“जेटस्ट्रिम” ले बढायो चिसो



टीका बन्धन, काठमाडौं
मुलुकभित्र विकास भएको सामान्य मौसमी प्रणाली र भारतीय भूमि हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको उत्तर–पश्चिमी वायुको दोहोरो प्रभावले मुलुकभर व्यापकरूपमा चिसो बढेको छ।

उत्तर–पश्चिमी वायु हिमालय शृंखलालाई छोएर पृथ्वीको सतह र सतहभन्दा केही माथिबाट बहँदा मुलुकका अधिकांश ठाउँमा चिसो बढेको र यस्तो क्रम अझै केही दिन जारी रहने मौसमविद्हरूले बताएका छन्। यससँगै हिउँदयाममा भारतीय भूमिबाट नेपाल हुँदै तिब्बतर्फ बहने वायुको मुस्लो ‘जेटस्ट्रिम’ ले समेत अहिले चिसो बढाइरहेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो।

उहाँका अनुसार ‘जेटस्ट्रिम’ केही दिनयता नेपालको मध्यभेग हुँदै पूर्वी दिशातर्फ सरिरहेको छ। खाडी राष्ट्र ओमान, पाकिस्तान र भारतको राजस्थान हुँदै नेपालबाट तिब्बत सर्ने क्रममा रहेको त्यस्तो वायु समुद्र सतहबाट १०⁄१२ किलोमिटरमाथिको वायुमण्डलमा रहेको रिमालले बताउनुभयो। ‘जेटस्ट्रिम ८० मिटरप्रति सेकेण्डको तीव्र गतिमा चलिरहेको छ, त्यस्तो वायु समुद्र सतहबाट ३८ हजार फिट माथिको उचाइ हुँदै सरिरहेको छ’, उहाँले भन्नुभयो– ‘घुमाउरो शैलीमा त्यस्तो वायुको प्रभावसमेत अहिले नेपालमा परेको छ।’

विज्ञहरूका अनुसार जेटस्ट्रिमको अर्को खण्ड नेपाल, भारत र बंगलादेशलाई समेट्ने ‘इन्डोगङ्गेटिभ प्लेन’ को वायुमण्डलमा रहेको छ। पहाडी भेगमा बिहान–दिउँसो घाम लागेर जमिन ताते पनि साँझ परेपछि आकाशतर्फ फर्कने ‘लङ वेव रेडिएसन’ बिनाअवरोध वायुमण्डलतर्फ फर्किने गरेकाले समेत जमिनको सतहको तापक्रम खस्किन थालेको विज्ञहरू बताउँछन्। आइतबार काठमाडौंसहित मुलुकका धेरै स्थानको न्यूनतम तापक्रम शून्य र माइनसका हाराहारीमा पुगेको छ। आइतबार काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम शून्य डिग्री मापन भएको छ।

जुम्लामा सबैभन्दा कम माइनस ८ दशमलव ७ रेकर्ड भएको छ। त्यसै गरी जोमसोम माइनस ५, जिरी माइनस ४, दाङको शूून्य दशमलव ५, दिपायलको शून्य दशमलव ६ र वीरेन्द्रनगरको शून्य दशमलव ९ डिग्री मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनयताको शीतलहरका कारण तराईका धेरै भेगको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ, घाम नलागेपछि धेरै ठाउँको तापक्रम घटेको छ।

तत्काल मौसमममा सुधार आउने सम्भावना नरहेको र चिसो बढ्ने क्रम अझै केही दिन यथावत् रहने अर्का मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो। ‘अंग्रेजी महिनाको डिसेम्बर अन्तिम साता र जनवरीको दोस्रो साता अघिपछिभन्दा चिसो केही बढी नै हुन्छ, यो मौसमी चक्रको स्वभाविक प्रक्रिया र प्रभाव हो’ –उहाँले भन्नुभयो।

गतवर्ष जनवरी १४ तारिखमा काठमाडौं उपत्यकामा सबैभन्दा बढी चिसो महसुस गरिएको थियो, सो दिन उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री मापन गरिएको थियो। त्यसै गरी सन् २००० मा उपत्यकाको न्यूनतम तापक्रम माइनस ३ पुगेको थियो भने सन् २००२ र २०१० मा माइनस शून्य दशमलव २ थियो। सन् १९७८ मा उपत्यकामा सबैभन्दा कम तापक्रम माइनस ३ दशमलव ५ डिग्री रेकर्ड भएको महाशाखाको तथ्यांक छ।

