनले डा. केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको स्वागत गरेको छ। यसैगरी नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनले डा. गोविन्द केसीलाई न्यायिक अनियमितता र न्यायिक प्रक्रियाका विषयहरू कानुनी प्रक्रियाबाटै समाधान गर्ने वातावरण बनाई सहयोग गर्न आग्रह गरेको छ। सर्वोच्चले चिकित्साशास्त्र अध्ययन संस्थानका तत्कालीन डिन डा. शशी शर्मालाई पुनर्बहाली गरेपछि डा. केसी सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशनरत हुनुहुन्छ।

यसैगरी शुक्रबार राजधानीमा आयोजित एक सात्क्षात्कार कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता डा. रामशरण महतले अनशन बसेर स्वतन्त्र न्यायालयलाई प्रभावित नपार्न डा. गोविन्द केसीलाई अनुरोध गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै डा. महतले अदालत स्वतन्त्र न्यायपालिका भएकाले यसलाई स्वतन्त्ररूपमै काम गर्न दिनुपर्ने र अदालतभित्र हुने कामकारबाहीमा कसैले पनि अनावश्यक दबाब वा हस्तक्षेप गर्न नहुने बताउनुभएको थियो।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाबारे टिप्पणी गर्दै डा. महतले राजीनामा दिने वा नदिने प्रधानन्याधीशको आफ्नो स्वविवेकको कुरा भएकाले कसैले दबाब दिएकै भरमा राजीनामा दिने कुरा नहुने बारे पनि स्पष्ट गर्नुभएको थियो। साथै डा. महतले आफ्नो सम्बोधनमा डा. गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीमाथि लगाइएकोे आरोप प्रमाणित गर्न सक्नुपर्ने कुरामा समेत जोड दिनुभएको थियो।
न्यायपालिकाको गरिमा कायम राख्न सबैले आफ्नो ठाउँबाट ध्यान दिनुपर्ने भन्दै बारले प्रधानन्यायाधीशको राजीनामा माग्ने कामले प्रश्रय पाउन नहुने बताएको छ।

प्रतिक्रिया दिनुहोस्