म अत्यन्तै स्थिर, प्रतिभाशाली छुः ट्रम्प



वासिंटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘अत्यन्तै स्थिर प्रतिभाशाली’ भएको दावी गरेका छन्। एक विवादस्पद किताबमा आफ्नो मानसिक स्वास्थ्यलाई उठाएको प्रश्नलाई अस्विकार गर्दै राष्टपति ट्रम्पले उक्त पुस्तक आधारहीन कल्पना मात्र भएको र त्यसका लेखक धोकेबाज भएको बताए।

ट्रम्प प्रशासनको एक वर्ष पूरा भएकोमा लेखिएको आफ्नो किताबमा लेखक माइकल वुल्फले ट्रम्पका सबैभन्दा नजिकका सहयोगीहरूले पनि उनको मानसिक स्वास्थ्यमा प्रश्न उठाएको उल्लेख गरेका छन्।
क्याम्प डेविडमा वरिष्ठ रिपब्लिकन नेताहरूसँगको भेटघातपछि पत्रकारसँगको कुराकानीमा ट्रम्पले आफू एकजना ‘राम्रो छात्र’ भएको र आफूले उल्लेखनीय सफलता हासिल गरेको बताए।

किताबमा गरिएका दावीलाई खारेज गर्दै ट्रम्पले शनिबार ट्विटमा भने– ‘म प्रतिभाशाली हुँ र मेरो सबैभन्दा ठुलो क्षमता मानसिक स्थिरता हो र म वास्तवमै अत्यन्त स्मार्ट छु।’

फायर एन्ड फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस किताबमा उल्लेखित कुरालाई ट्रम्प प्रशासनले आधारहीन भएको उल्लेख गर्दै अस्वीकार गरेको छ र अरूले पनि ती विषयमा प्रश्न उठाएका छन्।
किताबमा ट्रम्पलाई अधैर्य व्यक्तिका रूपमा देखाइएको छ र उनको तिनीहरूमा पकड नभएको र आफ्नै कुरा मात्र दोहार्याइरहने उल्लेख गरेको छ।

ट्रम्प प्रशासनले किताबलाई बजारमा आउनबाट रोक्ने प्रयास गरको भए पनि शुक्रबारबाट त्यसको बिक्री शुरु भएको हो। बजार आएलगत्तै किताब बेस्टसेलर बनेको छ।

ट्रम्पका निकट मानिएकाहरूलाई उद्धृत गर्दै पुस्तकमा ह्वाइट हाउसमा ट्रम्पको कार्यकालको पहिलो वर्षको गतिविधि दिने यो किताबले ट्रम्पको क्षमतामा कयौं गम्भिर प्रश्न उठाएका छन्। ट्रम्पले लगातार पुस्तकका लेखकमाथि कडा टिप्पणी गरिरहेका छन् र उनलाई धोकेबाजको संज्ञा दिएका छन्।

तर पुस्तकका लेखक माइकल वुल्फले ट्रम्प प्रशासनको तर्फबाट भइरहेको विरोधले उनको किताबको बिक्री बढिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्