उपल्लो भेगका हिमाली जिल्लाहरू जुम्ला, मनाङ, मुस्ताङ, दोलखालगायतमा हरेक वर्ष हिउँदयामको न्यूनतम तापक्रम शूून्यभन्दा तल नै रहने गर्छ। जुम्लामा सन् १९७४ फेब्रुअरी २ तारिखमा अहिलेसम्मकै सबैभन्दा कम माइनस १५ डिग्री मापन भएको महाशाखाका अधिकारीहरू स्मरण गर्छन्। सन् २००० जनवरी १६ तारिखमा समेत त्यहाँको तापक्रम माइनस १३ दशमलव ८ डिग्री पुगेको थियो।

शीतलहरले १४ को मृत्यु

शिवहरिप्रसाद भट्टराई
सप्तरी
विगत एक सातादेखि अत्यधिक बढेको शीतलहरको प्रभावले सप्तरीमा १४ जना सर्वसाधारणको मृत्यु भएको छ। आइतबार कञ्चनरूप नगरपालिकामा दुई जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १४ जना पुगेको हो।

कञ्चनरूप नगरपालिका–२ बरमझियाका ५५ वर्षीय बेचन शेख र वडा नम्बर ७ का ६१ वर्षीय उत्तम मरिकको शीतलहरका कारण मृत्यु भएको हो। यसअघि शनिबार पनि कञ्चनरूप र डाकनेश्वरी नगरपालिका तथा अग्निसाइर कृष्णा सवरण र तिलाठी कोइलाडी गाउँपालिकामा गरी एक बालकसहित ७ जनाको मृत्यु भएको थियो। कञ्चनरूप नगरपालिका–४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरी, खडक नगरपालिका–८ मुसरनियाका ७० वर्षीय मुसहरु चौधरी, कृष्णा सवरण गाउँपालिका–४ का ६० वर्षीय लखन ठाकुरको मृत्यु भएको छ।

त्यसै गरी तिलाठी कोइलाडी गाउँपालिका–७ का ३६ वर्षीय शिवु मण्डल, डाकनेश्वरी नगरपालिका–८ का ५५ वर्षीय झौली यादवको मृत्यु भएको छ। यसअघि तिलाठी कोइलाडी गाउँपालिका २ का ५५ वर्षीय सुजान ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका–२ का ६० वर्षीया नाजो बेगम र वडा नम्बर १० का ६५ वर्षीया कैलीदेवी खंगको मृत्यु भएको थियो। छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको पनि शीतलहरकै कारण मृत्यु भएको थियो।

सप्तरीमा दलित र विपन्न समुदायका व्यक्ति चिसोबाट बढी प्रभावित भएका छन्। जसमा बालबालिका, वृद्ध र बिरामी बढी समस्यामा छन्। दलितमध्ये पनि डोम र मुसहर समुदाय चिसोको चपेटामा परेका छन्।

शीतलहरले जनजीवन थप कष्टकर हुँदै गएपछि स्थानीय प्रशासनले केही राहत वितरणसमेत वितरण शुरु गरेका छन्। तर प्रशासनले हालसम्म पनि पर्याप्त दाउरा र चिसोबाट वच्ने वैकल्पिक व्यवस्था गर्न नसकेको पीडितहरूको गुनासो छ।

यसैबीच पूर्वीहिमाली जिल्ला ताप्लेजुङको तापक्रम आज यस वर्षकै कम मापन गरिएको छ। पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार आइतबार बिहानको न्यूनतम् तापक्रम १ दशमलब ४ डिग्रि सेल्सियस पुगेको हो।

सो कार्यालयकी प्राविधिक सरस्वती इजमका अनुसार शनिबार ताप्लेजुङको न्यूनतम २ दशमलब ४ डिग्रि मापन गरिएको थियो। सदरमुकाम फुङ्लिङमा भन्दा माथिल्लो हिमाली क्षेत्रको तापक्रम माइनसमा झरेको हुनसक्ने हावापानी फिल्ड कार्यालयको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्