आर्थिक समृद्धिमा मिडियाको भूमिका




दीपक खनाल
मिडिया साध्य होइन साधन हो। मिडिया न त न्यायाधीश हो न त वकिल नै। मिडिया र पत्रकार ऐनाजस्तै तटस्थ हुनपर्छ। जसरी ऐनाले आग्रह, पूर्वाग्रह र अनुग्रह नराखी आफ्नो अगाडि देखिएको वस्तुलाई जस्ताको तस्तै प्रस्तुत गर्दछ मिडियाले पनि त्यसरी नै समाजमा विद्यमान विषयवस्तुलाई यो वा त्यो पक्षमा नलागी मुलुकको आर्थिक समृद्धि र जनहितमा योगदान पुर्यउनुपर्दछ। पत्रकार र मिडियाले राजनीतिक पार्टी वा सङ्गठनले जस्तै सडक आन्दोलनमा उत्रेर परिवर्तन ल्याउने पनि होइन। यसले त विभिन्न परिवर्तनका लागि सहयोगी वा उत्प्रेरकको मात्र भूमिका खेल्ने हो। अधिकार अख्तियारवालाहरू वा सरोकारवालाहरूमाथि दवाव सिर्जना गर्ने हो। समाजमा लुकेका विभिन्न विकृति र असङ्गतिलाई जस्ताको तस्तै उजागर गर्ने हो। ‘वायस’ नै हुनुपर्छ भने पनि भोका–नाङ्गा र आवाजविहीनहरूको पक्षमा उनीहरूको आवाज बनेर ‘वायस’ हुने हो।

हिजोको जस्तो राजनीतिक र मिसन पत्रकारिता आज छैन। अहिले त मुलुकमा विधागत मिडिया र पत्रकारिताको विकास भइरहेको छ। त्यसैको समाजका हरेका क्षेत्रको विकासमा मिडियाको एकदमै महत्वपूर्ण र उल्लेखनीय भूमिका रहेको छ। विभिन्न सामाजिक विषयलाई उठाएजस्तै आर्थिक विषय उठाएर त्यसको विकासमा यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ, सक्नुपर्दछ।

कुन माध्यमको भूमिका कति ?

छापामाध्यमको भूमिकाः नेपालमा खासगरी छापा, प्रसारण माध्यम, समाचार समिति र नयाँ मिडिया सशक्त रुपमा अघि बढिरहेका छन्। अहिले छापाको तुलनामा प्रसारण माध्यम निकै प्रभावकारी बनिररहेको छ। छापाभित्रका दैनिक, अर्धसाप्ताहिक, साप्ताहिक, पाक्षिक र मासिक पत्रिका(दर्ता सात हजार वरिपरि, नियमित ९१८) ले अस्तित्वमा रहेर विभिन्न किसिमको पत्रकारिता गरिरहेको देखिन्छ। छापामाध्यमको फरक खालको भूमिका रहेको हुन्छ। यसको स्थान बढी हुन्छ। एउटै विषयलाई बढी व्याख्यात्मक र वर्णनात्मक रूपमा प्रस्तुत गन सक्दछ। यसलाई मानिसले फुर्सदमा अध्ययन गर्न सक्दछन्। त्यसैले यो माध्यमले गाउँ गाउँ तहका आर्थिक समाचार सङ्कलन गर्नुपर्दछ। मुलुकको अर्थतन्त्रको अवस्था, आर्थिक विकासका आधार आदि जस्ता विषया समीक्षा, समालोचना गर्नुपर्दछ। अर्थविद्, अर्थसँग सम्बन्धित विभिन्न व्यक्तिका धारणा, लेख अन्तर्वार्ता, राष्ट्रको आर्थिक प्रगति, आर्थिक प्रगति गरेका संघर्षशील व्यक्तिका व्यक्तिचित्र, समाजमा लुकेका गुमनाम लगानीकर्ता, उद्योग–व्यवसायका विभिन्न अवसर, सम्भावना र चुनौति, उद्योगी–व्यवासायीका विचार, भावना र प्रतिभालाई छापाले विशेष प्राथमिकता दिएर बाहिर ल्याउनसक्दछ। किनकि अरू माध्यमको तुलनामा छापामाध्यममा यस्ता विषय खुलेर दिन र पाठकले धैर्य गरेर पढ्न सक्दछन्। साथै, आर्थिक गतिविधि, विभिन्न कारोबार, शेयर बजार, वैदेशिक लगानी वा परनिर्भरता, विदेशी अर्थतन्त्र र आर्थिक मन्दीका कथाव्यथा, आर्थिक प्रगति, भेला गोष्ठी, सम्मेलन राष्ट्रिय⁄अन्तर्राष्ट्रिय आर्थिक कार्यक्रम र अर्थ सम्बन्धी पछिल्ला विभिन्न प्रवृत्तिहरूलाई ठाउँ दिनुपर्दछ। श्रम, पेशा, रोजगार, घरलु उद्योग स्वरोजगार, वैज्ञानिक कृषि प्रणाली, आदि जस्ता विषयलाई जोडदारसँग उठाउनुपर्छ। अर्थसम्बन्धी राज्यका अहिलेसम्मका नीति, भ्रष्टाचार वा आर्थिक अनियमितता, कुशासन, ढिलासुस्ती, पारदर्शिता, सुशासन, सूचनाको हक र खुला सरकारको अवधारणा जस्ता विषयलाई ठाउँ दिनुपर्दछ।

