कक्षा चारदेखि महिनावारीको पाठ पढाउनुपर्छ



अहिलेको पाठ्यपुस्तकमा कक्षा पाँचदेखि महिनावारीसम्बन्धी विषय व्यक्तिगत सरसफाइको पाठभित्र राखिएको छ। कक्षा ६ मा पुग्दा स्यानेटरी प्याड प्रयोग गर्नुपर्छ भन्ने मात्रै उल्लेख छ। पटक पटक प्रजनन अंग धुने र नरम सुतीको कपडा प्रयोग गर्नुपर्छ भन्ने जानकारी गराइएको छ। कक्षा सात र कक्षा नौमा अलि विस्तृत जानकारी गराइएको छ। कक्षा आठ र दशमा कुनै पाठ छैन।

यसले छात्राहरूको समस्या उचित समाधान नगरेको सिद्धरतन्नाथ मावि नारायणपुर दाङका शिक्षक लक्ष्मी केसीको भनाइ छ। लामो समयदेखि यस विषयमा अध्यापन गराउँदै आएको बताउने केसीका अनुसार महिनावारी पूर्वज्ञान छैन। शिक्षकले खुलेर सबै कुरा पढाउँछु भने पनि त्यस्ता कुरा किताबमा छैनन्। न त उपयुक्त समयमा आवश्यक कुरा लेखिएका पाठहरू नै समावेश छन्।

महिनावारी हुनुपुर्व छात्रा सैद्धान्तिक रूपमा जानकार हुनुपर्छ। सामान्यतः ९ देखि १५ वर्षको बीचमा पहिलोपटक महिनावारी हुन्छ। यो क्रम हरेक २८ दिनको फरकमा ५० वर्ष उमेरसम्म जारी रहन सक्छ। जिल्ला जनस्वाथ्य कार्यालयका पब्लिक हेल्थ नर्स रेणु श्रेष्ठका अनुसार महिनावारी हुँदा अगाडिबाट धुने कि पछाडिबाट भन्नेमै मतभेद छ। कतिले पछाडिबाट धोएपछि दिसाका छोक्रा आएर संक्रमण हुन सक्ने बताउँछन्। श्रेष्ठका अनुसार त्यही ठीक हो। अगाडिबाट धोयो भने बरु पछाडिको अगाडि आउन सक्छ र पछाडिबाट धोए सफा रहन्छ। समस्या ल्याउँछ। गलक्क भिज्ने गरी प्याड नफेर्ने, समयमा नधुने समस्याले पाठेघरको मुखमा क्यान्सरसम्मका समस्या आउन सक्छ। ओठभन्दा पनि नरम र संवेदनशील हुन्छ योनी। त्यसलाई सफा, सुरक्षित राख्न सकिएन भने स्वस्थ बच्चा जन्माउन सकिन्न।

कसरी धुने, कता लुकाउने जस्ता समस्यामा पढलेख गरेका महिलाहरूबीच बहस चलेको पाइन्छ। त्यसबाहेक महिनावारी भएकाले फलफुलका बोट छुनुहुँदैन झर्छ, दही दूध खानुहँुदैन गाई भैंसी थाक्छन्। बुबा, दाजुभाइको अनुहार हेर्नुहँुदैन पाप लाग्छ। त्यसैले छाउ गोठमा बस्नुपर्छ, अघिदेखि सुत्दै गरेको ओच्छ्यानमा सुत्नुहुँदैन, जुठो हुन्छ। ओढ्ने ओछ्याउने फेर्नुपर्छ, भान्सामा जानुहुँदैन। मन्दिरमा गए देउता रिसाउँछन् जस्ता कुराहरू सबैजसो महिलाहरूले कण्ठ गरेका छन्। त्यो उचित हो होइन भन्ने पढलेख गरेर उच्च पदमा पुगेका केही महिलाहरू निष्कर्ष निकाल्न सकेको देखिँदैनन्। कतिपय नर्स, डाक्टर, हाकिम भएका महिलाहरू पनि भ्रममा छन्। यो सबको कारण हामीले पढ्दै आएका पाठ्यपुस्तकमा महिनावारीले महत्त्व नपाउनुले हो। विद्यार्थीलाई सरले भनेको कुराहरू सबै सत्य हुन्छन्। गलत भए पनि विद्यालयमा भनेकै पत्यार गर्छन्। विद्यालयमा नसिकाउँदा समाजमा भ्रम रहेको छ।

