राष्ट्रिय एकताको तेजस्वी इतिहास



रमेश भट्टराई “सहृदयी”

जुन इतिहासलाई याद नगरी आत्मगौरव नै अपुरो हुन्छ त्यो नामसँग, त्यो इतिहाससँग विवादको रोइलो खन्नुको तुक नरहला। इतिहासका पानामा आजका लागि पनि उत्तिकै कालजयी गुणको शूरताले एकतासँग अङ्कित त्यो नाम हो पृथ्वीनारायण शाह। राष्ट्रिय एकताको शङ्खघोष त्यतिखेरै भयो जतिखेर पृथ्वीनारायणको पराक्रमी वीरताले विजयोत्सव मनाएको थियो। बढाईचढाइको व्याख्याभन्दा पनि राष्ट्रिय विभूति शाहद्वारा प्राप्त भएको सिङ्गो राष्ट्रिय स्वाधीनताको मूल्यलाई एक सच्चा राष्ट्रभक्तले बिर्सने कुरै रहँदैन। इतिहाससँग रमाउन न त व्यक्तिगत स्वार्थको पुन्तुर बाँधिनु उचित हुन्छ, न त अपव्याख्याका कनिकुथी भाव नै बलवान् बन्छन्। बाइसे–चौबिसे राज्यमा विखण्डित देशलाई एकीकरणको मालामा उनेको महान् इतिहासलाई छायामा पारेर आक्रमणकारी युद्ध पिपासुको लाञ्छनामा अड्काइनुले पुर्खाको पसिना, गौरव अनि धरोहरलाई गिज्याएको पनि हुनसक्छ, सोचनीय विषय हो। समय सापेक्षी ढङ्गले दूरदृष्टि राखेर टुक्रे भावनालाई एउटै स्वरूप दिँदै अखण्ड सार्वभौम राज्यनिर्माण गर्नु कुनै केटाकेटीको खेल अवश्य होइन थियो। आज हामी एकतालाई स्वार्थसँग गाँसेर तोल्न र बुझ्न थालिरहेका छौं। सुदृढ नेपाल राज्यको परिकल्पनाभित्र कति योद्धाले रगत बगाए होलान्, कति आमा मुर्छा परे हुँदा हुन्। हो, हामी युद्ध विरोधी र शान्तिप्रेमी हौं यद्यपि पृथ्वीनारायणको समय नै त्यस्तै रहेछ जसमा युद्ध कौशलता उच्च थियो। यत्रो विशाल कार्यमा भलै कमजोरी त होलान् नै तथापि हामीले स्वतन्त्र राज्यका स्वाधीन नागरिकको पहिचान पाउनुसँग गर्व गर्नुपर्दैन र⁄ जतिखेर भ्रष्टाचारीका खुट्टा काँप्थे। समयानुकूल विकासको दैलो खोल्न कुनै कञ्जुस्याइँ भएको थिएन। फेरि ती पुर्खाको देनसँग आज लोकतन्त्र पाइयो, गणतन्त्र ल्याइयो, स्वतन्त्रताको जग बस्यो त त्यो देनलाई मेटेर हामी पूर्ण भएका छौं, विचारणीय बन्छ।

गोर्खाका राजा नरभूपाल शाहकी माहिली रानी कौशल्यावतीपट्टिका पाँच सन्तानमध्येका जेठा छोरा पृथ्वीनारायण शाहले विसं १७७९ पुस २७ गते यो धर्तीको उज्यालोलाई देखे। सातौं महिनामै जन्मनुसँग निकै किंवदन्तीहरूलाई यदाकदा पढ्न पाइन्छ, बूढापाकाका मुखबाट गुन्जिन्छ। दरबारी वातावरणले बालापनलाई मलजल गर्दै लाँदा उहाँलाई दश वर्षभित्रै आवश्यक विद्या हासिल गर्ने अवसर दियो। दौंतरीसँग बहादुरी र वीरतालाई प्रदर्शन गर्ने शाहले २० वर्षकै उमेरमा पिताको देहावसानपश्चात् राजदण्ड सम्हालेर राज्य एकीकरणको दह्रो राजत्व स्थायी रेखा कोरे।

