गाउँमै गाडी पुगेपछि कालिकोटका स्थानीय हर्षीत



कालीवहादुर मल्ल, कालिकोट।
जिल्लाको पुर्वी क्षेत्रमा पर्ने तिलागुफा नगरपालिकाको चिल्खायारुरुबन्चुमा पहिलो पटक गाडी पुगेपछि स्थानीय हर्षीत भएका छन । प्राकृतिक सुन्दरताले सजिएको पर्यटकीय क्षेत्र चिलाखायामा बुधवार गाडि पुगेपछि स्थानीय वासिन्दाहरु खुसि भएका हुन । स्थानीय तहको सरकारले जिल्लामा नै पहिलो पटक स्थानीय बजेटबाट नै सडक निर्माण गरेर गाडी पु¥याएको हो ।

स्थानीय तहबाट ३२ लाख रुपैयाँ बिनियोजन गरेर चिल्लायादेखि निकै विकट रुपमा चिनिएको रुरुबन्चुसम्म ८ किलोमिटर सडक निर्माण भएपछि पहिलो पटक गाडी पुगेको हो ।

तिलागुफा नगरपालिका निकै विकट रुपमा रहेको गाउँमा आफ्नो पहिलो प्राथमिकता गाडी पु¥याउने रहेको र त्यो कामलाई सार्थकता दिन आफुले निकै मेहेनत गरेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । ‘नगरपालिका भित्रको निकै विकट गाउँ रुरुबन्चु हो ।’ उनले भने,‘यहाँ गाडी पु¥याइएको छ । यहाँका मानिसहरुले भारी बोक्ने दिन अब हटेका छन् ।’

रुरुबन्चु पर्यटकिय हिसावले निकै महत्व रहेको यहाँको विकासका हिसावले निकै पछाडी रहेका कारणले स्वास्थ्य शिक्षा र सडकलाई पहिलो प्राथमिकतामा राखेको प्रमुख शाहीले बताए । ‘शिक्षा स्वास्थ्य र सडकका हिसावले निकै पछाडी रहेको गाउँमा सडक आइपुगेको छ ।’ उनले भने,‘सडकसँगै स्वास्थ्य शिक्षामा जोडिन जरुरी रहेको छ ।’

२ सय घरपरिवार रहेको रुरुबन्चुका गाउँमा मानिसको आर्यआर्जनको मुख्य पेशा कृषि, पशुपालन र जडिबुटी रहेको त्यो ब्यापार गर्न बजारसम्म पु¥याउन सडकले सहज बनाएको वडा अध्यक्ष मुनबहादुर थापाले बताए । ‘यहाँका मानिसको मुख्य पेशाका रुपमा कृषि पशुपालन र जडिबुटीको ब्यापार रहेको छ ।’ उनले भने,‘सडक निर्माण भएपछि त्यसको सहज ब्यापार हुनेछ ।’

रुरुबन्चुको गाउँका सबै घरपरिवारको स्याउ बगैचा रहेको सडक नहुदाँ स्याउ कुहिएर जाने गरेकोमा अबका दिन सडकले स्याउलाई बजारमा लैजान आफुहरुलाई सहज हुने स्थानीय नरबहादुर रोकायाले बताए । ‘हाम्रो गाउँमा स्याउको बगैचा सबै जनाका छन् ।’ उनले भने,‘स्याउ राम्रो फल्ने भएपनि आम्दानी लिन सकेका थिएनौं । अब गाडीमा नै स्याउ बिक्रि गर्छौं ।’

नगरपालिका सबै गाउँमा सडक नपुगेसम्म गाडी चढ्दिनः नगर प्रमुख
तिलागुफा नगरपालिकाका नगर प्रमुख रतनबहादुर शाहीले नगरपालिका भित्रका सबै वडामा भित्र सडक नपु¥याएसम्म आफुले गाडी नचढ्ने बताएका छन् । नगरपालिका केही गाउँहरुमा पनि अहिले मानिसहरुले भारी बोकेर नै हाट बजार गर्नुपर्ने भएका कारणले आफुले सबै जनताको पिड्युबाट भारी हटाएर मात्र गाडी चढ्ने बताएका हुन् ।

नगरपालिका भित्र सबै वडामा आफुले सडक पु¥याउने लक्ष्य लिएको र त्यसका लागि केही वडाहरुमा यसै आर्थिक बर्षमा सडक निर्माण गरिसक्ने र केही वडामा अर्को आर्थिक बर्षमा सडक निर्माण गरिसक्ने नगर प्रमुख शाहीले बताए । ‘केही वडामा यो आर्थिक बर्षमा सडक निर्माण गर्ने लक्ष्य लिइएको छ ।’ उनले भने,‘केही वडामा अर्को आर्थिक बर्षमा सडक निर्माण गर्ने लक्ष्य राखेका छौं ।’

नगरपालिका भित्रका सबै वडाहरुमा सडक नपु¥याएसम्म आफुले गाडी चढ्ने लक्ष्य पनि नलिएको नगर प्रमुख शाहीले बताए । ‘मेरो नगरपालिका भित्रका केही वडाका मानिसहरुले अहिले पनि भारी बोकेर हाटबजारलगाएतका ठाउँमा हिड्नु परेको छ ।’ शाहीले भने,‘त्यसले नगर भित्रका सबै वडामा गाडी पु¥याएर मात्र गाडी चढ्ने लक्ष्य लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्