नेप्सेमा दोहोरो अंकको वृद्धि



काठमाडौं, (नेस)
मंगलबार पुँजी बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ। पछिल्लो पाँच दिनयता निरन्तर उकालो यात्रामा रहेको नेप्से परिसूचक १२ दशमलव २७ अंकले उकालो लागेर १ हजार ४ सय ५६ दशमलव ७ अंकमा पुगेको छ।

मंगलबारको कारोबारमा उत्पादलनमुलक समूहबाहेक अन्य सबै समूहको उपसुचक सकारात्मक देखिएको छ। उत्पादनमूलक समुहको उपसूचक ३ दशमलव ११ अंकले ओरालो लागेको छ। होटल समूहको उपसूचक ६० दशमलव २ अंकले बढेको छ।

त्यसैगरी बीमा समूह ३४ दशमलव २८, लघुवित्त समूह १७ दशमलव ९५, विकास बैंक समूह १४ दशमलव ३७ र बैंकिङ समूह १२ दशमलव ९ अंकले बढेको छ। त्यस्तै जलविद्युत् ५ लशमलव ८७, व्यापार समूह १ दशमलव २६, अन्य समूह ४ दशमलव ९६ र वित्त समूह शून्य दशमलव ६४ अंकले बढेको छ।

१ सय ५८ वटा कम्पनीको नौ लाख १५ हजार ४ सय २६ कित्ता शेयर किनबेचमार्फत् ५० करोड १७ लाख ७० हजार ५ सय ९ रुपियाँको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै ६ करोड ३६ लाख ५२ हजार ३ सय ५२ रुपियाँ बराबरको कारोबार भएको छ।

त्यस्तै सानिमा माई हाइड्रो कम्पनीको ५ करोड ५२ लाख ७३ हजार ४ सय रुपियाँ र एभरेस्ट बैंकको २ करोड २१ लाख २७ हजार रुपियाँ बराबरको शेयर किनबेच भएको छ।

सबैभन्दा धेरै बेस्ट फाइनान्सका लगानीकर्ताले ६ दशमलव ११ प्रतिशत नाफा कमाएका छन्। बढी नाफा कमाउनेमा दिव्यश्वरी हाइड्रो र मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले क्रमशः ५ दशमलव ९६ र ५ दशमलव १७ प्रतिशत नाफा कमाएका छन्। धेरै गुमाउनेमा भने एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९ दशमलव ९८ प्रतिशत गुमाएका छन्।

त्यसैगरी प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले ५ दशमलव ६६ प्रतिशत र फ्रस्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ५ दशमलव २६ प्रतिशतले गुमाएका छन्।

नेप्सेमा मंगलबार पाँच वटा कम्पनीका ३ करोड ३७ लाख ३३ हजार ८ सय १० कित्ता शेयर सूचीकृत भएका छन्।

प्रतिक्रिया दिनुहोस्