खेलबाट नेपालको अर्थमा टेवा



फिरोज राजोपाध्याय
नेपालको खेलकुद विकास जति हुन सक्ने हो त्यति भइरहेको छैन। नेपालमा फुटबल, क्रिकेटमाथि मात्रै ध्यान केन्द्रित हुने गरिन्छ। यसैले पनि नेपालको खेलकुद त्यति माथि उठ्न सकेन। यहाँ धेरै खेल यस्ता छन् जसले नेपालको आर्थिक उन्नति गर्न टेवा पुग्ने देखिन्छ। पर्यटकीय खेलकुदलाई विकास गर्दै लाने हो भने नेपाललाई आर्थिक समृद्धि बनाउन मद्दत पुग्छ भन्ने ठोकुवा गर्न सकिन्छ। एडभेन्चर खेलहरूका साथै गल्फ, एभरेस्ट म्याराथनजस्ता खेलमा नेपाल सरकारले आर्थिक सहयोग गर्नु आवश्यक भएको छ। यसले नेपालको आर्थिक समृद्धि गर्न सक्नेछ।

एडभेन्चर खेल भन्नाले अल्ट्रा म्याराथनलाई लिन सकिन्छ। अल्ट्रा म्याराथन नेपालको भौगोलिक संरचनामा अनुकूल छ। डाँडामा हुने म्याराथन वर्षमा कमसेकम २÷३ वटा प्रतियोगिता आयोजना गर्ने हो भने नेपालको आर्थिक उन्नति हुन्छ। यसले पर्यटक भित्याउन सकिन्छ। पर्यटक नेपालमा आउनु भनेको नै देश आर्थिक हिसाबले बलियो हुनु हो। सधैं मन्दिर, हिमाल, खोला देखाएर पर्यटक बढ्न सक्ने होइन। यसका लागि नेपालमा पर्यटकलाई मनोरञ्जन दिन सकियो भने उनीहरूको नेपाल आउने क्रम बढ्ने पक्का छ।

तर, अल्ट्रा म्याराथन गराउन राम्रो मेनेजमेन्ट हुनुपर्ने त्यो भइरहेको छैन। यतातिर सरकारको ध्यानै नगएको अल्ट्रा म्याराथन धाविका मीरा राईले बताउनुभयो। राईले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई धेरै नै पदक तथा प्रशंसा पाउनुभएको छ। राई यो खेलमा लागेको ३ वर्ष बितिसकेको छ। तर, नेपालमा यसलाई पर्यटनलाई आकर्षण गर्न पहल नभएकोमा उहाँ निराश हुनुहुन्छ।

राईले बताउनुभयो– ‘मलाई लाग्छ नेपाल सरकारले यसप्रति ध्यानै दिएको छैन। यसमा धेरै पैसा कमाउन सकिन्छ। यो प्रतियोगिता नेपालमा गरिरहने हो भने बाहिरका धेरै धावकधाविका नेपालमा दौडनेछन्। उनीहरूको चाहना पनि छ, नेपालमा एकचोटि दौडौं भन्ने।’

