तरकारी बेचेरै ४५ लाख !



दुर्गाप्रसाद शर्मा, पर्वत । प्रशस्त धन कमाउनका लागि विदेश नै जानुपर्छ भन्ने मान्यता बोकेका युवालाई यहाँका एक युवाले चुनौती दिएका छन् ।
कुश्मा नगरपालिका–३ आम्बोटमा विगत पाँच वर्षदेखि व्यावसायिक तरकारी खेती थालेका लालबहादुर हरिजनले वार्षिक ४५ लाख आम्दानी गरेका हुन ।

१५ रोपनी जग्गा भाडामा लिएर नमूना अर्गानिक फार्म सञ्चालन गरेका हरिजनले गत वर्ष ३५ लाख आम्दानी गरेका थिए भने यस वर्ष ४५ लाख आम्दानी गरेका छन । उनले जैविक प्रणालीबाट तरकारी खेती गर्दै आका छन । टनेलमा बाह्रैमास गोलभेँडा खेती, मौसम अनुसारका तरकारी, माछापालन, केराखेती र कुखुरापालन व्यावसायवाट हरिजनले उक्त आम्दानी गरेकोे बताए । ‘बाह्रैमास तरकारी खेती गर्दा ४५ लाख रुपैयाको बिक्री भएको छ’ उनले भने ‘यसबाट सोचे अनुसारको फाइदा लिन सकेको छु’  ।

फार्ममा गोलभेंडासँगै काँक्रा, घिराैंला, बोडी, सिमी, भिण्डी, खुर्सानी, साग, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन । उनले एउटै गोलभेँडाको बोटबाट २० किलोसम्म उत्पादन गर्ने गरेको बताए । हरिजनले नयाँ प्रविधि भित्र्याएर तरकारी खेती शुरु गरेका छन । बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ भित्र्याउन सफल परीक्षणसमेत सफल भएका छन उनी ।

व्यावसायिक कृषिमा जमेका कुश्माका हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’को सफल परीक्षण भएको हरिजनले जानकारी दिए । मोदी–५ र कुश्मा–३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गत असोजमा शुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’को खेती सफल भएको हो ।

युवा पुस्ता लागि लोकप्रिय प्रविधिका रुपमा रहेको यो प्रविधि पर्वतमा पहिलोपटक भित्रिएको हो । माटोमा धेरै परिश्रम गर्न नचाहने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँ माध्यम खोजिरहेका बेला कृषिप्रधान मुलुकमा कृषिबाट जीविकोपार्जन गर्न नसकेपछि विकल्प खोज्दै खाडी जाने युवाको लर्को दिन प्रतिदिन बढ्दो छ ।

हरिजनको फार्ममा उत्पादित तरकारी सदरमुकाम कुश्माबजार, डिमुवा, आम्बोट, गिज्यान र छिमेकी जिल्ला पोखरामा समेत बिक्री हुने गरेको छ । पोखरा–बागलुङ राजमार्गको छेवैमा रहेको उक्त फार्ममा उत्पादित वस्तुहरु ढुवानीमा कुनै समस्या छैन । उनको फार्मलाई जिल्ला कृषि विकास कार्यालयले २० लाख सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्