खोेटाङका दुई युवाको कतारमा बिचल्ली



रामधन राई, खोटाङ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवाकम्पनीबाट काम र तलब नपाउँदा बिचल्लीमा परेका छन् ।

काठमाण्डौंस्थित प्रोगेसिप मेनपावरमार्फत जनही ७५ हजारका दरले रकम बुझाएर कतार पुगेका खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चेका अरुण राई र धनकुमार राईलाई कम्पनीले काम–दाम नदिनका साथै स्वदेश फर्कन समेत रोकेपछि बिचल्लीमा परेका हुन् ।

टायल मेसनको लागि भनेर डेढ महिना अघि कतारको सेटलाईट ईन्टरनेशनल कम्पनी पुगेका राईद्वयले खाना खाने रकम समेत नपाएपछि स्वदेश फर्कन खोज्दा कम्पनीले रोकेको जनाएका छन् । कम्पनीले हाललाई काम नभए पनि केही दिनपछि काम हुने भन्दै घर फर्कन समेत रोकिरहेको धनकुमार राईले बताउनुभयोे ।

राईले सेटलाईट कम्पनीबाट केही दिनपछि पाउने भनिएको काम पनि नेपालको मेनपावरमा भनिए भन्दा अप्ठ्यारोहुने बताएका छन् । कम्पनी टाट पल्टिएकोले गर्दा काम–दाम नपाएको बताउनुहुने धनकुमारको अनुसार काम शुरु हुन साथ काममा लगाउने र तलब दिने भन्दै कम्पनीले जबरजस्ती रोकिरहेका छन् ।

बिचल्लीमा परेका कामदारलाई काम नगरी बसेको दिनको तलब तथा खाने–बस्ने सुबिधा नदिने कम्पनीले बताएका छन् । हाल बसेको तथा खाएको रकम काम शुरु भएपछि पाउने तलबबाट कटाउने जनाएको पीडितहरुले बताएकाल छन् ।

ऋण लिएर कतार गएका राईद्वयले बिचल्लीमा परेपछि स्वदेश फर्कन पहलका लागि सूचना तथा परामर्श केन्द्रसँग गुहार मागेका छन् । सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्दै आएको दिक्तेलबजारस्थित सूचना तथा परामर्श केन्द्रमा फोन गरी अरुण र धनकुमारले तत्कालै नेपाल फर्काउन पहल गरिदिन अनुरोध गरेको परामर्शकर्ता अम्बिका दाहालले बताउनुभयो ।

अरुण र धनकुमारसँगै उक्त कम्पनी पुगेका नवलपरासीको भमबहादुर मगर, उदयपुरका दिपबहादुर माझी र कैलाली टिकापुरका नन्दसिं साउद समेत बिचल्लीमा परेका छन् ।

वैदेशिक रोजगारीको प्रक्रियामा प्रयोग गरिएको कागजातको प्रतिलिपि समेत कामदारहरुसँग नभएको जनाईएको छ । उद्घार पहलका लागि पिपुल्स फोरमसँगको समन्वयमा सूचना केन्द्रले वैदेशिक रोजगार बिभागमा निबेदन दिने परामर्शकर्ता दाहालको भनाई छ । पिपुल्स फोरमले वैदेशिक रोजगारीका क्रममा अप्ठ्यारामा परेकालाई निःशुल्क कानुनी पैरवीको काम गर्दछ ।

खानाको लागि दिएको रकम अर्कैले लिएर फर्के
आफ्नो मेनपावरबाट जाने कामदारले काम तथा दाम नपाएपछि उत्पन्न समस्या समाधान गर्ने भन्दै कतार पुगेको निर्देशक श्याम श्रेष्ठले उल्टै कामदारको पैसा लिएर नेपाल फर्केका छन् । आफुहरुलाई खाना खाने समेत रकम नभएपछि कम्पनीले खानाको लागि भनेर दिएको पैसा श्यामले आफैले लिएर नेपाल फर्केको पीडितले जनाएका छन् ।

कामदारका लागि स्वयम मेनपावरको निर्देशक श्याममार्फत रकम दिँदा उचित हुने ठानेर खानाका लागि पाँच सय रियल रकम उपलब्ध गराए पनि बद्मासी गरेको कम्पनीका मुदिर(मालिक)ले जनाएका छन् । सूचना केन्द्रबाट मुदिरलाई टेलिफोन सम्पर्क गर्दा कामदारलाई खानाको लागि रकम दिएको भए पनि मेनपावर कम्पनीको निर्देशकले बेईमानी गरेको बताएको परामर्शकर्ता दाहालले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्