पीडितको समस्या बुझिदेउ



भूकम्प गएको पनि झण्डै ३ वर्ष हुन लागिसकेको छ। यत्रो समय भइसक्दा पनि भूकम्पपीडितले चिसोको मार खेपिरहनुपरेको छ। अझ भन्ने हो भने केही दिनयता बढेको चिसोले भूकम्प प्रभावितको जनजीवन कष्टकर नै बनाएको छ। वर्षायाममा दर्के झरीसँगै बाढी–पहिरोको सामना गर्दै आएका पीडित ठण्डीको सामना गर्न पनि बाध्य भएका छन्। वास्तवमा भन्नुपर्दा निजी घर निर्माण हुन नसक्दा कतिपय भूकम्पपीडितको जनजीवन प्रभावित भएको छ, यो बेला। भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्पप्रतिरोधी भवन निर्माणका लागि दक्ष कामदारको अभाव भएर होला सायद। पुनर्निर्माणका लागि दक्ष कामदारकै अभाव भएको गुनासो पनि नआएका होइनन्। अतिप्रभावित १४ जिल्लामा निजी आवास निर्माणका लागि ६० हजारको हाराहारीमा दक्ष कामदारको आवश्यकता पर्ने अनुमान पनि नगरिएको होइन। तर, पनि अहिलेसम्म अधिकांश भूकम्पपीडित टहरामै जीवन जिउन बाध्यभएका छन्। गोरखा, धादिङ, नुवाकोट, दोलखा, रामेछाप, ओखलढुंगा, काभ्रे सिन्धुपाल्चोकलगायतका अधिकांश वास्तविक भूकम्पपीडित पीडामा नै छटपटाइरहेका छन्। कतिपयले त कठ्याङ्ग्रिएर मृत्यवरण पनि गरिसके। तराईमा शीतलहरले मर्नेको संख्या २४⁄२५ को हाराहारीमा पुगिसक्यो। सयौंको संख्यामा बिरामी छन्। अझै कति मर्ने हुन् थाहा छैन।

जाजरकोटको अवस्था हेरौं त्यस्तै दयनीय छ। बिरामीले अस्पतालको मुख देख्न त परै जाओस् टाउको दुख्दा सिटामोलसम्म पाउँदैनन् । जनताले कहिलेसम्म अकालमै मर्नुपर्ने हो थाहा छैन। कहिलेसम्म चिसोमा कठइङ्ग्रिएर बस्नुपर्ने हो त्यो पनि थाहा छैन। यो चिसोले महिला, बालबालिका, वृद्धावृद्ध बढी प्रभावित भएका छन्। भनिन्छ हाम्रो देश धेरै विकसित भइसक्यो। वास्तवमै भन्नुपर्दा हाम्रो देशमा विकास त भयो। परिवर्तन धेरै भएका छन्। जस्तैः स्थानीय तहको निर्वाचन भयो। प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन पनि सम्पन्न भयो। नयाँ निर्वाचन प्रणली सँगसँगै देशले पनि नयाँ प्रतिनिधि पाएको छ। सिंहदरबार गाउँ–गाउँमा पुगेको छ। आफ्नै गाउँ, टोल, सामुदाय क्षेत्रको विकास गर्नेछु, आफ्नै गाउँमा विकास र समृद्धिले मुहार फेर्नेछु भन्दै चुनावी मैदानमा होमिएर आज सफल बन्ने नेताज्यूहरुको धेरै परिवर्तन भयो। कतिको गाडी जोडियो। कतिको घरबारी जोडियो। कतिका साला, जेठान, मितज्यूहरूको रोजगारी पनि जोडियो। तर, जोडिएनन् जनताका गुनासा, परिवर्तन भएनन् जनताका दिनचर्या। अहिले पनि जस्ताका तस्तै छन् सर्वसाधारण जनताका दुःख र पीडा। भूकम्पपीडित त झन् पीडितको पीडित नै छन्। बाढीपीडित पनि पीडितको पीडित नै छन्। भोट माग्न आउँदा गाउँको विकास गर्छु भन्नेहरुले अहिले गाउँलाई बिर्सन लागिसके। ठूलो संख्यामा पीडित कटेजमा नै जीवन चलाउन बाध्य भएका छन्। भनिन्छ, दक्ष कामदार, प्राविधिक र निर्माण सामग्रीको अभावजस्ता कारणले घर पुनर्निर्माणमा ढिलाइ भएको हो। यसरी पुनर्निर्माणमा ढिलाइ हँुदा सर्वसाधारण जनताले सास्ती भोग्नुपरेको छ। हुन त राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहलाई पुनर्निर्माणको जिम्मेवारी दिएको छ। जिम्मेवारी दिएको भए पनि सबै प्रक्रिया पूरा गर्न स्थानीय तह एक्लैले कसरी सक्छ ? त्यसमा सबै तहले पहल गर्नुपर्छ जस्तो लाग्छ। छिट्टै पुनर्निर्माण होस्। जनताले सधैं चिसोको चपेटामा बाच्न नपरोस्। सर्वसाधारण जनताको जीवनमा पनि उज्यालो छाओस्। जनताको गुनासालाई सम्बोधन गरियोस्। जनताले गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकताबाट वञ्चित हुन नपरोस्। स्वास्थ, शिक्षा, यातायात, सञ्चार, विद्युत्, खानेपानीजस्ता सुविधा सबै नेपालीले उपयोग गर्न पाउन्। पीडिततर्फ राज्यको चाँडोभन्दा चाँडो ध्यान जाओस्।

