एपीएफ बन्यो लिग विजेता



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एपीएफ क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत १६औं राष्ट्रिय महिला फुटबल लिगको उपाधि जितेको छ।

बिहीबार सुपर लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–१ ले हराएर एपीएफले उपाधि पक्का गरेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उक्त खेल जितेपछि एपीएफले खेलेको ६वटै खेलमा सत प्रतिशत नतिजा निकालेको छ। टोलीका तर्फबाट सावित्रा भण्डारीले २ तथा सरु लिम्बुले एक गोल गरे भने पुलिसका तर्फबाट रूपा मगरले सान्त्वना गोल गरेकी थिइन्।

खेलमा सावित्राले १७औं मिनेटमा गोल गरी टोलीको अग्रता बनाएकी थिइन्। सरुले दुई मिनेटपछि नै टोलीको अग्रता दोब्बर पारिन्। ३४औं मिनेटमा रूपाले गोल फर्काउँदा पहिलो हाफसम्म एपीएफ २–१ गोल अन्तरले अगाडि थियो। सावित्राले ७५औं मिनेटमा अर्को गोल थपिन्। यो प्रतियोगितामा उनको २९औं व्यक्तिगत गोलसमेत थियो।

विजेता एपीएफले २ लाख नगद प्राप्त गर्दा दोस्रो भएको आर्मीले १ लाख नगद हात पार्यो। जबकि पुलिसले ५० हजार नगदमै चित्त बुझाउनुपर्यो। आर्मीले हिजो सुदूरपश्चिमलाई ७–० गोल अन्तरले पराजित गरेको थियो। टोलीको जितमा कप्तान कृष्णा खत्रीले ५ गोल गरेकी थिइन्।

एपीएफका गोलकिपर अञ्जली तुम्बापो सुब्बा, फरवार्ड सावित्रा भण्डारी र टोली प्रशिक्षक जनक सिंह तथा आर्मीका डिफेन्डर दीपा राई र मिडफिल्डर अञ्जली वाइबा आ–आफ्नो विधामा उत्कृष्ट बन्दै जनही २५ हजार रुपियाँ प्राप्त गरे।

प्रतिक्रिया दिनुहोस्