प्रचण्ड फकाउँदै कांग्रेस, शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न मिल्नुपर्ने दबाब



मधुसूदन रायमाझी, काठमाडौं
नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री दिएर आफ्नो गठबन्धनमा ल्याउने गृहकार्य अगाडि बढाएको छ। वाम गठबन्धनबीच पार्टी एकीकरणमा ढिलासुस्ती भइरहेका बेला कांग्रेसका केही नेता प्रचण्ड निकटका नेतासँग नयाँ सरकार गठनमा तालमेल गर्ने गृहकार्यमा जुटेका छन्।

कांग्रेसले शान्ति प्रक्रियाको काम सम्पन्न नभएको र बाँकी काम सम्पन्न गर्न कांग्रेस र माओवादी केन्द्र मिलेर अगाडि बढ्नुपर्ने तर्कसहित गठबन्धन गरेर नै अगाडि बढ्नुपर्नेमा जोड दिँदै आएको बताइएको छ। पार्टी हारको बारेमा समीक्षा गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन नेताहरूले दबाब दिए पनि पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभा निर्वाचनको मिति लम्ब्याएर प्रचण्डलाई फकाउने रणनीति लिएको कांग्रेसका एक नेताले बताए। ती नेताले भने– ‘संविधान कार्यान्वयन गर्न जसरी कांग्रेस र माओवादी मिल्दा सहज भएको थियो, शान्ति प्रक्रियाको बाँकी काम सम्पन्न गर्न पनि कांग्रेस–माओवादी मिल्नुपर्छ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई देउवाले ५ वर्षका लागि प्रधानमन्त्री प्रस्ताव गरेको सार्वजनिक गरिसक्नुभएको छ।

राष्ट्रिय सभा गठनमा देखिएको अन्योललाई उपयोग गर्दै सरकारले सत्ताको आयु लम्ब्याउँदै राष्ट्रिय सभाको मिति एक महिनापछि अर्थात् माघ २४ गते गर्ने घोषणा गरेको छ। यसबीचमा माओवादी केन्द्रलाई नजिक बनाउन सक्दो भूमिका खेल्ने भन्दै कांग्रेसका केही प्रभावशाली नेता प्रचण्ड निकट मानिएका नेतासँगको संवादमा जुटेका छन्। यता प्रचण्डले वाम गठबन्धनको विकल्पमा कुनै सरकार गठन नहुने स्पष्ट पारिसक्नुभएको छ। कांग्रेसले शान्ति प्रक्रियाको बाँकी काम एमालेसँगको एकताले पूरा नहुने भन्दै वाम गठबन्धन विभाजन गर्ने खेलमा लागेको बताइएको छ। कांग्रेसलाई पनि सकेसम्म सहमतिको साथ अगाडि लिएर बढ्नुपर्नेमा प्रचण्डले जोड दिँदै आउनुभएको छ।

वाम गठबन्धनको एकता प्रक्रिया लम्बिँदै गर्दा कांग्रेसले माओवादी केन्द्रलाई फकाउने नीति लिएको छ। कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले वाम गठबन्धनलाई विभाजित गर्दा पनि कांग्रेस बलियो हुने अभिव्यक्ति दिइसक्नुभएको छ। तर, कांग्रेसले जति नै ठूलो रणनीति बनाए पनि वाम गठबन्धन कुनै पनि हालतमा टुट्न नसक्ने नेकपा माओवादी केन्द्रका नेता मणि थापाले बताउनुभएको छ। उहाँले भन्नुभयो– ‘अहिले देशको आवश्यकता एमाले र माओवादी केन्द्रबीचको एकीकरण नै हो, यो कुनै पनि तागतले फुटाउन सक्दैन।’ प्राविधिक कारणले वाम गठबन्धनबीचको छलफल केही पातलो भए पनि अब गति लिने बताउँदै उहाँले एकतामा कुनै पनि आशंका नरहेको दाबी गर्नुभयो।

नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धन टुट्ने बताउँदै एमाले र माओवादीबीच विचार र कार्यनीति नै नमिल्ने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वाम गठबन्धन हामीले फुटाउनै पर्दैन, आफैं फुट्छ, एमाले र माओवादी केन्द्र मिल्नु भनेको पानी र तेल मिसिएजस्तै हो जुन कुरा सम्भव नै छैन।

एमाले र माओवादीको पृष्ठभूमि नै फरक–फरक छ केको आधारमा मिल्नु?’, उहाँले भन्नुभयो– ‘शान्ति प्रक्रियाको धेरै काम पूरा हुन बाँकी नै छ, सत्य निरूपण तथा बेपत्ता खोजविन आयोगले ३ वर्षमा केही काम गर्न सकेको छैन। एमाले पार्टी एकता र सत्ता पाउने खेलमा छ, माओवादीका नेताहरू जेल जानुपर्छ कि भन्ने त्रासमा छन्। शान्ति प्रक्रिया पूरा गर्न कांग्रेस र माओवादी मिल्नुको विकल्प छैन।’

एमाले र माओवादी केन्द्रका बीचमा पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता समायोजन समितिको बैठक बस्न सकेको छैन। एमालेले सरकार र पार्टीको नेतृत्व नै गर्नुपर्ने अडान लिएको छ भने माओवादी केन्द्रले एमालेले सरकारको नेतृत्व गरे पार्टीको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ। जसमा दुई दलबीच यही कुराले अल्झिएको छ।

प्रतिक्रिया दिनुहोस्