१० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिने राज्यलाई करोडौं व्ययभार



प्रशान्त वली, काठमाडौं
निजामती कर्मचारीलाई स्वैच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छोड्ने सम्भावना देखिएको छ। सरकारले स्वैच्छिक अवकाशको तयारी गरेपछि ८ देखि १० हजार कर्मचारीले निवृत्तीभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताउनुभयो।

निजामती कर्मचारीहरूले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आकलन गरिएको छ। सरकारी सेवामा ५० वर्ष उमेर पुगेका र २० वर्ष सेवा अवधि पार गरेका निजामती कर्मचारीलाई निवृत्तीभरणको व्यवस्था गरेको छ।

‘सरकारले ढिलै भए पनि राम्रो कामको शुरुआत गरेको छ। मन्त्रिपरिषद्बाट समेत निर्णय भएकाले अब सरकारले पक्कै कार्यान्वयन गर्छ’, कोइरालाले भन्नुभयो– ‘यो वर्षदेखि आगामी ७ वर्षसम्म एकमुष्ठ निवृत्तीभरण उपलब्ध गराउँछ र ८ वर्षमा प्रवेश गरेपछि मासिक पेन्सन उपलब्ध गराउने भनिएको छ।’

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वैच्छिक अवकाशको तयारी थालेको बताइएको छ। कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएपछि समायोजनमा नजाने कर्मचारीका लागि स्वैच्छिक अवकाशको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो।

समायोजनमा नजाने कर्मचारीलाई पेन्सनबापत एकमुष्ट सात वर्षको रकम दिने प्रस्ताव गरिएको छ। मन्त्रालयले कार्यरत पदमा ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना र नागरिकताका आधारमा समायोजन गर्ने आधार तयार पारेको छ।

सरकारले ती कर्मचारीलाई एकमुष्ठ रकम उपलब्ध गराउने सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘सरकारले ५० वर्ष उमेर पुगेका र २० वर्ष सेवा अवधि पूरा गरेकालाई निवृत्तीभरण दिनेछ। त्यसका लागि मापदण्डभित्र पर्ने इच्छुक कर्मचारीलाई स्वैच्छिक अवकाश दिन आग्रह गरेका छौं।’

सरकारले मापदण्डभित्र रहेका सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई एकमुष्ठ रूपमा रकम उपलब्ध गराउने बताइएको छ। अहिले करिब ८३ हजार निजामती कर्मचारी छन्। पेन्सन व्यवस्थापन गर्दै आइरहेको निवृत्तीभरण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार हाल २ लाख ३६ हजार ७ सय १९ जना पूर्वकर्मचारीले पेन्सन लिइरहेका छन्। पेन्सन लिनेमा प्रहरी र सैनिकको संख्या धेरै छ।

सेनातर्फ ७३ हजार ६ सय २८ र प्रहरीतर्फ ४८ हजार ४३ जनाले पेन्सन लिइरहेका छन्। निजामतीतर्फ ७६ हजार ५ सय ४६ जना कर्मचारीले पेन्सन लिइरहेका छन्। ३८ हजार ५ सय २ शिक्षकले पेन्सन लिइरहेको निवृत्तीभरण व्यवस्थापन कार्यालयको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्