सुत्केरीको एउटा रूप महिनावारी हो। शारीरिक भोगाइका हिसाबले महिलाहरू बच्चा पाउनेकै रूपमा लिन्छन्। महिनावारी हुनुअघि पेट दुख्नेहरू धेरै छन्। हुँदैछ भन्ने संकेत दिने गरी तल्लो पेटमा पीडा महसुस गर्छन्। जब महिनावारीको रगत बग्न थाल्छ तब हलुको महसुस गर्छन्। दुईदेखि आठ दिनको बीचमा उनीहरू पूर्णरूपमा हलुको भइसक्छन्। बच्चा पाउनेले न्वारनपछि र महिनावारी हुनेले रोकिएपछि शुद्ध हुन्छन्। यसरी संस्कारका हिसाबले पनि सुत्केरीसरह छ। हात गोडा दुख्ने, खान मन नलाग्ने, शरीरभित्र चिसो घुस्ने, सर्दिले सताउने, उराठ महसुस हुने, चक्कर आउने, कसैसँग बोल्न चल्न मन नलाग्ने लगायत यावत समस्या महिनावारी हँुदा भोग्छन्। शरीरिक र मानसिक रूपमा पीडा महसुस गरिएको बेला पानीसमेत छुन नहुनेगरी महिला अछुत बनाइन्छ। खास कारण के हो हाम्रा पाठ्यपुस्तकहरू दिन सक्दैनन्।

नौदेखि १५ वर्षको उमेरमा पिसाब फेर्ने अंग (योनी) बाट रगत आउन शुरू गर्छ त्यो हरेक २८ दिनमा ५० वर्ष उमेर पुग्दासम्म हुन सक्छ भन्ने कक्षा चारमै पढाउनुपर्छ भन्ने खोजिएको छ। यसलाई रजस्वाला वा महिनावारी भनिन्छ। त्यो क्रम दुईदेखि आठ दिनसम्म चल्न सक्छ भनेर कक्षा चारमै सिकाउनु पर्छ। त्यससँगै सफा गर्ने तरिका र नजानेको अवस्थामा घरमा भए बाबुआमा तथा अभिभावक, विद्यालयमा भए शिक्षक, शिक्षिकालाई सोध्नुपर्छ भनिएको छ। यति कुरा महिनावारी नहुँदै थाहपाएपछि पहिलो पटक महिनावारी हुँदा डराउँदैनन्। आत्तिन्नन्। मानसिकरूपमा असर पर्दैन। महिनावारी समस्या सहजरूपमा स्विकार्छन्। त्यसले विद्यालय छोड्ने, बालविवाह गर्ने, छाउ गोठमा विभिन्न यातना सहने समस्याबाट मुक्त गर्छ। कोही पनि किशोरीले महिनावारी भएकै कारण कुनै समस्या झेल्नुपर्दैन।

त्यसपछि कक्षा पाँचमा पुग्दा शरीरका विभिन्न अंगको सफाइमा यौनांगको सफाइलाई पनि महत्त्व दिनुपर्छ। दिनमा कम्तीमा दुईपटक वा आवश्यकताअनुसार प्याड फेर्ने, बजारमा किन्न पाइने वा घरमै रहेका सुती कपडाहरूका प्रयोग गर्ने, बजारबाट सुती कपडा किनेर पनि बनाउन सकिने, पहिलो पटक महिनावारी हँुदा के कस्तो हुन सक्छ। महिनावारीमा प्रयोग गरिएको प्याडे बिसर्जन कसरी गर्ने जस्ता कुरा सिकाउनुपर्छ। केहीको कक्षा ५ मा पढ्दै महिनावारी हुन्छ। भएन भने पनि उनीहरूले जानी राख्नुपर्छ। जसका कारण पहिलो पटक महिनावारी सहज बनोस्।
गोविन्द खड्का, दाङ

प्रतिक्रिया दिनुहोस्