एम्सको नवनिर्मित भवन उद्घाटन



लगनखेलस्थित एड्भान्स इन्टरनेसनल स्कुल (एम्सको) नवनिर्मित भवन र कन्फ्युसियस सेन्टरको हल उद्घाटन भएको छ। पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भवनको उद्घाटन गर्नुभएको हो। वल्ड कन्फ्युसियर फेडेरेसनको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हलको उद्घाटन गर्दै पूर्वप्रम नेपालले नेपाल र चीनबीचको सम्बन्धले गर्दा विद्यालयको भौतिक संरचना निर्माण भएको बताउनुभयो। उहाँले एम्स एकेडेमीले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरेको बताउनुभयो। कार्यक्रममा वल्र्ड कन्फ्युसियस फेडेरेसनका अध्यक्ष थम सेन चेनले आफूहरू नेपालमा सहयोग गर्न उत्साही रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘यो विद्यालयलाई हामीले गरेको सानो सहयोगले विद्यार्थीको भविष्य उज्ज्वल हुनेछ।


कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल टीआर ढकालले कन्फ्युसियस फेडरेसनले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो। उहाँले विद्यार्थीको भविष्यका लागि विद्यालयले गरेको योगदानको चर्चा गर्नुभयो। कार्यक्रममा ललितपुर क्षेत्र नम्बर ३ का सांसद कृष्णलाल महर्जन, सो क्षेत्रका सांसदद्वय माधव पौलेल र ज्ञानेन्द्र शाक्य, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष ध्रवबहादुर खड्का, साहित्यकार मञ्जुल र धु्रव खड्का, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष एवं त्रिविका पूर्वउपकुलपति स्वर्गीय माधव शर्मा, कन्फ्युसियस फेडरेससनका अध्यक्ष थमसेन चेन, स्वर्गीय चन्द्रकला दुवाडी, विद्यालयका प्रिन्सिपल टीआर ढकाल र सीता ढकाललाई सम्मान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वनाथ ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फेडरेसनका अध्यक्ष थम सेन चेनले विद्यालयलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्