राईको अनुसार हरेक वर्ष नेपालमा अल्ट्रा म्याराथन गर्ने हो भने विदेशमा भएका मान्छेले यहाँ पैसा लगानी गर्न सक्छन्। उहाँले थप्नुभयो– ‘यो भर्खर नेपालमा लोकप्रिय बन्दै छ। यसमा अरू नयाँ खेलाडी पनि आउँदै छन्। उनीहरूका लागि यही खेलमा लगाव बनाइरहन सरकारबाट पनि सहयोग हुनुपर्छ। प्रतियोगिता आयोजना भइरहनुपर्यो। अहिले व्यवस्थापन नै फितलो छ। मनास्लु ट्रायल रेस, अन्नपूर्ण रेसजस्ता प्रतियोगिताले विदेशीलाई आकर्षण गर्न सकिनेछ। यतातिर २०१८ को शुरुआतदेखि नै ध्यान दिएमा नेपालको आर्थिक उन्नति यसैबाट केही मात्रा हुन्छ भन्ने मलाई लाग्छ।’
यसै गरी गल्फ पनि अन्तर्राष्ट्रियस्तरमा नाम कमाउन सक्ने खेल हो। गल्फ खेल संसारको कुना काप्चामै फैलिएको छ। नेपालमा सूर्य नेपालले गल्फ आयोजना गर्दै आएको छ। यसले नेपालको गल्फ टिकिरहेको छ। तर, यसलाई विस्तृत बनाइरहेको छैन। यहाँका खेलाडी बाहिर गएर खेल्न गइरहेका छैनन् भने बाहिरका खेलाडीलाई यहाँ ल्याउने पहल भएको छैन। मास्टर्स गल्फ प्रतियोगिता आयोजना हुनेबाहेक नेपालमा अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता भइरहेको छैन।
नेपालमा सिनामंगलस्थित रोयल नेपाल गल्फ कोर्स (आरएनजीसी), गोकर्णको गोकर्ण फोरेस्ट रिसोर्ट गल्फ कोर्स धेरै नै चलेको छ। यसको संरचनाले बाहिरका खेलाडीलाई आकर्षण पनि गरिरहेको छ। विशेष गरी गोकर्ण फोरेस्ट रिसोर्ट गल्फ कोर्सचाहिँ सबैलाई मन परेको गल्फ कोर्स हो। यहाँ अन्तर्राष्ट्रिय खेल वर्षको एकपटक हुने गर्छ। सूर्य मास्टर्समा विभिन्न राष्ट्रका सयौं खेलाडी यहाँ खेल्ने आउँछन्। यसमध्ये ४ वर्षअघि विजेता बनेका अभिजित चड्डाले त्यति बेला नै भनेका थिए– ‘यो गजबको गल्फ कोर्स हो। यहाँको वातावरण पनि रमाइलो छ। म यहाँ निकै रमाएँ।’

यदि यहाँ वर्षको दुई वटा प्रतियोगिता गर्न सकिए पनि नेपालको आर्थिक उन्नतिमा टेवा पुग्न सक्नेछ। यस विषयमा गल्फका व्यावसायिक खेलाडी तथा गोकर्ण फोरेस्ट रिसोर्टका सिनियर गल्फ डाइरेक्टर दीपक आचार्यले नेपालमा गल्फ पर्यटनको विकास गर्न सकिने बताउनुभयो। आचार्यले बताउनुभयो– ‘नेपालमा गल्फको माध्यमबाट आर्थिक समृद्धि बनाउन सकिन्छ। गल्फमा सम्भावना छ। तर, राज्यस्तरले यसको कुनै वास्ता गरिएको छैन। प्राइभेट सेक्टरले मात्र आर्थिक उत्थान गर्न सकिँदैन। भन्नै हो भने नेपालको मौसम नै १२ महिना नै गल्फ खेल्न सकिन्छ। यस्तो भएर पनि अन्तर्राष्ट्रिय गल्फरलाई आकर्षण गर्न सकिरहेको छैन।’
आचार्यको अनुसार गल्फ कोर्स नै संख्याको हिसाबले कमी भएको कारणले पनि गल्फबाट नेपालको आम्दानी हुन सकिरहेको छैन। आचार्यले भन्नुभयो– ‘यहाँ अझै ५÷६ वटा गल्फ कोर्सको आवश्यकता छ। त्यो पनि विश्वस्तरको हुनुपर्छ। सुविधा सम्पन्न गल्फको निर्माण हुने हो भने गल्फ खेल्नै भनेर आउने पर्यटकले ३ सय ५० देखि ४ सय डलर खर्च गर्न पनि पछि हेर्दैनन्। यसैले नेपाल सरकारले आगामी दिनमा गल्फ पनि नेपालमा डलर भित्याउने खेल हो भनेर बुझेमा नेपाल क्रिकेट फुटबलमाथि मात्रै भर पर्नु आवश्यक पनि हुँदैन।’
यसै गरी नेपाललाई खेलकुदले बढी चिनाएको भनेको क्रिकेट खेल नै हो। क्रिकेट खेलमा नेपालीको तृष्णा धेरै छ। यसको सबैभन्दा प्रमाण भर्खरै कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न एभरेस्ट प्रिमियर लिगमा सहभागी दर्शकको संख्या हुन्। नेपालका विभिन्न शहरका ६ टोलीलाई खेलाएको सो प्रिमियर लिगको फाइनलमा दर्शकले ठूलै साथ दिएर क्रिकेटबाट नेपाललाई आर्थिक सहायता गर्न सकिने संकेत गरेका छन्। यो घरेलु प्रतियोगिताबाट यस्तो उत्साहित भएका दर्शकका लागि यदि बाहिरका टोली ल्याएर खेलाउने हो भने क्रिकेटबाट अझै नेपालले आर्थिक फाइदा लिन सक्नेछ।