प्रसारणमाध्यमको भूमिकाः प्रसारण माध्यमभित्रका खासगरी रेडियो(१), एफएम रेडियो (५६५) र टेलिभिजन (८३)ले त्यसरी नै सूचना–सामग्री सम्पेषण गरिहरेका छन्। प्रसारण माध्यमहरूले पनि माथि उठाइएका विषयलाई उठाउन सक्दछन्। यिनीहरूको विशेषता छापाको तुलनामा फरक छ। छापाले बढी विषय दिन सक्छ भने रेडियो र टिभीले कम। तर मानिसले काम गर्दै रेडियो श्रवण गरेर पनि नयाँ नयाँ कुरा सिक्न, थाहा पाउन सक्दछन्। टिभीले त सचित्र विषयवस्तु दिएर दर्शकको मन जित्न सक्दछ। अहिले मुलुकमा देशैभरि सबैभन्दा बढी जनताको पहुँच भएको एक प्रभावकारी माध्यम रेडियो नेपाल हो। यसले देशका कुना–काप्चाका जनतामा आर्थिक विकास रोजगार, श्रमका विषय पुर्याउन सक्दछ। विभिन्न एफएम रेडियोहरूले अनावश्यक कार्यक्रमको सट्टा गुमनाम जनतामा यी आवाजहरू पुर्याउन सक्दछन्।े नेपाल टेलिभिजनदेखि मुलुकका गैरसरकारी क्षेत्रका टिभीले यस्तो काममा एकदमै प्रभावकारी भूमिका खेल्न सक्दछन् श्रव्यदृश्यसहित माथिका जस्तै विषयवस्तुलाई उठाइदिएर।

पत्रकार र मिडियाले राजनीतिक पार्टी वा सङ्गठनले जस्तै सडक आन्दोलनमा उत्रेर परिवर्तन ल्याउने पनि होइन। यसले त विभिन्न परिवर्तनका लागि सहयोगी वा उत्प्रेरकको मात्र भूमिका खेल्ने हो। अधिकार अख्तियारवालाहरू वा सरोकारवालाहरूमाथि दवाव सिर्जना गर्ने हो। समाजमा लुकेका विभिन्न विकृति र असङ्गतिलाई जस्ताको तस्तै उजागर गर्ने हो। ‘वायस’ नै हुनुपर्छ भने पनि भोका–नाङ्गा र आवाजविहीनहरूको पक्षमा उनीहरूको आवाज बनेर ‘वायस’ हुने हो।

अनलाइन मिडियाको भूमिकाः अनलाइनलाई फरक मिडियाको रुपमा बुझेर व्याख्या गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ। एउटै भित्तोमा अक्षर पढ्न सकिने, अडियो सुन्न सकिने र टिभी पनि हेर्न–सुन्न सकिने विशेषता भएकाले यो छुट्टै प्रकारको अर्थात् ‘हाइब्रिड’ खालको मिडिया हो। मल्टि–मिडिया नै हो। बाढीको रूपमा बढिरहेको अनलाइन मिडिया (२०७४⁄०९⁄२३ सम्म ९९६, प्रेस काउन्सिल नेपाल) को राम्रो सदुपयोग गर्नसकिएमा छापा र प्रसारण भन्दा झन् यसले तीव्र रुपमा देश र समाजको समृद्धिका लागि योगदान गर्नसक्ने क्षमता छ। यसको एकदमै प्रभावकारी भूमिका छ। जनताको हात–हातमा मोवाइल पुगेको अवस्थामा यो माध्यमले माथि उल्लिखित आर्थिक विषयवस्तुलाई महत्वका साथ उठाएमा भने आर्थिक समृद्धिमा टेवा पुग्नेमा दुईमत रहँदैन।

