बीपीको साहित्यिक व्यक्तित्व



विश्वेश्वर प्रसाद कोइरालाको नाम झट्ट सुन्दा राजनीतिक युगपुरुषको चित्र मस्तिष्कमा अङ्कित हुन्छ। तर, उनको साहित्यिक व्यक्तित्व त्योभन्दा कम सशक्त र प्रभावशाली छैन। बीपीको साहित्यिक जीवन पनि राजनीतिक जीवनजत्तिकै पुरानो छ। किनभने, उनी झन्डै १० वर्षको उमेरबाट नै टेढीमा रहँदा हिन्दी साहित्यका चर्चित साहित्यकारहरूको रचनामा डुबुल्की मार्न थालिसकेका थिए। रामनरेश त्रिपाठीको ‘पथिक’ खण्डकाव्य, प्रेमचन्दको ‘रङ्गमञ्च’ र ‘रङ्गभूमि’ उपन्यासको अध्ययन गर्न थालेकाले यही समयदेखि नै उनमा विचार र भावनाको गहनता पहिल्याउन सक्ने क्षमताको प्रस्फुटन हुन थालेको सङ्केत पाइन्छ।
बनारसको हरिश्चन्द्र स्कुलमा भर्ना भएपछि भने बीपीको साहित्यप्रतिको अनुराग झन् बढी झाङ्गिएको प्रतीत हुन्छ।

साहित्यजीवनको बिहानीमा उनलाई साहित्यानुरागी शान्तिप्रिय द्विवेदीले साहित्यिक कृतिहरूको अध्ययन र रचनाशिल्पमा समाहित हुन ऊर्जा प्रदान गर्दै साहित्य सृजनाको मैदानमा उत्रने प्रेरणा दिए। यिनले नै बीपीको सम्पर्क रायकृष्ण दास, मैथिलीशरण गुप्त, विनोदशङ्कर व्यास, पे्रमचन्द आदिसँग गराए। उनकै सहयोगले प्रेमचन्दद्वारा सम्पादित साहित्यिक पत्रिका ‘हंस’मा बीपीको पहिलो लघुकथा ‘उहाँ’ वि.सं. १९८७ मा छापियो। सोही पत्रिकामा ‘पथिक’ र ‘अपनी ही तरह’ छापिए। ‘भैयादाइ’ले कलकत्ताको लब्धप्रतिष्ठित पत्रिका ‘विशाल भारत’मा आश्रय पायो भने उनको अर्को कथा ‘होड’ले ‘हिमालय’मा। यस्तै हिन्दीमा लेखिएको उनको कथा ‘कैदी’लाई आफ्नो अङ्कमा कैद गर्यो– इलाहवादबाट निस्कने पत्रिका ‘भविष्य’ले।
बीपीको साहित्यिक चक्षुले उनलाई हिन्दी साहित्यका मात्र होइन, विश्वका ख्यातिप्राप्त साहित्यकारहरूको कृतिमा नजर घुमाउन बाध्य पार्यो। रुसी साहित्यकारहरू टाल्स्टाय, तुर्गनेभ, गोर्कीका कृतिबाट उनी भरपुर रसास्वादन गर्दथे। चेखव, मोपासाँ र भिरक्टर ह्युगोका रचनाले उनको साहित्यिक क्षितिजलाई फराकिलो पार्न कोसेढुङ्गाका रूपमा मद्दत पुर्यायो। उनले फ्रायडका रचनालाई धेरै मन पराए। फ्रायडबाट उनी यति प्रभावित हुन पुगे कि उनका कथा र उपन्यासहरू मनोवैज्ञानिक भावधाराले आलोकित हुन पुगे।

लामो कैदी जीवनको पट्यार लाग्दा क्षणहरूलाई उनले साहित्य सृजनाका लागि उपयुक्त मौका ठानेर उपयोग गरे। यसरी राजनीतिमा जस्तै साहित्यिक क्षेत्रमा पनि शिखर चुम्न उनी सफल भए। राजनीति र साहित्यलाई जीवनरूपी सिक्काका दुई पाटाका रूपमा कसरी दौंतरी बनाएर उनी सार्वजनिक भए त ? उनले यो प्रश्नको जवाफ आफैंले दिएका छन् यसरी– ‘राजनीतिमा म एउटा अन्तःप्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरीत अन्तःप्रेरणाले। म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी।’

(‘राष्ट्रिय जीवनमा विश्वेश्वर प्रसाद कोइराला’ बाट उद्धृत अंश)

प्रतिक्रिया दिनुहोस्