हेटौंडामा रन्कियो म्युजिकल नाइट



हेटौंडा, (नेस। नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरञ्जन फोरमले शुक्रबार राति हेटौंडामा आयोजना गरेको म्युजिकल नाइट २०१८ मा हेटौंडेलीको मन जित्दै दैवी प्रकोप राहत कोषका लागि देशका चर्चित कलाकारले सहयोग जुटाएका छन्।

एउटै मञ्चमा पृथक प्रस्तुति पस्किएर कलाकारले सहयोग जुटाएका हुन्। देशभित्र हुने दैवी प्रकोपका लागि महासंघले आफ्नोतर्फबाट सहयोग गर्न खडा गरेको कोषमा रकम संकलनका लागि पहिलोपटक यस किसिमको कार्यक्रम आयोजना गरिएको हो।

नेपाली चलचित्र तथा गीत–संगीत क्षेत्रको प्रवद्र्धन, गीत तथा संगीतका माध्यमबाट स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यसाथ आयोजना गरिएको म्युजिकल नाइटमा अञ्जु पन्त, राजनराज शिवाकोटी र युवराज चौलागाईंले गायकी प्रस्तुत दिएका थिए भने हास्य विधाका चर्चित अनुहार जितु नेपाल र केदार घिमिरे (माग्ने बुढा) को कमेडी र व्यंग्यले पेट मिची–मिची हसाएको थियो।

कार्यक्रममा कलाकारहरू नीर शाह, हरिहर शर्मा, सुनील थापा, दीपाश्री निरौला, आकाश अधिकारी र श्वेता खड्कालगायतले मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए। हास्यकलाकार सीतादेवी घिमिरेले पनि भरपुर मनोरञ्जन दिएकी थिइन्। नायिकाहरू मरिष्का पोखरेल, सुष्मा कार्की, दीपाश्री निरौलाले नृत्य प्रस्तुत गरेका थिए। सुष्माको छुनलाई होइन नृत्यले दर्शकको मन जितेको थियो।

ख्याति कमाएका कलाकारहरूले फोरमले प्रादेशिकस्तरमा हेटौंडामा पहिलोपटक आयोजना गरेको मञ्चमा आफ्ना प्रस्तुति देखाएर हेटौंडेली दर्शकको मन जित्ने प्रयास गरेका थिए। साँझको चिसो चिर्दै कलाकारले प्रस्तुति दिइरहँदा दर्शक हौसिएका थिए। मुलुकभित्र आर्थिक र व्यावसायिक गतिविधि सुस्त रहेको अवस्थामा स्थानीय आर्थिक गतिविधि विस्तारका साथै मुलुकको अर्थतन्त्र चलायमान बनाउने लक्ष्यसाथ महासंघले यस प्रकारका कार्यक्रमलाई विशेष जोड दिएको महासंघ चलचित्र तथा मनोरञ्जन फोरम सभापति आकाश अधिकारीले बताए।

कार्यक्रमलाई आगामी दिनमा सातै प्रदेशमा लैजाने लक्ष्य छ। कार्यक्रमले गीत, संगीत र फिल्म उद्योगलाई दर्शकसँग प्रत्यक्ष जोड्दै देशभर नेपाली कला एवं नेपाली कलाकारको सम्मानका लागि माहोल बनाउने अपेक्षा गरिएको छ। सबै प्रकारका निर्वाचन सम्पन्न भएर मुलुक आर्थिक समृद्धिको एकल सूत्रमा अगाडि बढ्ने तरखरमा रहेको बेला आयोजना भएका यस्ता कार्यक्रमले आर्थिक समृद्धिको अभियान सफल पार्न महत्त्वपूर्ण सहयोग पुर्याउने अपेक्षा महासंघको छ।

प्रतिक्रिया दिनुहोस्