दुई सय करोड योजनामा भ्रष्टाचार



उत्तम नेपाल, भद्रपुर । नेपाल सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तरगत दिएको दुई सय करोड योजना अन्तरगतको नालासहितको सडक विस्तारको काममा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको स्थगलत अनुगमनको क्रममा पाइएको छ ।

झापाको भद्रपुर नगरपालिका अन्तरगत विभिन्न वडामा निर्माणाधिन अवस्थामा रहेको पक्की नालासहित सडक विस्तार काममा ठेकेदार कम्पनीले सरकारी स्टीमेट भन्दा बाहिर गएर गुणस्तरहीन काम गरिरहेको पाइएको हो ।

नगरपालिकाको वडाहरुमा सञ्चालन भइरहेको कामको अवस्था तथा गुणस्तरको बिषयमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, इन्जिनियर र पत्रकारसहित गएको संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा स्टीमेट भन्दा बाहिर गएर निर्माण कार्य भइरहेको फेला परेको थियो । ६ वटा प्याकेज अन्तरगत २५ वटा योजनाको कामहरु नगरभित्र धमाधम भइरहेको छ ।

त्यसमध्ये भद्रपुर ५ स्थित देवी बस्ती, बलभद्र चोक, घिमिरे बस्ती र धुलावारी जोड्ने नालासहित सडक विस्तारको ठेक्का लुम्बिनी, गजुरमुखी÷एपेक्स जेभीले लिएको छ । सोही जेभीले भद्रपुर ५ स्थित नयाँ बजार देखि अमला डाँगी, तारानगर, डाँगीबारी, आपगाँछी हुदै किचकबध भैसावाडी जोडने काम पनि गरिरहेको छ ।

सो निर्माण कम्पनी दुवै निर्माण स्थलमा कमशल सामग्री प्रयोग गर्नुका साथै स्टीमेट बमोजिम समेत कार्य गरेको छैन । अहिले सो सडकमा पक्की नाला बनाउने काम भइरहेको छ । नाला खन्दा सोलिङ नगरी ढुंगा बिछ्याउने काम भएकोले निर्माण कार्य गुणस्तरहिन बन्न थालेको भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

नालाको पिसिसि ढलानमा ढुंगासहित १० इन्च चौढाई ढलान हुनुपर्ने मा अनुगमनको क्रममा त्यस्तो फेला नपरेको नगर प्रमुख श्रेष्ठले बताए । भद्रपुर ५ को निर्माण कार्य स्थल पुगेका अनुगमन टोलीले पिसिसि ढलानमा गुणस्तरहीन काम गरेपछि स्टीमेट बमोजिम १, ३ र ६ को मसला बनाएर ढलान गर्दा पहिलाको ढलान भन्दा गुणस्तरमा समेत फरक पाएका थिए ।

भद्रपुर नगर क्षेत्रमा भइरहेको करोडौको योजनामा ठेकेदार कम्पनी र त्यसका पेटी कन्ट्रक्टरले हचुवाको भरमा निर्माण कार्य गर्न थालेका छन् । निर्माणस्थलमा अनुगमनका लागि सरकारी पक्षका इन्जिनियर जान छाडेपछि नगरपालिकाका जनप्रतिनिधि आफै अनुगमन गर्न व्यस्त छन् ।
लुम्बिनी गजुरमुखी र एपेक्सले ८ वटा प्याकेजको ठेक्का ६६ करोड ८६ लाख २६ हजार ३ सय ८ रुपैयामा सम्झौता गरेको छ ।

शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय इलाममार्फत सो निर्माण कार्य गरिएको हो । डिभीजन कार्यालयले सानो प्याकेजको कामलाई ठूलो प्याकेज बनाएर टेण्डर आवह्न गरेर ठेक्का सम्झौता गरेको नगरको निर्माण कार्य स्टीमेट भन्दा बाहिर बन्न थालेको नगर प्रमुख श्रेष्ठले बताए ।

नगर क्षेत्रमा अहिले ६ वटा प्याकेजमा २५ वटा योजनाको काम भइरहेको शहरी विकास तथा भवन निर्माण डिभीजन कार्यालय इलाम अन्तरगत फिल्ड कार्यालय झापाका प्रमुख इन्जिनियर सन्दिप पौडेलले बताए । जे जति काममा व्यवस्थापन हुनुपर्ने थियो त्यस्तो नभएको उनले स्विकारे । निर्माण कार्य भइरहेकोले कुनै कम्पनीलाई भुक्तानी नदिइएको उनको भनाइ छ ।

भुत्तानी दिने बेलामा स्टीमेट र गुणस्तर हेरेर मात्र भुक्तानी दिने उनले बताए । कार्यालयमा कर्मचारी अभाव हुदाँ समस्या भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्