एमाले-माओवादी छुट्टाछुट्टै छलफलमा, कहीले होला एकता ?



काठमाडौं । पार्टी एकता टुंग्याउनको लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। एकतालाई निश्कर्षमा पुर्याउन दुइवटै पार्टीको आज दिउँसो छुट्टाछुट्टै बैठक बस्दैछ ।

एकताको खाका कोर्न एमालेले दिउँसो २ बजे स्थायी समिति बैठक राखेको छ । अध्यक्ष ओलीको निवास बालकोटमा बस्ने बैठकमा एकताको लागि संगठनात्मक स्वरुपको साथै वैचारिक राजनीतिक बारे छलफल हुने सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन । सचिव ज्ञवालीका अनुसार आजको बैठकले संगठनको रुवरुप र सिद्धान्त बारेमा विस्तृत छलफल गरेर एकता संयोजन समितिलाई त्यसको टुंगो लगाउने जिम्मा दिनेछ ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले आजै पार्टीका शिर्ष नेताहरुसँग परामर्श गर्दैछन् । पार्टी एकतामा ढिलाइ हुँदा शंका र विभिन्न टिप्पणी हुन थालेपछि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले एकताबारे आइतबार गम्भीर रूपमा छलफल गरेका थिए । ओली र दाहालबीच एकतापछिको कार्यदिशा र संगठन संरचना निर्माणका लागि कार्यदल मार्फत् अघि बढ्ने सहमति भएको छ।

दुइवटै पार्टी आज हुने छलफलपछि मंगलबार बस्ने एकता संयोजन समितिले अब वैचारिकरराजनीतिक कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल तथा संगठनात्मक संरचना तयार पार्न संगठनात्मक कार्यदल गठन गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्