छताछुल्ल कांग्रेसमा गुट मौलायो



रामकृष्ण चापागाईं, काठमाडौं
हालै सम्पन्न निर्वाचनपछि दोस्रो ठूलो दलको हैसियत कायम गरेको नेपाली कांग्रेसभित्र आन्तरिक गुटउपगुटको जरा झन् फैलँदै गएको छ। अघिल्लो निर्वाचनमा पहिलो दलको हैसियत कायम गरेको कांग्रेसभित्र यो निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि नेतृत्वको आलोचना सँगसँगै आन्तरिक किचलो पनि बढेको छ।

पार्टीको १२औं महाधिवेशनपछि केन्द्रदेखि गाउँतहसम्म पार्टीको सबै संचरनामा तत्कालीन सभापति सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवाबीच ६०÷४० को भागवण्डामा हुने गरेको थियो। १३औं महाधिवेशनबाट निर्वाचित सभापति देउवाले पार्टीभित्र हुने भागवण्डा अन्त्य गर्ने उद्घोष गरे पनि त्यो सम्भव हुन सकेन। अहिले कांग्रेसभित्र देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाहेक तेस्रो गुटका रूपमा कृष्णप्रसाद सिटौला समूह पनि स्थापित भइसकेको छ।

निर्वाचनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताको भेला राजधानीमा पटक–पटक बसिसकेको छ भने डा. शेखर कोइराला, डा. शशांक कोइरालालगायतका नेता पनि छुट्टै गुटगत भेला गरी पार्टीको आन्तरिक समीक्षा गरिरहेका छन्।

स्थानीय तहको निर्वाचनमा गुटगत स्वार्थको आधारमा टिकट वितरण गर्दा अनपेक्षित हार बेहोरेपछि पनि नचेतेको कांग्रेसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट बाँड्ने बेलामा पनि गुटगत स्वार्थ देखियो। आन्तरिक रूपमा गुटबन्दी भए पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमाा भने नेपाली कांग्रेस केही हदसम्म एकढिक्का भएर नै निर्वाचनमा होमिएको थियो। नेकपा एमाले र माओवादीबीचको चुनावी तालमेलले गर्दा लज्जास्पद हार बेहोरेको कांग्रेसभित्रको गुटगत विवाद निर्वाचन परिणामपछि छताछुल्ल हुँदै गएको छ।

निर्वाचन परिणामपछि कांग्रेसका प्रभावशाली नेताहरूले नेतृत्वको खुलेरै आलोचना गरिरहेका छन् भने गुटगत भेला पनि बढ्न थालेको छ। निर्वाचनपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताको भेला राजधानीमा पटक–पटक बसिसकेको छ भने डा. शेखर कोइराला, डा. शशांक कोइरालालगायतका नेता पनि छुट्टै गुटगत भेला गरी पार्टीको आन्तरिक समीक्षा गरिरहेका छन्।

युवा नेता गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डेलगायतका युवा नेताले पटक पटक विज्ञप्ति जारी गर्दै पार्टीभित्रको असन्तुष्टि पोखिरहेका छन्। पार्टीभित्र संस्थापन पक्षको कार्यशैलीप्रति असन्तुष्ट राख्ने नेताहरूले तत्काल केन्द्रीय समिति बैठक र महासमिति बैठक बोलाउनुपर्ने भन्दै सभापति देउवाको राजीनामासमेत मागिरहेका छन्।

निर्वाचनमा कांग्रेसका प्रभावशाली र धेरै शीर्ष नेताले पनि पराजय भोगेका छन्। रामचन्द्र पौडेल, विमलेन्द्र निधि, महेश आचार्य, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. प्रकाशशरण महत, पूर्णबहादुर खड्का, बलबहादुर केसी, मोहनबहादुर बस्नेतजस्ता नेता मात्र होइनm प्रत्यक्ष निर्वाचनतर्फ आन्तरिक रूपमा विजयी हुने अनुमान गरिएका सबै धेरै नेता पराजित भएका थिए। सभापति देउवालाई निर्वाचनको मतपरिणाम आएसँगै समीक्षा गर्न केन्द्रीय समिति बैठक बोलाउन चर्को दबाब दिए पनि उहाँले केन्द्रीय बैठक बोलाउनुभएको छैन। देउवा निकट नेता डा. प्रकाशशरण महतका अनुसार प्रत्येक जिल्लाबाट समीक्षाको प्रतिवेदन नआएसम्म केन्द्रीय बैठक बस्ने सम्भावना छैन।

निर्वाचन परिणामपछि गुटउपगुट सक्रिय भएर आन्तरिक किचलो बाहिर देखिएपछि भित्री किचलो भने १३औं महाधिवेशन सम्पन्न भएदेखि नै जारी छ। गुटउपगुटको व्यवस्थापन गर्न नसकेका कारण सभापति देउवाले पार्टी केन्द्रीय कार्यसमितिलाई अझै पूर्णता दिन सक्नुभएको छैन। विधानअनुसार दुई महिनाभित्र गरिसक्नुपर्ने पार्टीको आन्तरिक संरचनाले दुई वर्षसम्ममा पनि पूर्णता पाएको छैन। एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य अझै मनोनित गर्न बाँकी छ। विधानमा व्यवस्था भएअनुसार पार्टी संगठनलाई मजबुत बनाउने विभिन्न विभाग र समिति अझै बनेका छैनन्। कांग्रेस नेताहरूको पछिल्लो गतिविधिअनुसार निर्वाचनको हारको समीक्षा गर्दै कमीकमजोरी हटाउने र पार्टी संगठनलाई मजबुत बनाउने कार्यतिरभन्दा पनि कांग्रेस नेताहरू गुट–उपगुटमै विभाजित हुँदै जाने सम्भावना बढेको देखिन्छ। नेताहरूले एकले अर्कोलाई आलोचना गर्नेभन्दा पनि संगठन सुदृढीकरणमा लाग्ने हो भने कांग्रेसको तत्काल केन्द्रीय समिति बैठक बोलाएर थप रणनीति बनाउनु आवश्यक देखिन्छ।

संघीय संरचनाअनुसार विधान परिमार्जन गर्न र संगठन निर्माण गर्न तत्काल महासमिति बैठक बस्नु पनि आवश्यक छ। राष्ट्रिय राजनीतिमा मियोका रूपमा रहेको कांग्रेसभित्रको आन्तरिक किचलो र गुट उपगुटको राजनीतिले मुलुकलाई हित गर्दैन। नेताहरूले यसबारेमा बेलैमा विचार नगरे आम नगरिकको कांग्रेसप्रतिको जनविश्वास थप गुम्नेछ।

कांग्रेसभित्रको आन्तरिक विवाद बढेपछि गुटगत भेला गर्ने क्रममलाई नेताहरूले हिजो सोमबार पनि निरन्तरता दिएका छन्। हिजो समोमबार रामचन्द्र पौडेल पक्षका नेताहरूले राजधानीमा भेला आयोजना गरी निर्वाचनको समीक्षा गरेका छन् भने कार्यसम्पादन समिति पनि भ· गर्नुपर्ने निष्कर्ष निकालेका छन्। यता गगन थापा, धनराज गुरुङलगायका नेताहरूले प्रबुद्ध व्यक्ति र बुद्धिजीवीसँग छुट्टै भेला गरी नेपाली कांग्रेसलाई कसरी अगाडि बढाउने र महासमिति बैठकमा के कस्ता ऐजेन्डा लैजाने भन्ने बारेमा छलफल गरेका छन्। कांग्रेसभित्र संसदीय दलको नेता को बन्न भन्ने बारेमा पनि गुटगत छलफल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्