प्रदेश प्रमुख नियुक्तिको प्रयास



सुनील महर्जन, काठमाडौं
प्रदेश प्रमुख नियुक्तिमा भइरहेको ढिलाइको सीधा असर प्रदेशसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्ने प्रक्रियामा परेको छ।

प्रदेश प्रमुख नियुक्ति नहुँदा निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको परिणाम सार्वजनिक गर्न सकेको छैन। प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारहरूको नाम सार्वजनिक गर्ने सबै प्रक्रिया पूरा भइसकेको आयोगले जनाएको छ।

राजनीतिक दलहरूले बुझाएको समानुपातिकतर्फ उम्मेदवारहरूको सूचीमा भएको त्रुटि सच्याएर सार्वजनिक गर्न तयारी अवस्थामा राखेको छ। प्रदेशसभाको समानुपातिकतर्फ १३ वटा दलले नाम बुझाएका थिए। ‘प्रदेश प्रमुख नहुँदा परिणाम सार्वजनिक गर्न सकिएको छैन।’ –प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रसँग भन्नुभयो।

प्रदेशसभा निर्वाचन ऐनको तर्फ ६० (८) ले समानुपातिक प्रणालीबमोजिम निर्वाचित भएको उम्मेदवारको नाम आयोगले प्रदेश प्रमुखसमक्ष पठाई सो नामावली नेपाल राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरेको छ।

ऐनको उक्त दफाले प्रदेशसभाको समानुपातिक परिणामलाई अन्तिमरूप दिन आयोगलाई समस्या आएको बताइएको छ। प्रदेश प्रमुख नहुँदा प्रत्यक्ष निर्वाचित प्रदेशसभाका सदस्यहरूको पनि शपथ ग्रहण नै हुने नसक्ने अवस्था छ।

प्रमुख निर्वाचन आयुक्त डा. यादवसहित आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पटकपटक भेटेर प्रदेश प्रमुख नियुक्ति गर्न ध्यानाकर्षण गर्दै आएको छ। आयुक्तहरूले पछिल्लो साता राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पनि सो विषयमा ध्यानाकर्षण गराएका थिए। ‘आयोगलाई प्रदेशसभाको समानुपातिकतर्फको परिणाम पनि चाँडै सार्वजनिक गर्न दबाब दिने, अर्कोतिर प्रदेश प्रमुख नियुक्ति नहुने अवस्था छ। निर्वाचितको नाम घोषणा गरेर कसलाई बुझाउने?’ –प्रमुख निर्वाचन आयुक्त डा. यादवले भन्नुभयो।

प्रत्येक प्रदेशमा केन्द्रीय सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहने संवैधानिक प्रावधान रहेको छ। प्रदेश प्रमुखले प्रदेशसभा सदस्यलाई शपथ दिलाउनेलगायतका काम गर्ने पनि संवैधानिक व्यवस्था छ। अघि नै गरिसक्नुपर्ने प्रदेश प्रमुखको नियुक्तिमा भएको ढिलाइले सात प्रदेशका सदस्यलाई शपथ दिलाउनेलगायतका प्रदेशसभा गठनलगायत राष्ट्रियसभाको निर्वाचनमा परेको छ। प्रदेशसभाका सदस्य राष्ट्रिय सभाको निर्वाचनमा मतदाता पनि हुन्।

दलहरूबीच सहमतिको प्रयास विफल भएका कारण प्रदेश प्रमुखहरूको नियुक्तिमा ढिलाइ भएको सरकारले बताउँदै आएको छ। राजनीतिक दलहरूबीचको सहमतिमा प्रदेश प्रमुख नियुक्ति गर्ने प्रयास सरकारले जारी राखेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्