परीक्षणमा असफल क्षेप्यास्त्र उत्तर कोरियाली शहरमै खसे



सोल, (एजेन्सी)
उत्तर कोरियाको एक क्षेप्यास्त्र परीक्षण असफल भए पनि उसकै एक शहरमा खसेको बताइएको छ। लगातार परमाणु तथा क्षेप्यास्त्र परीक्षण गरिरहेको उत्तर कोरियाका लागि यो असफलता उसको हतियार कार्यक्रमका लागि ठूलो धक्काका रूपमा लिइएको छ।

यो घटना सन् २०१७ अप्रिल २८ को भएको जनाइएको छ। अमेरिकी सरकारका सूत्रका अनुसार उक्त क्षेप्यास्त्र परीक्षण ठीक तरिकाले हुन सकेको थिएन र आफ्नो क्षेत्रबाट बाहिर जान सकेन। क्षेप्यास्त्रमा कस्तो गडबडी थियो कसैलाई थाहा नभएको बताइएको छ।

क्षेप्यास्त्र प्रक्षेपणका लागि तयार हुँदा इन्जिनले काम गर्न सकेन र क्षेप्यास्त्र सफलतापूर्वक आफ्नो क्षेत्रबाट बाहिर जान सकेन। क्षेप्यास्त्रमा तरल इन्धन हुने र यसको अर्थ क्षेप्यास्त्र ठोक्किँदा भीषण विस्फोट हुने गर्छ। यसको प्रमाण भू–उपग्रहबाट प्राप्त तस्वीरमा देख्न सकिने हुन्छ। भू–उपग्रहको तस्वीरको आधारमा उक्त क्षेप्यास्त्रको असफल परीक्षणबाट कति नोक्सान भयो भन्ने विषयमा यकिन गर्न गाह्रो हुन्छ। उक्त क्षेप्यास्त्र टोकचोन शहरमा खसेको थियो।

अमेरिकी सुरक्षा अधिकार डेव सिजमर्लले क्षेप्यास्त्रको असफल परीक्षणपछि क्षेप्यास्त्र खसेको स्थानामा ठूलो कालो धब्बा देखिएको थियो। उक्त परीक्षणका बेला प्योङयाङले सधैंजस्तो केही दाबी गरेको थिएन। उत्तर कोरियाको परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले लगातार त्यसको आलोचना गर्दै आएको छ।

ह्वासोङ–१२ नामक यो क्षेप्यास्त्र मध्यम दूरीको थियो। अप्रिलमा असफल भएपछि उक्त क्षेप्यास्त्रको अर्को परीक्षण सोही वर्ष मेमा गरिएको र यसमा सफल भएको थियो। लगातार परमाणु परीक्षण गरेकामा उत्तर कोरियाको विश्व समुदायमा कडा आलोचना भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई ध्वस्त पार्ने धम्कीसमेत दिइसकेका छन् भने संयुक्त राष्ट्र सुरक्षा परिषद्ले उसमाथि एकपछि अर्को आर्थिक प्रतिबन्ध पनि लगाएको छ।

तर पनि उत्तर कोरियाका तर्फबाट परमाणु परीक्षणमा कुनै कमी आएन। नोभेम्बरमा उसले आफ्नो अन्तरमहाद्विपीय क्षेप्यास्त्रको परीक्षण गरेको दाबी गरेको थियो। यसको दायरामा पूरै अमेरिका आउने जनाइएको छ।
नयाँ वर्षको शुरूआतमा उत्तर कोरियाली शासक किम जोङ उनले परमाणु बमको बटन उनको डेस्कमा भएको बताएका थिए। यसको जवाफमा अमेरिकी राष्ट्रपति ट्रम्पले आफूसँग उसको भन्दा ठूलो परमाणु बम भएको र त्यसको बटन आफूसँग भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्