देशभर मिस्टर झोले



आज शुक्रबार देशभर मिस्टर झोले रिलिजमा आउने भएको छ। सिनेमा आर्टको ब्यानरमा टेकेन खड्काको निर्माण र कार्यकारी निर्माता रौनकविक्रम रहेको मिस्टर झोलेमा दयाहाङ राई मिस्टर झोले बनेर देखिएका छन्। उनी यसअघि टेकेन खड्काले नै निर्माण गरेको झोलेमा पनि झोले बनेर देखिएका थिए। टेकेनले झोलेपछि मिस्टर झोले बनाएका हुन्। झोलेको निर्देशन दीपेन्द्र के खनालले गरेका थिए भने मिस्टर झोलेको निर्देशन कबड्डी, कबड्डी कबड्डी, पुरानो डुंगाजस्ता फिल्मका सफल निर्देशक रामबाबु गुरुङले गरेका छन्। ‘खासमा झोलेकै सिक्वेल बनाउने प्लान थियो। त्यसका लागि दीपेन्द्र खनालसँग कुरा पनि भएको थियो। तर, उहाँ अरू प्रोजेक्टमा बिजी भएकाले रामबाबु गुरुङलाई लिएर फिल्म बनाउने तयारी गर्दै जाँदा सिक्वेल फिल्म बनेन’, निर्माता खड्काले भने– ‘त्यसैले मिस्टर झोले योअघिको झोलेको सिक्वेल फिल्म होइन। यो भिन्न कथाको इन्ट्रेस्टिङ फिल्म हो।’ निर्देशक रामबाबु गुरुङले पनि यो रुचिकर फिल्म हुने बताए।

आजै राजधानीमा प्रिमियर शो गरी अल नेपाल रिलिज गर्न लागिएको मिस्टर झोलेमा दयाहाङ राई, प्रवीण खतिवडा, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, सरोज अर्याल, दिया पुन, वर्षा राउत, अरुणा कार्की, लक्ष्मी बर्देवा, निरू खड्कालगायतले प्रमुख भूमिकामा अभिनय गरेका छन्। निर्देशक रामबाबुकै लेखन रहेको फिल्ममा कालिप्रसाद बासकोटा र सुजेन कार्कीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, शैलेन्द्रध्वज कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन र रोहित शाक्यको पाश्र्व संगीत रहेको छ।

मिस्टर झोलेसँगै आजैबाट बटरफ्लाई नामक अर्को फिल्म पनि रिलिजमा आउँदै छ। ओम प्रतीक गुरुङद्वारा निर्देशित यो फिल्ममा आर्यन अधिकारी, प्रियंका कार्कीलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्