आधुनिक नेपालको मानचित्र बदल्ने ऐतिहासिक अभियानको प्रारम्भिक इतिहासलाई विसं १८०१ मा प्राप्त नुवाकोटको विजयले आरम्भ गर्यो। तत्कालीन छिमेकी देश लमजुङ र कास्कीसँग मित्रताको हात पैmलाउँदै हातहतियार तथा सैनिक सुधार गर्ने रणनीतिको सबल प्रयास थियो– नुवाकोटमाथिको विजय। मकवानपुर विजय, कीर्तिपुरसँग तेस्रो पटकको प्रयासबाट मात्रै जालझेबाट प्राप्त विजय होस् या मिरसिक्का अभियानमा देखाइएको वीरता आखिर त्यहाँ गोर्खाली सान र स्वाभिमानको इतिहास छ। कीर्तिपुरको युद्धमा काजी कालु पाण्डेजस्ता शूरवीर व्यक्ति मारिए, जयन्त रानाले निर्ममरूपमा छाला काढिएर मर्नुपर्यो, शूरप्रतापले कानो हुनुपर्यो, इतिहासले यही क्रोधाग्निको प्रतिकारमा पृथ्वीनारायणद्वारा धेरैको नाक कान काटेर बदला लिएको घटनालाई बोले पनि इतिहासकारहरूको मतमा यी नेपालबाट निष्कासित क्रिस्चियन पादरीहरूद्वारा गरिएको अपव्याख्या थियो। उपत्यकाबाट अङ्ग्रेजको राजनैतिक कुचाला लघारियो। उपत्यकासँगै पूर्वका सेन राज्य चौदण्डी र विजयपुर क्षेत्र नेपालमा गाभियो। फलतः किरात र लिम्बूवान् प्रदेशका राजाले गोर्खाली झण्डामुनि एकै साथ बस्ने अपेक्षा बोकेर आत्मसमर्पण गरे। तबदेखि ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन। सबै जातको पूmलबारी हो’ भन्ने महान् अभिव्यक्तिसँग हामीले स्वाभिमानको उच्चतामा रम्न पाइरहेका छौं। सैनिकले कदर पाए। कालु पाण्डे, कीर्ति शाह, तुलाराम पाण्डे, रामकृष्ण कुँवर, केहरसिंहजस्ता योद्धाले यो सङ्ग्रामको महायज्ञमा दिलो ज्यान दिए, एकीकरणको सपना साकार पार्नका निम्ति कसुर छाडेनन्।

विश्वको नक्सामा सानो नेपाललाई खोज्न लाग्दा सगरमाथाको चुम्बकीय शक्तिले ध्यान खिच्छ। फुर्सदमा भगवान्ले सोचेर बनाएको संसारमा कुनै ठाउँ छ भने त्यो हो– नेपाल। आखिर कसैले त जोड्यो यो अमर हृदयस्पर्शी नेपालको इतिहासलाई। आज विश्व समुदायले इतिहासका यस्ता अमर नामलाई स्यालुट गर्दै छ भने यो गौरवसँग हामीले रमाउन पाउनु अवसर होइन र? आज थुप्रै परिवर्तन भए, घटना घटे, समयसँग तीता–मीठा अनुभवले भरिएको थैली छँदै छ। राज्यले परिवर्तन पाउला तर इतिहासबाट सिकेर सम्मान गर्दै भविष्यको सपना तुन्न पनि जान्नुपर्छ।
आज संसारको एउटा बिन्दुमा नेपाल नामक देश पनि छ किनकि यहाँ पृथ्वीनारायणको एकीकरण र दूरदर्शी पौरखको गर्विलो विगत छ। २६ वर्षसम्म अनवरत युद्धभूमिमा होमिएका एक पुर्खाको जीवनीसँग नेपाली माटोको अटुट नाता छ। उनका ‘प्रजा योग्य भए दरबार बलियो हुन्छ।

