शान्ति र सुरक्षाका लागि फुजिमोरीको आह्वान



लिमा, (एजेन्सी)
केही दिनअघि सरकारको विशेष क्षमादान कार्यक्रमअन्तर्गत कारागारमुक्त भएका पेरुका विवादास्पद पूर्वराष्ट्रपति अल्वर्टो फुजिममोरीले राष्ट्रमा व्याप्त अपराध र हिंसाविरुद्ध सम्पूर्ण देशवासीलाई एकजुट हुन आइतबार आह्वान गरेका छन्। उनले ट्विट गर्दै भनेका छन्– ‘हामी सुरक्षा पुनःस्थापित भएको र हिंसा उन्मूलन भएको राष्ट्रमा बस्नेछौं।’

आफ्नो पदीय दायित्व र अधिकारको दुरूपयोग तथा भ्रष्टाचारको अभियोगमा २५ वर्ष लामो काराबास सजाय भोग्दै आएका फुजिमोरीलाई गत बिहीबार राष्ट्रपति पेद्रो पाब्लो कुस्जिन्स्कीले क्षमादान दिँदै मुक्त गरेका थिए। परिणामस्वरूप राष्ट्रपति पाब्लोको उक्त कदमविरुद्ध विशाल जनप्रदर्शन भएको थियो।

मुटुको समस्याका कारण उपचार गराउँदै आएका फुजिमोरीले अस्पतालबाट डिस्चार्ज हुनासाथ यसरी आफ्नो दक्षिणपन्थी समूहलाई अपिल गरेका हुन्। उनले भनेका छन्– ‘आफ्नो विशेष स्वार्थ र अवसरवाद प्रवृत्तिबाट पर हटेको खण्डमा मात्र हामीले राष्ट्रमा सुरक्षा र शान्ति स्थापना गर्न सक्छौं।’

मसँग भएका राम्रा सपनाहरू म सबैसँग बाँड्न चाहन्छु। फुजिमोरी औपचारिकरूपमा पेरुको राजनीतिमा पुनः सक्रिय हुने हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन। उनको नाजुक स्वास्थ्य अवस्थालाई मध्यनजर राखेर नै उनलाई कारगारमुक्त गरिएको बताइएको थियो।

चिकित्सकहरूले उनको मुटुको स्थिति अझै निकै जटिल भएकाले उनले स्वास्थ्यको राम्ररी ख्याल राख्नुपर्ने बताएका छन्। फुजिमोरीकी छोरी केइकोको नेतृत्वमा रहेको कन्जरभेटिभ पपुलर फोर्स (एफपी) पार्टीमा कांग्रेसको नियन्त्रण रहेको छ। यस पार्टीले भ्रष्टाचारको आरोपमा राष्ट्रपति पाब्लोविरुद्ध महाभियोग लगाउने प्रयास गरेको थियो।

सन् १९९० देखि २००० समको फुजिमोरिको तानाशाही शासन कालमा वामपन्थी लडाकू र सरकारी पक्षबीचको सशस्त्र द्वन्द्वको दौरानमा करिब ६९ हजार मानिसको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्