गोल्डेन ग्लोब अवार्डमा यौन शोषणविरुद्ध एकता



अमेरिकाको क्यालिफोर्नियास्थित ब्रेवरी हिल्समा सम्पन्न ७५औं गोल्डेन ग्लोब अवार्डस्मा हलिउडको यौन शोषण स्क्यान्डलले स्थान पाएको छ। हलिउडमा लगातार यौन स्क्यान्डल उजागर भएपछिको पहिलो र ठूलो अवार्ड समारोहमा यौन शोषणविरुद्ध संसारभर चलिरहेको अभियानमा एकता देखाउँदै अधिकांश हलिउड स्टारहरू कालो कपडामा देखिए।

रेड कार्पेटमा कालो कपडा पहिरिएका हस्तीहरू निकै आकर्षक देखिएका थिए भने उनीहरूले यौन शोषणविरुद्ध शक्तिशाली सन्देश दिएका थिए। यसपटक गोल्डेन ग्लोब लाइफटाइम अचिभमेन्ट अवार्डबाट अमेरिकन मिडिया प्रोपाइटर ओपरा विनफ्रेलाई सम्मानित गरियो। गोल्डेन ग्लोब लाइफ टाइम अचिभमेन्ट अवार्ड हुने उनी पहिलो अश्वेत महिला हुन्।

समारोहको शुरुआत गर्दै कमेडियन होस्ट सेथ मेयर्सले फिल्म तथा टेलिभिजन हस्तीहरूलाई भने– ‘महिला तथा पुरुष सज्जनहरूलाई म स्वागत गर्न चाहन्छु। २०१८ मा यौन उत्पीडनका लागि कुनै ठाउँ छैन।’ समारोहमा अभिनेतृ किडम्यानलाई घरेलु हिंसा पीडितको भूमिका निर्वाह गरेकोमा अवार्ड दिइएको थियो।

कार्यक्रममा मोसन पिक्चर ड्रामातर्फ थ्री बिलबर्डस आउटसाइड एविङ सर्वोत्कृष्ट फिल्म सावित भएको छ भने यसै फिल्मबाट फ्रान्सेस म्याकडोरमन्डले अभिनेतृ, सैम रकवेलले सहअभिनेता तथा मार्टिन म्याक्डानगले पटकथाको अवार्ड उचालेका थिए। डार्केस्ट आवरबाट गेरी ओल्डम्यान सर्वोत्कृष्ट अभिनेता सावित भए भने फिल्म द सेप अफ वाटरबाट गुलिर्मो डेल टोरोले निर्देशकको, आई टोन्याबाट एलिसन जेनीले सहअभिनेतृको अवार्ड चुमेकी छिन्। त्यसै गरी एनिमेटेड फिल्मको अवार्ड फिल्म कोकोले पाएको छ भने द ग्रेटेस्ट शो म्यानको दिस इज मि बोलको गीतले ओरिजिनल संगको अवार्ड पाएको छ। म्युजिकल कमेडी टिभी सिरिजतर्फको अवार्ड लेडी बर्डले पाएकोमा यसैबाट साओइर्स रोननले अभिनेतृको अवार्ड पाएकी छिन्।

मास्टर अफ ननबाट अजिज अन्सारी र द डिजास्टर आर्टिस्टबाट जेम्स फ्रेकोले अभिनेताको अवार्ड पाएका छन्। कमेडी टिभी सिरिजतर्फ द मार्वलस मिसेस माइलेस विजेता भयो भने यसै सिरिजबाट रेचल ब्रासनाहनले अभिनेतृको अवार्ड उचालिन्।

उत्कृष्ट टेलिभिजन सिरिजतर्फ द ह्यान्ड मेड टेलले अवार्ड पाएको समारोहमा यसै ड्रामाबाट एलिजाबेथ मासले अभिनेतृको अवार्ड पाएकी छिन्। स्टर्लिङ के ब्राउनले भने दिस इज असबाट अभिनेताको अवार्ड पाएका छन्। लिमिटेड टेलिभिजन सिरिज तथा टेलिभिजन फिल्मतर्फ बिग लिटल लाइज सर्वोत्कृष्ट फिल्म बन्यो भने यसै फिल्मबाट अभिनेतृको अवार्ड निकोल किडम्यान र सहअभिनेतृको अवार्ड लारा डर्नले पाएकी छिन्। अभिनेताको अवार्ड भने फिल्म फार्गोबाट इवान म्याक ग्रेगरले पाएका छन्। त्यस्तै विदेशी भाषाको फिल्मको अवार्ड फेद अकिनले निर्देशन गरेको जर्मनी फिल्म इन द फेडले पाएको छ। हलिउडको मुख्य र ताजा विषय यौन शोषणलाई फोकस गरिएको समारोहमा मनोरञ्जन जगत्मात्र नभई सारा दुनियाँका महिलाको बदलावका लागि केन्द्रित मि टु तथा टाइम्स अप अभियानलाई हस्तीहरूले समर्थन गरेका थिए। गोल्डेन ग्लोब अवार्डलाई अस्कारसम्म पुग्नका लागि महत्त्वपूर्ण खुड्किलोका रूपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्