सरकारसँगको लडाइँ जारी रहन्छः अरसा



यांगुन, (एजेन्सी)
म्यान्मारका अल्पसंख्यक रोहिंग्या मुस्लिम बाहुल्य क्षेत्रमा सक्रिय विद्रोही समूह अरसाले सरकारसँग आफ्नो लडाइँ जारी राख्ने जनाएको छ।

गतवर्ष उक्त आराकान रोहिंग्या सेल्भेसन आर्मी (एआरएसए) अरसाले सेनामाथि आक्रमण गरेको थियो। त्यसपछि रखाइन प्रान्तमा व्यापकरूपमा हिंसा शुरू भएको थियो। उक्त हिंसाका कारण ६ लाख ५० हजार रोहिंग्या मुसलमानले देश छोडेर बंगलादेशतर्फ पलायन हुनुपरेको थियो।

एआरएसएले गत शुक्रबार रखाइन प्रान्तमा सेनाको एक ट्रकमा हमला गरेको दाबी गरेको छ। जसमा ३ जना घाइते भएको बताइएको छ। म्यान्मारको सरकारको दृष्टिकोणमा आराकान रोहिंग्या सेल्भेसन आर्मी एक कट्टरपन्थी संगठन हो। तर उक्त समूहले आफू रोहिंग्याका अधिकारका लागि लडिरहेको जनाएको छ। एआरएसए म्यान्मारको उत्तरी प्रान्त रखाइनमा सक्रिय समूह हो। यस प्रान्तमा अल्पसंख्यक रोहिंग्या समुदायले संकटको सामना गर्नु परिरहेको छ।

म्यान्मारको सरकारले रोहिंग्या समुदायका सदस्यलाई आफ्नो देशका नागरिक मान्न अस्वीकार गर्दै आइरहेका छन्। सरकारले उनीहरूलाई बंगलादेशबाट आएका अवैध प्रवासी मानेका छन्।

विगतमा एआरएसएले कयौं पटक आक्रमण गरिसकेको छ। गतवर्ष अगस्टमा एआरएसए विद्रोहीहरूले भीषण आक्रमण गरी ३० प्रहरी मारेका थिए र सेनाको चौकी पनि ध्वस्त पारेका थिए। त्यसपछि सेनाका तर्फबाट जवाफी कारबाही भएको थियो। डाक्टर्स विदआउट बोर्डर्सले गतवर्ष अगस्टमा म्यान्मारको रखाइन प्रान्तमा शुरू भएको हिंसापछि पहिलो महिनामा ६ हजार ७ सय मुसलमान मारिएको जनाएको थियो। नोभेम्बरमा सेनाले उक्त संकटमा आफ्नो हात रहेको कुरालाई अस्वीकार गरेका थिए र हिंसामा ४ सय को मृत्यु भएको जानकारी दिएका थिए।

आइतबार एआरएसएले ट्विटरमा आफ्ना नेता अताउल्लाह अबु अम्मार जुनुनीको एक विज्ञप्ति जारी गर्दै पछिल्लो आक्रमणमा सलंग्न रहेको पुष्टि गरेको छ। विज्ञप्तिमा भनिएको छ– ‘रोहिंग्याविरुद्ध म्यान्मार सरकारको प्रायोजित कट्टरपन्थसँग जुध्न, आफूलाई बचाउन र रोहिंग्या समुदायको रक्षाका लागि लड्नबाहेक अन्य विकल्प छैन।’

प्रतिक्रिया दिनुहोस्