विमानस्थलको बक्यौता डेढ अर्ब



नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा प्रवाह गर्ने विभिन्न संघसंस्था एवम् एयरलाइन्स कम्पनीहरूले विमानस्थलबाट प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता करिब डेढ अर्ब रुपियाँ रहेको छ।

मंसिर मसान्तसम्मको कुल १ अर्ब ४८ करोड ३४ लाख ७४ हजार २ सय २० रुपियाँ बक्यौता रहेकोमा एयर एसिया एक्सले ३ करोड ५० लाख रुपियाँ भुक्तानी गरेपछि १ अर्ब ४४ करोड ८४ लाख ७४ हजार २ सय २० रुपियाँ बक्यौता रहेको विमानस्थलका प्रमुख देवानन्द उपाध्यायले जानकारी दिनुभयो।

विमानस्थलमा सरकारी कार्यालयसँग मात्रै ५५ करोड १२ लाख २१ हजार ८ सय १६ रुपियाँ २ पैसा बक्यौता रहेको छ भने नेपाल वायुसेवा निगमको ३२ करोड २१ लाख ९ हजार ५ सय ९३ रुपियाँ ६० पैसा रहेको छ। त्यस्तै सञ्चालनमा नरहेका विभिन्न ३२ कम्पनी एयरलाइन्सको ११ करोड ३९ लाख ६४ हजार ९ सय ७३ रुपियाँ ९७ पैसा बक्यौता रहेको छ। सञ्चालनमा रहेका एयरलाइन्सको बक्यौता ६६ करोड ३९ लाख ४६ हजार ३ सय ८ रुपियाँ ९४ पैसा बक्यौता रहेको उपाध्यायले बताउनुभयो।

त्यस्तै सञ्चालनमा नरहेका संघसंस्थाको बक्यौता २ करोड ९७ लाख ५७ हजार ५ सय १८ रुपियाँ ५ पैसा रहेको छ भने सञ्चालनमा रहेको संघसंस्थाको बक्यौता १२ करोड ४५ लाख ८३ हजार ६ सय ३ रुपियाँ १४ पैसा रहेको विमानस्थलले जनाएको छ।

‘हामीले बक्यौता तिर्न पत्र काटिसकेका छौं सरकारी निकायको नै बढी बक्यौता रहेको छ, विमानस्थलले नागरिक उड्डयन प्राधिकरणलाई प्राधिकरणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई र मन्त्रालयले सम्बन्धित निकायलाई पत्र काट्ने सरकारी प्रावधान रहेको छ।’ उपाध्यायले भन्नुभयो।

मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमको २१ करोड रुपियाँ छुट दिने निर्णय गरेको भने भन्सार विभागको बक्यौता प्राधिकरणले तिर्ने करमार्फत् मिलान गर्ने जाउँदै आएको भए पनि मिलान भने मन्त्रालयले नगरेको प्रमुख उपाध्यायले बताउनु भयो।

‘मैले २०७२ को असोजबाट विमानस्थल प्रमुखको कार्यभार सम्हालेको हँु २०७२ को असार मसान्तसम्म २ अर्ब ५ करोड ६९ लाख ३ हजार ६ सय २८ रुपियाँ ७६ पैसा बक्यौता रहेकोमा २०७४ मंसिरसम्ममा १४ अर्ब ७ करोड ८८ लाख ९५ हजार ७२ रुपियाँ ४५ पैसा असुल भएको छ।’ उपाध्यायले बताउनुभयो।

विमानस्थल सेवा शुल्क नियमावली २०६७ अनुसार बिलजारी गरेको ७ दिनभित्र बक्यौता रकम तिरेमा ३ प्रतिशत शुल्क छुट दिने व्यवस्था छ। त्यस्तै ३० दिनभित्र बक्यौता रकम तिरेमा जरिवान शुल्क तिर्नुपर्दैन। ३० दिन देखि ४५ दिनसम्म ५ प्रतिशत जरिवाना लाग्ने गरेको छ। ४५ देखि ५९ दिनसम्म बक्यौता रकम बुझाएमा १५ प्रतिशत जरिवाना तिर्नुपर्ने नियमावलीमा व्यवस्था छ।

यसैगरी ६० दिनदेखि माथि रकम भुक्तानी नगरेमा ३० प्रतिशतको दरले जरिवाना लाग्नेछ। विकास शुल्क, ल्यान्डिङ र पार्किङ शुल्क, हवाई परिवहन, सुरक्षा शुल्क, कार्यालय सञ्चालन कोठा काउन्टर, होडिङ बोर्ड विमानस्थलभित्र सञ्चालन भएका पसल, भण्डारण, यात्रुलाई सेवा प्रवाहलगायतमा विमानस्थलले शुल्कको लिने गरेको छ।

प्रतिक्रिया दिनुहोस्