– तुलसी न्यौपाने

खिजिदेम्बा गाउँपालिका–४, ओखलढुंगा

सबैलाई आवश्यक छ बीमा

बीमाको बारेमा नजान्नेले पनि सिक्न चासो दिइरहेका छन्। केही समययता बीमाको महŒव चौतर्फी बढेको छ। यसलाई बुझ्न र बुझाउन सकेको खण्डमा यसले सबैलाई लाभ गर्दछ। पछिल्लो समय बीमाको महŒव यसरी बढेर गएको छ कि हरेक कुरामा बीमा गर्नुपर्ने अवस्था विद्यमान छ। मानिसदेखि विभिन्न वस्तुको बीमा भइरहेको छ। यहाँसम्म कि मानिसको अंगअंगको बीमा पनि भइरहेको छ। बस्तुभाउ, खेतीपाती सबैको बीमा हुन्छ। बीमाको प्रसंगमा कुरा उठाउँदा यसको महŒव सँगसँगै बीमाको लाभका बारेमा सर्वसाधारणले व्यापक जानकारी नपाउँदा समस्या सिर्जना हुने गरेको छ। बीमा अपरिहार्य छ। तर, बीमाको अपरिहार्यतालाई मानिसले स्वतःस्फूर्तरूपमा ग्रहण गर्नेभन्दा पनि कहीं बाध्य भएर कहीं आफन्त, नातागोता, साथीभाइको अनुहार हेरेर बीमा गरेको हामीले पाएका छौं।

जसले गर्दा बिमितले नियमितरूपमा यसबाट लिने लाभ र यसको प्रक्रियालाई आत्मसात गर्दैैनन्। जसले गर्दा यस्तो कार्यबाट विभिन्न समस्या सिर्जना भएको हामीले देखेका छौं। बीमा सबैका लागि लाभदायक छ। तर, यसभित्र प्रवेश गर्नका लागि विभिन्न प्रक्रिया पालना गर्न पर्दछ। दाङमा हजारौं व्यक्तिले बीमा गरेका छन्। तर, बीमा कम्पनीहरुका अनुसार आधाभन्दा बढीले नियमितरूपमा यसको प्रक्रियालाई आत्मसात् नगरेको कम्पनीको भनाइ छ। जसले गर्दा बीमा गरेका धेरै व्यक्तिको रकम त्यतिकै अलपत्र अवस्थामा छ। एकातिर बीमाको किस्ता समयमा नबुझाउने, अर्कोतर्फ कदमकदाचित कुनै व्यक्तिको निधन भएपछि बीमाले रकम नदिने समस्या बढ्न थालेका छन्। यस्तो अवस्थामा बीमाको महŒवलाई बुझाउनका लागि बीमा कम्पनीहरुले विशेष कार्यक्रम ल्याउन जरुरी छ भने स्वयं बीमा गर्ने व्यक्ति पनि यस विषयमा गम्भीर र सम्वेदनशील भएर बीमाको महŒवलाई बुझ्नुपर्दछ। बीमा सबैका लागि आवश्यक छ।

बीमालाई हरेक नागरिकले गर्ने वातावरण निर्माण गर्ने सवालमा राज्यले पनि आफ्नो तर्फबाट योजना ल्याउनुपर्छ। विगतमा सडक दुर्घटना हुँदा धेरै सास्ती व्यहोर्नुपथ्र्यो। तर, जब राज्यले गाडीले थर्ड पार्टी बीमा गर्ने पोलिसी बनायो, अहिले सडक दुर्घटना हुँदा अरूले सास्ती व्यहोरेको खबर खासै सुनिएका छैन। मानिसको बीमा गर्ने सवालमा पनि प्रभावकारी योजनाका साथ बीमा कम्पनी र राज्यले ठोस् कार्ययोजना बनाउन जरुरी छ। मानिसलाई कति बेला के हुन्छ, थाहा छैन। त्यसैले बीमाको महŒवलाई आत्मसात् गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गरौं। बीमाको लाभ प्रसस्त उठाऔं। सबैलाई बीमाबारे जानकार बनाऔं।
– टीका केसी, काठमाडौं

प्रतिक्रिया दिनुहोस्