जनताले मन पराएको व्यक्तिलाई काजी दिनुपर्छ’ भन्ने भावसँग राष्ट्रिय एकता मुखर हुन्छ। उनका सामाजिक, न्यायिक नीतिसँग विज्ञानको जादु छ। घूस लिने र दिने दुवैलाई कठघारामा उभ्याइनु, जात विशेषले कर्म गर्न पाउने स्वतन्त्रता पाउनु, अदालतको पैसालाई दरबारमा हुल्न नचाहनु अनि जोगी, साधु, गरिबप्रतिको आदरभावले आसन पाउनुमा मानवता, स्वतन्त्रता, समानता र एकताको मधुर आवाज स्वतः गुन्जिन्छ।
इतिहासकारले अर्थशास्त्रीको संज्ञा दिन कञ्जुस्याइँ नगरिएका व्यक्तित्व पृथ्वीनारायणमा कृषि विकासको सपनासँग गाँसिएको ‘राम्रो जमिनको घर सारेर खेती गर्नुपर्ने’ नीति थियो। कति गर्विला विचार छन् उहाँका– स्वदेशी कपडा लगाउने सद्प्रेरणामा र अङ्ग्रेजको कालो नीतिको चर्को विरोधी भावमा, राष्ट्रिय स्वाधीनतामा, जडिबुटी बेचेर पैसा साट्ने विषयमा, खानी सदुपयोग गर्नेजस्ता आत्मनिर्भरताका दूरदर्शीतासँग। त्यसो त परराष्ट्रनीतिको ‘नेपाल दुई ढुङ्गाबीचको तरुल हो’ भन्ने उद्गार कूटनैतिक सचेतताको दृष्टान्त हो, यसर्थ उहाँका गर्विला विचारहरूले आजका लागि अनुकरणीय, मननीय र व्यवहारमा प्रायोगिक बनाउन उत्तिकै सामथ्र्य राख्छन्। चतुरपनाको प्रखर भाव आज पनि कति सान्दर्भिक छ– किल्लालाई दह्रो बनाउने भावसँग, ‘जाइकटक नगर्नु झिकीकटक गर्नु’ भन्ने महावाणीसँग, ‘चीनको वादशाहसँग छाहा राख्नु दक्षिणको वादशाहसँग घाहा (घाउ) त राख्नु तर त्यो महाचतुर छ’ भन्ने उक्तिसँग। राज्य र सीमारक्षाका खातिर सैनिक मजबुतीका पाटामा उनको विचार आजका लागि कम प्रेरणाप्रद लाग्दैनन्। ‘सैनिकलाई नुनको पछि नलगाउनु किनकि राजाको सार भनेको सिपाही र रैती हुन्’ यी विचारमा राज्यसेवाको भावना जागृत छन्। त्यो प्राचीन समयमा बनेका दरबार, मन्दिरले कयौं ठूला–साना भूकम्पसँग झुक्न चाहेनन्। सायदै ५⁄७ सय वर्ष पुराना भौतिक संरचनाले हामीले नसोचेका विनाशकारी सङ्कटमा डगमाएनन्। त्यो ज्ञान, त्यो भौतिक संरचना निर्माण गर्ने कला, शिल्प र ढाँचासँग आजको अत्याधुनिक पद्धति कमजोरै लाग्छ। आजका पुस्ताले अनुसरण गर्नुपर्ने ठम्याइ हो। एक त त्यो खुबी अर्को हाम्रो पुख्र्यौली विज्ञान कति सबल रहेछ, फेरि किन हामी त्यहाँबाट टाढियौं। विज्ञान र वैज्ञानिक सोचमा हाम्रो देश त्यो समयमै कति सक्षम रहेछ, जतिखेर अङ्ग्रेज स्वार्थी सोच नै त्राहीत्राही भएको थियो। स्वाभिमानको उच्च रक्षा थियो– व्यक्तिगत स्वार्थ इतिहासमा जति थियो त्योभन्दा कम त सायद आज नहोला नै। फलतः ‘दिनभरि सुतेर बिताउने रात परेपछि बिस्कुन सुकाउने’ पश्चात्ताप पीडा नहोला भन्नेमा ढुक्क बन्ने स्थिति छैन। यहाँ हड्डी घोट्ने र मस्ती लुट्ने दुवैखाले दुनियाँ मस्त छ। इतिहासको अपव्याख्या गरेर मपाईंत्व छाँट्दै गर्दा वीर पुरुषका रगतमा मुछिएको आधुनिक नेपाल निर्माण र राष्ट्रिय एकताको इतिहाससँग आज विखण्डनकारी सङ्कुचित विचारमा हामी मुछिएको पीडा छ। तसर्थ ‘पृथ्वीनारायण’ कुनै व्यक्तिगत निधि नभएर हाम्रा पुख्र्यौली धरोहर, अजेय इतिहास र प्रेरणाप्रद नेपाली एकताको गौरवमय नाम हो।