पहिलो त क्रिकेट मैदानलाई स्टेडियमको स्वरूप दिनुपर्छ। नेपाललाई तटस्थ मैदानको रूपमा विकास गरेमा योभन्दा फाइदा नेपाललाई अरूबाट हुन सक्दैन। जस्तै संयुक्त अरब इमिरेट्सलाई पाकिस्तानले तथस्ट मैदानको रूपमा प्रयोग गर्दै आएको छ। पाकिस्तानमा अन्तर्राष्ट्रिय खेल हुने कम भएपछि अबुधाबी, सारजहाँको मैदानमा पाकिस्तानले क्रिकेट खेलिरहेको छ। यस्तो मौका यदि नेपालले सिर्जना गरिदिएमा पाकिस्तान भारत र अन्य देसका टोली नेपालमा आएर खेल्न आउने वातावरण हुनेछ। यसले नेपाललाई आर्थिक समृद्धि बनाउन घरेलु प्रतियोगिता वा प्रिमियर लिग खेलाउन संघर्ष गर्नुपर्ने छैन। नेपाल सरकारले यसका लागि पनि पहल गरिदिएमा नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत सबैभन्दा मान पाउनेछ। आम्दानीको कमी हुनेछैन। यसरी क्रिकेटले नेपाललाई आर्थिक समृद्धि बनाउने यो योजना सम्बन्धित निकायले र सरकारले छिटै लिनुपर्छ।

अर्को नेपालमा सम्भावना माउन्टेन बाइक दौड प्रतियोगिता पनि हो। माउन्टेन बाइक दौड प्रतियोगितामा विश्वमा विस्तारै झागिँदै गएको छ। नेपालमा यसबारे कसैले चासो देखाएको देखिँदैन। महँगो त्यति नपर्ने भए पनि यसतिर कुनै पनि प्राइभेट सेक्टरले समेत वास्ता गरेको छैन। माउन्टेन बाइक दौड प्रतियोगिता भविष्यमा हुने हो भने यसले पनि नेपाललाई आर्थिक समृद्धि बनाउन विशेष भूमिका खेल्न सक्नेछ।
नेपाललाई आर्थिक समृद्धि र विश्वमा चिनाउन एभरेस्ट म्याराथनले पनि योगदान दिइरहेको छ। एभरेस्ट म्याराथन विश्वकै सबैभन्दा उचाइमा हुने एकमात्र खेल हो। ४२ किलोमिटर म्याराथन र २१ किलोमिटरको हाफ म्याराथन बर्सेनि २९ मेमा हुने गर्छ। यो दिन तेन्जिङ शेर्पा र एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेका थिए। सोही दिनबाट यो दौड आयोजना भइरहेको छ। यसमा विश्वका चर्चित म्याराथन धावकधाविकाले सहभागिता जनाउँछन्। यसले नेपालको पर्यटनमा थप टेवा दिनुका साथै आर्थिकरूपमा नेपाललाई सशक्त पनि बनाइरहेको छ।

पहिलो त क्रिकेट मैदानलाई स्टेडियमको स्वरूप दिनुपर्छ। नेपाललाई तटस्थ मैदानको रूपमा विकास गरेमा योभन्दा फाइदा नेपाललाई अरूबाट हुन सक्दैन। जस्तै संयुक्त अरब इमिरेट्सलाई पाकिस्तानले तथस्ट मैदानको रूपमा प्रयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्