मोबाइल एप्सको प्रयोगमार्फत खोलाको पानी गाउँमा (फोटोफिचर)



प्रताप बानियाँ, म्याग्दी । म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोगमार्फत खोलाको पानी गाउँमा पु¥याइएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरामा निर्माण भएको पिपलडाँडा लिफ्ट सिँचाई आयोजनाबाट म्याग्दीखोलाको पानी वस्तीमा लगिएको हो ।

सदरमुकाम बेनीबजार नजिकै हाँडेभिरस्थित म्याग्दीखोलाको किनारमा १० मिटर गहिरो इनार खनेर त्यसभित्र राखिएको विद्युतको सहायताले चल्ने समसिवल पम्पले २५० मिटर उचाई र ५०० मिटर दुरीको लभ्लीहिलमा पानी पु¥याइएको छ ।

आयोजना सञ्चालनका लागि मोबाइल एप्स प्रविधिको प्रयोग गरिएको छ भने प्रतिघण्टा दश हजार लिटर पानी तान्न सक्ने बिस हर्ज पावर क्षमताको पम्प जडान गरिएको जनाइएको छ ।

इनारदेखि विद्युतीय उपकरणको सहायताले पानी तानेर २५० मिटरमाथि ६३ एमएमको पाइपबाट लभ्लीहिलको डाँडामा सिचाईंको लागि पानी पुगेपछि कृषकहरु दङ्ग परेका छन् । पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि मोबाइल एप्समार्फत (अनअफ) गर्ने प्रविधि जडान गरिएको बताइएको छ ।

हालै मात्र नेपालमा भित्रिएको लिफ्ट सिचाईंको प्रयोजनका लागि लिफ्टीङ आयोजनामा मोबाइलबाट पानी खोल्ने र बन्द गर्ने प्रविधि ४ नम्बर प्रदेशमै पहिलो रहेको प्राविधिक कृष्णबहादुर खत्रीले दावी गर्नुभयो । एन्ड्रोइड मोबाइलमा एप्स इन्स्टल गरी सेटिङ मिलाएपछि अन बटन थिचेको करिब ७ देखि १५ सेकेन्डभित्र पानी आउने र अफ बटन थिचेको सोही समयभित्र पानी बन्द हुने उहाँले बताउनुभयो ।

एकपटकमा पानी खोल्न र बन्द गर्नका लागि एप्स प्रयोग गरेवापत ८ रुपैयाँ खर्च हुने प्राविधिक खत्रीले बताउनुभयो । उहाँका अनुसार खोलाको किनारमा रहेको कन्ट्रोल रुममा मोटर, कन्ट्रोल बक्स, सर्किट र सिग्नल रिसिभर जडान गरिएको छ । मोबाइल नेटवर्किङ सिस्टममार्फत बिजुली बत्ती उपलब्ध भएको समयमा पानी तान्न सकिन्छ ।

घरमै बसेर एप्समार्फत पानी खोल्न र बन्द गर्न सकिने हुँदा कृषकहरुलाई समयको बचत, खर्च कम र मानिसले कुरेर बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । बेनीको हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत रहेका खत्रीले आयोजना सञ्चालनमा प्राविधिक सहयोग गरिरहेका छन् ।

व्यवसायीक तरकारी खेतीका हिसाबले प्रशस्तै सम्भावना बोकेको खबरामा सिचार्इंको समस्या समाधानका लागि कृषकहरुले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पु¥याउन सफल भएका हुन् । फेदीको पानी डाँडामा पुग्दा स्थानीयवासीहरु आश्चर्यचकित भएका छन् । स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले बेनीको हाँडेभिरस्थित म्याग्दी नदी किनारबाट विद्युतीय पम्पको प्रयोग गरी खबरामा सिचाईंका लागि पानी आपूर्ति गरिएको जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट १० लाख रुपैयाँ अनुदान, कृषकहरुले चारलाख सातहजार ऋण र चारलाख रुपैयाँ बरारबको श्रमदान जुटाएर खबराको पिपलडाँडामा सिँचाई गर्न पानी तानिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो । उहाँले लभ्लिीहिलस्थित पिपलडाँडासम्म पु¥याइएको पानी अर्को चरणमा खबराको सिम्ले हुँदै दारिमबोटसम्म विस्तार गर्ने योजना रहेको हुँदा सहयोगका लागि आग्रह गर्नुभएको छ । खबराका ६० जना कृषकहरु तरकारी खेतीमा आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्