समाचार समितिको भूमिकाः संसारका प्रायःजसो देशमा समाचार समिति रहेको हुन्छ। नेपालमा एउटा मात्र समाचार समिति (एक मात्र रासस) रहेको छ। यो छुट्टै गुणको मिडिया हो, जसलाई सूचना बैँक भन्न सकिन्छ। किनकि जसले देशभरका आर्थिक लगायत विभिन्न विधाका सूचना ल्याउन –पुर्याउन सक्छ।

सामाजिक सञ्जालबाट भूमिकाः सामाजिक सञ्जाल यस्तै अर्काे सशक्त माध्यम हो। यसको कम सकारात्मक र एकदमै बढी नकारात्मक प्रयोग भइरहेको छ। नेपालीको बानी वैज्ञानिक साधन–स्रोतको सदुपयोग भन्दा बढी दुरुपयोग गर्ने रहेको पाइन्छ। सामाजिक सञ्जाल (जस्तैःफेसबुक, ट्वीटर) मार्फत) जस्ता मिडियामा आम प्रयोगकर्तालाई आर्थिक क्षेत्रसँग सम्बन्धित माथि उठाइएका विषयहरू माथि उठाइएका विषयलाई निरन्तर उठाएर ‘पोष्ट’ गर्न लगाइएमा नयाँ समाज निर्माण अभियानको थालनी गर्नुपर्दछ अथवा साँस्कृतिक आन्दोलन छेड्नुपर्दछ कलममार्फत्।
चलचित्र⁄डकूमेन्ट्रीः चलचित्र, डकूमेन्ट्री आदि पनि मिडिया नै हुन तर हामीकहाँ यसबारे कमै बुझाइने र चर्चा गरिने गरेको छ। धेरैले चलचित्रलाई आमसञ्चारमाध्यम भनेर बुझेको पाइँदैन। तर यो समाजको ऐना दुरुस्त पार्नसक्ने एक गम्भीर र चोटिलो माध्यम हो। अरू माध्यमको तुलनामा यसको गहिरो र लामो छाप पर्दछ अडियन्समा। अतः चलचित्रले पनि माथि उल्लिखित आर्थिक विषयवस्तुलाई आफ्नो विषय बनाउनुपर्दछ।

साथै, विभिन्न सभा, सम्मेलन, गोष्ठी, चौतारी, पिकनिक, आमसभा, टोलसभा, कोणसभा आदि सञ्चार कार्यक्रममार्फत पनि आर्थिक समृद्धिमा जोड दिन सकिन्छ।

अतः माथि उल्लिखित सबै प्रकारका माध्यमले आ–आफ्नो क्षमता, विशेषता र प्रभावकारिताअनुसार मुलुकको आर्थिक समृद्धिका लागि योगदान पुर्याउन सक्नेछन्। लामो समयदेखिको राजनीतिक संक्रमणकाल करिब–करिब अन्तिम अवस्थामा पुगेकाले अब मुलुक आर्थिक समृद्धिको बाटोमा जानुको विकल्प छैन भन्ने कुरामा प्रायः सबैको सहमति नै देखिन्छ। सबैजसो राजनीतिक पार्टीका चुनावी घोषणापत्रमा पनि यो विषय जोडदारसँग उठाइएका छन्। भनिन्छ, मिडियाको काम एजेण्डा सेट गर्ने पनि हो। सबै मिडियाले आर्थिक समृद्धिका विभिन्न विषय उठाएर समाजमा नयाँ बहस ल्याउन सक्दछन्, सक्नु पनि पर्दछ।

मुलुकमा सङ्घीय निर्वाचन सम्पन्न भई सङ्घ र सातै प्रदेशमा नयाँ सरकार बन्ने प्रक्रिया भइरहेको बेला अब सबै मिडियाले आठै प्रकारका सरकार, तिनका मन्त्री, त्यससँग सम्बन्धित निकाय र तिनका नीति कार्यक्रम गतिविधितर्फ अर्जुनदृष्टि लगाउनुपर्दछ। ती सरकार र तहमा राजनीतिक पार्टी, मन्त्री र कर्मचारीको मिलीभगतमा हुनसक्ने भ्रष्टाचार, आर्थिक अनियमितता कुशासनसहित माथि उठाइएका विषयमा ध्यान दिएर आर्थिक समृद्धिमा टेवा पुग्ने वा उत्प्रेरणा जाग्ने गरी समाचार र समाचार–सामग्री सम्पेषण गर्नुपर्दछ सम्पूर्ण मिडिया र पत्रकारले।

प्रतिक्रिया दिनुहोस्