पत्रकारको कलम दमित नभई कुक्त कण्ठले चल्नु पर्छ – न्यायाधीश आचार्य



नेपाल समाचारपत्र, लमजुङ ।
जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले पत्रकारको कलम दमित नभई कुक्त कण्ठले चल्नु पर्छ भन्नु भएको छ । उहाँले प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ जिल्ला शाखाको संयोजनमा जिल्ला सदरमुकाम बेसीशहरमा आयोजना गरिएको कार्यक्रमको उदघाटन गर्दै बुधबार बताउनु भएको हो ।

आचारसंहिता जागरण अभियानको सन्दर्भमा आयोजित कार्यक्रमको उदघाटन गर्दै न्यायाधीश आचार्यले आचारसंहितको पालना नैतिकतामा निर्भर रहने विषय हो, यसले पेशालाई मर्यादित बनाउने काम गर्दछ । तर त्यसका आडामा पत्रिकारले दमित वा त्रसित भएर मौन बस्ने वा कलम नै नचलाउने गर्नु हँुदैन भन्नुभयो । उहाँको संधिवानको प्रस्तावनामा नै पूर्ण प्रेसस्वतन्त्रता भन्ने उल्लेख हुनुका साथै प्रशारण वा प्रकाशन पूर्व कुनै पनि समाचारमा प्रतिवन्ध नलगाईन भन्ने व्यवस्थाले यसको गरिमाको बोध गराउँछ भन्नुभयो । उहाँले भन्नुभयो, तर न्यूज र भ्यूजमा फरक हुनुपर्छ, कहिलेकाहीँ के हो ? भन्ने द्विविधा पनि पर्ने गरेको स्मरण गर्दै उहाँले त्यसतर्फ पत्रकारहरू सचेत हुन आवश्यक छ ।

यसैगरी प्रमुख जिल्ला अधिकारी युवराज मैनालीले पत्रकारहरू आफूले आफैलाई फर्केर हेर्न जरुरी छ, आत्मसमिक्षा गर्र्दै अघि बढ्न सल्लाह दिन्छु भन्नुभयो ।

यसैगरी, प्रेस काउन्सिलका सदस्य संगीता खड्काले पत्रकारको हतियार कलम हो, प्रहरीले लिने हतियार प्रहरीले दुरुपयोग गरेमा के हुन्छ ? हामीहरूको हकमा पनि त्यही हो, प्रेस काउन्सिलले पत्रकारलाई दण्डको डण्डा देखाउने मात्र नभई तालिम, उपचार खर्च, उपकरण खरिदमा २५प्रतिशत अनुदान तथा प्रेश किन्दा केही व्याजमा सहुलियत दिने गरेको बताउनु भयो ।

त्यसैगरी अर्का सदस्य, ईश्वरी ओझाले कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै काउन्सिलका बारेमा केही भ्रम वा जिज्ञासा या अष्पष्टता केही भएमा त्यसबारेमा प्रष्ट्याउने र समस्या संकलन गरी भोलिका दिनमा त्रुटी सच्याउने रहेको बताउनु भयो ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष आश गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरूले राजधानीकै ठूला मिडियालेसमेत उचित पारिश्रमिक दिने नगरेको, वर्गिकरणको नतिजा समयमा प्रकाशन नहुने, त्यो पारदर्शी नभएको अनुभूति हुने र नतिजा प्रकाशन गर्दा ढिलाई गर्न नहुने र ढिला भए पनि सुुविधा दिदा साउनदेखिनै दिनु पर्ने जस्ता सुझाव राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्