धुलिखेलको डाँडोमा ३० फिटको झण्डा प्रतिस्थापन



काभ्रे, (नेस) धुलिखेल नगरपालिकाले राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसर पारी धुलिखेलको हाइट देवीस्थान मन्दिरमा ३० फिट अग्लो नेपालको झण्डा प्रतिस्थापन गरेको छ।

धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जु तथा इतिहासविद् प्राडा तुलसीराम वैद्यले नेपालको झण्डा प्रतिस्थापन गरेका थिए। एकता दिवसको अवसर पारी आयोजित उक्त कार्यक्रममा नगरका जनप्रतिनिधिहरू, विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। धुलिखेलको युद्धमा विजयी भएपछि राष्ट्र एकीकरणकर्ता पृथ्वीनारायण शाहले स्थापना गरेको कोत देवीको मन्दिर देवीस्थानमै उक्त झण्डा प्रतिस्थापन गरी उहाँको योगदानको स्मरण गरिएको नगर प्रमुख व्याञ्जुले बताए। धुलिखेलमा हरेक वर्ष विजयी दशमी र चैतेदशैंको फूलपातिमा तोपको सलामी दिने गरिएको छ।

सोही कार्यक्रममा इतिहासविद् वैद्य, नगर उपप्रमुख विमला शर्मा, धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोंजु, नागरिक समाजका बुद्धराम वेयजुलगायतले पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणका बेला धुलिखेलको देवीस्थानलाई किल्ला बनाएको स्मरण गराएका थिए।

धुलिखेलको सरस्वती बजारबाट शुरु भएको र्याली देवीस्थानसम्म पुगेको थियो। कार्यक्रममा विष्णुदल गणका गणपति कर्णेल रामहरि केसी, जिल्ला प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापा, राष्ट्रिय अनुसन्धनानका डीएसपी हरि श्रेष्ठलगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्