वीरेन्द्रनगरको अतिक्रमणमा स्थानीय सरकार बेखबर



शेरबहादुर थापा, सुर्खेत । केहि वर्ष पहिले घण्टाघर आसपासमा थोरै मात्र ठेलाहरु हुन्थे । उनीहरुले चाउमिन बेच्ने गर्थे । तर अहिले समय फेरिएको छ । घण्टाघरको तल्लो भागको अधिकांश क्षेत्र ठेलामय बनेको छ ।

अहिले त्यहाँ नास्ता देखि फलफुल र सुर्ति तथा चुरोटको धमाधम व्यापार भइरहेको छ । हप्तैपिच्छे नयाँ टहरा÷घुम्ति थपिन्छन् तर स्थानीय सरकार मौन छ । उसले आफ्नै कार्यालय नजिकै भइरहेको सरकारी जमिनमाथिको अतिक्रमण न हेर्न सकेको छ, न त त्यसबारे केहि बोल्नै चाहेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत नयाँ भवनमा सरेको धेरै भएको छैन । नयाँ भवन अगाडी अहिले आधा दर्जन भन्दा बढी टहराहरु तयार भइसकेका छन् । जिल्ला प्रहरी कार्यालयले आफ्नै आँखा अगाडी दिनहुँ सरकारी जग्गा अतिक्रमण गरेकाहरुलाई केहि भन्न सक्दैन । नगरपालिकाको त्यहाँ ध्यानै पुग्दैन । यी त उदाहरण मात्र हुन । बजार क्षेत्रमै, नगरपालिकाको नाकैमा त यति जग्गा अतिक्रमण भएको छ भने अन्यत्र जहाँ नगरपालिकाको नजर नै पुग्दैन त्यहाँको हालत के होला ? आफै अनुमान लगाउन सक्नुहुन्छ ।

यहाँ रोचक कुरा त के छ भने स्थानीय तहको निर्वाचन पश्चात स्थानीय सरकार आयो तर उसले शासन सुरु गरेको नौ महिनामै करिब दोब्बर टहरा थपिएका छन् । न त उनीहरुले सरकारलाई केहि तिरेका छन न त सडकको दायाँबायाँमा नागरिकले निर्धक्क यात्रा गर्न पाएका छन् ।
वीरेन्द्रनगर ६ का एक व्यापारी नाम नबताउने शर्तमा राज्यले आफूहरुलाई समस्यामा पारिरहेको बताउँछन् ।

उनी भन्छन, ‘हामीले राज्यलाई कर तिरेका छौं । मासिक १०÷१२ हजार भाडा तिरेर व्यापार गर्न बसेका छौं तर राज्यले नै हामीलाई गाह्रो पार्दै आएको छ । हामीले भाडा, कर तिर्छौं र सामान केहि महँगो पर्छ तर सडकको दायाँबाँया खुलेका घुम्तिहरुले सस्तो दिन्छन र हामीलाई भाडा तिर्नै हम्मे हम्मे हुन्छ ।’ राज्यले सडकको दाँया बाँया यसरी भाडा नतिरेरै पसल गर्न दिएको खण्डमा सटर भाडामा लिई बसेका व्यापारीलाई ‘व्यापार निल्नु न ओकल्नु’ हुने उनी बताउँछन ।

जहाँ पायो त्यहि बनाइएका यस्ता टहरा र खोलिएका पसलले शहरलाई फोहोर बनाउँदै लगेको स्थानीय रमेश सापकोटाले जनाए । उनका अनुसार यसरी दिनप्रतिदिन टहरा बनाउन दिने हो भने भोली नगरपालिकाले चाहेर पनि सडक छेउमा बनाएका यी संरचना भत्काउन नसक्ने र यीनै टहराको आडमा फेरि राजनीति हुनसक्ने बताए । उनले तत्काल नगरपालिकाले यसतर्फ ध्यान दिनुपर्ने अन्यथा उनीहरु संगठित भइसकेको खण्डमा हटाउन समस्या आउन सक्ने जनाए ।

झण्डै तिन महिना पहिलेमात्रै एक होटल खोलेकी रीता शाही भने नगरपालिकाले आफूहरुलाई व्यवस्थापन गरेर मात्रै हटाउनुपर्ने माग गर्छिन । उनका अनुसार अधिकांशले ठेला तथा पसलहरु किनेका हुन ।

यता वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले अहिले सडकमा भइरहेको अतिक्रमणलाई कानून बनाएर हटाउने तयारी भईरहेको प्रतिक्रिया दिए । उनले खुला मञ्च नजिकको जमिन विश्वविधालयको भएपनि ती टहरा हटाउनेबारे केहि ध्यान नदिएकोले अब केहि दिनमै नगरपालिकाले हटाउने जानकारी दिए । सडक च्यापेर बनाइएका टहरा वा पसलहरुलाई तत्काल हटाउनेबारे कार्यपालिकामा छलफलसमेत भएको उनले खुलाए । नगरपालिकालाई सफा र अतिक्रमणरहित बनाउनेतर्फ आफूले ध्यान दिएको उनको भनाई छ ।
जताततै सडकको छेउमा बढेको अतिक्रमणले सवारी दुर्घटना बढाएको छ भने शहर समेत कुरुप बनाउदै लगेको स्थानीयको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्