अमेरिकाले दिने सहायता अत्यन्तै सानो हिस्सा होः अब्बासी



इस्लामावाद, (एजेन्सी) अमेरिकाका तर्फबाट आर्थिक सहायता रोक्नुप्रति आश्चर्य व्यक्त गर्दै पाकिस्तानी प्रधानमन्त्री साहिद खाकान अब्बासीले वासिङ्टनको मदत अत्यन्त सानो भएको र आतंकवादसँगको लडाइँको मामिलामा उनको देश सबैभन्दा अगाडि भएको बताए।

गार्डियनलाई दिएको एक अन्तर्वार्तामा अब्बासीले अमेरिकाद्वारा २ अर्ब डलर सहायतामाथि रोक लगाउने समाचार अचम्मित तुल्याउने खालको भएको बताए। किनभने पाकिस्तानले प्राप्त गरिरहेको कुल आर्थिक सहायतामा यो अत्यन्तै सानो हिस्सा हो।

‘मलाई यकिन थाहा छैन, कुन अमेरिकी सहायताको कुरा भइरहेको छ। विगत ५ वर्षमा अमेरिकाका तर्फबाट १ करोड डलर प्रतिवर्ष मदत पाएको छ। यो अन्त्यन्तै सानो राशी हो। त्यसैले, जब मैले अखबारमा अमेरिकी सहायता राशी २५ करोड वा ५० वा ९० करोड डलर रोकेको समाचार पढें, हामीलाई यो मदतको बारेमा थाहै थिएन।’ –अब्बासीले इस्लामावादमा आफ्नो कार्यालयमा बताए।

नयाँ वर्षको शुरूआतमा आफ्नो पहिलो ट्विटमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानलाई सीधै निसाना बनाएका थिए। आतंकवादको मुद्दामा झुठो बोलेको, छल गरेको आरोप लगाउँदै सहायता रोक्ने चेतावनी दिएका थिए। ट्रम्पले ट्विटमा भनेका थिए– ‘उनीहरू ती आतंकवादीलाई सुरक्षित आश्रय दिइरहेका छन्, जसलाई हामी अफगानिस्तानमा खोजिरहेका हुन्छौं। अमेरिकाले विगत १५ वर्षमा पाकिस्तानलाई मूर्ख भएर ३३ अर्ब डलरको सहायता दियो।’

अमेरिकी एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्टअनुसार अमेरिकाले सन् २०१६ मा पाकिस्तानलाई ७७ करोड ८० लाख डलर सहायता दिएको छ। यसमा ३५ प्रतिशत सैन्य सहायताका रूपमा दिइएको थियो। तर पाकिस्तानी अधिकारीहरूले यो राशीमा प्राप्त भएको सहायता अत्यन्त कम छ। उसले चाँडै नै आफ्नो पक्ष पनि राख्ने जनाएको छ।

प्रधानमन्त्री अब्बासीले आतंकवादमा दोहोरो नति लिइरहेका ट्रम्पको आरोप पनि झुठो भएको बताउँदै अस्वीकार गरे। अब्बासीले भने– ‘पाकिस्तान एक सम्प्रभु देश हो र उसले सधैं अन्तर्राष्ट्रिय नियमको पालना गरेको छ। आज आतंकवादविरुद्ध विश्वमा सबैभन्दा ठूलो लडाइँ हामीले लडिरहेका छौं। हामी आतंकविरुद्ध आफ्नो संसाधनको बलमा लडिरहेका छौं। विश्वले यसको सराहना गर्नुपर्छ।’

अब्बासीले भने– ‘आज हामी आतंकवादसँग लडिरहेका छौं। त्यसैले यदि कसैले हामीलाई आतंकवादलाई आश्रय दिइरहेको भन्छ भने त्योभन्दा ठूलो झुठ अर्को हुँदैन। हामीले हरेक क्षेत्रमा अमेरिकालाई सहयोग गरेका छौं।’

प्रतिक्रिया दिनुहोस्