इतिहासका कतिपय विषय समयान्तरसँगै झुटा र अपाच्य बन्छन् र बन्दै जानेछन् पनि। आज हामीले सत्य भनेर कोरिएका नियम कानुन भोलिको इतिहासका लागि अपाच्य बन्नु नौलो विषय पनि बन्न सक्ला। तर भर्खरैको सशस्त्र द्वन्द्वले जनतालाई सैद्धान्तिकरूपमा कागजमै अड्काएर दिएका उपलब्धिसँग तौलेर, मानवअधिकार उल्लङ्घनसँग जोडिएका तीता विषय बिर्संदै सिङ्गो राष्ट्रको अखण्डताका ऐतिहासिक व्यक्तित्व पृथ्वीनारायणलाई मूल्याङ्कन गर्न पूर्वाग्रह राख्नुसँग अहंवाद गाँसिएभैंm लाग्छ। भावी पिँढीहरूले हामीलाई औंल्याएर यसो पनि भन्लान्– हाम्रा पुर्खाले सिङ्गो देशभन्दा साँघुरो सोचभित्रै लडाइँ गरे, हाम्रा लागि उज्ज्वल बाटो खन्नै सकेनन्। गफ छाँटे, काम गर्न सकेनन्। भ्रष्टाचारी बने तर मुलुकको गरिबीमा आँखा लगाएनन्। तब हामी सबैका आजका विचार थोत्रा, असक्षम र स्वार्थी साबित हुनेछन्। त्यहाँ न त जातको सवाल होला न त सानो राज्यका बीच गर्ने झगडाको। तब त आज सिङ्गो देशमा एकताले बाटो खोज्दै छ।

संघीय संरचनात्मक अधिकार त हिजो त्यही समयमा पनि नभएको होइन रहेछ। अब पनि त जनताले स्वाभिमानी समृद्ध देशमा स्वतन्त्र भई कर्मशील भएर जिउन चाहेका हुन्। पृथ्वीनारायणको त्यागसँग हिजो जे थियो त्यो इतिहास नेपाली मनबाट मेटिँदैन। नेपालीहरूका हृदयसम्राट् नेपालका राष्ट्रनिर्माता सुन्दर, शान्त नेपालका जन्मदाता यस्ता वीरपुरुषको चोलाले विसं १८३१ को माघे सङ्क्रान्तिका दिन ५२ वर्षको अल्पायुमै नेपाल आमाको काखलाई रित्यायो। छोटो आयुले अमिट इतिहास रच्यो। अमूल्य दिव्यापदेश तथा उपदेशले भरिएको पृथ्वीनारायणको वाणी शक्तिले राष्ट्रिय एकताको खम्बा गाड्दैमा बिदा माग्यो। हिजो जानीनजानी मानिएका भए पनि यी युगपुरुषको यादमा हरेक सच्चा नेपालीले भावना बोधमा माथ झुकाउन जान्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्