टाढिँदै एमाले माओवादी एकता



मधुसूदन रायमाझी, काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ। पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजक समितिको बैठक बस्न सकेको छैन। केही दिनदेखि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ बन्दा दुई पार्टीबीच शीर्ष तहमा छलफलसमेत हुन सकेको छैन।
– ओली अस्वस्थ, प्रचण्ड चितवनमा
– ओली र प्रचण्डबीच सहमति नहुँदा संयोजक समितिको बैठक अन्योलमा
अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक सातादेखि छलफलसमेत हुन सकेको छैन। नेकपा माओवादी केन्द्रले नयाँ सरकार निर्माण हुनुभन्दा अघि नै पार्टी एकीकरण गर्नुपर्ने निर्णय गरेको छ भने एमाले पार्टी एकीकरण र सरकार निर्माण एकसाथ अगाडि बढाउनुपर्ने पक्षमा देखिएको छ।
पद बाँडफाँडमा अध्यक्ष ओली र प्रचण्डबीच नै सहमति कायम हुन नसकेपछि एकता संयोजक समितिको बैठक अनिश्चित बन्दै आएको छ। ‘प्रचण्डले प्रधानमन्त्री र पार्टी अध्यक्ष रोजेर लिन ओलीलाई आग्रह गरिसक्नुभएको छ’, माओवादी केन्द्रका एक नेताले भने– ‘ओलीले जवाफ दिन ढिलाइ हुँदा एकता संयोजक समितिको बैठक बस्न नसकेको हो। ओली र प्रचण्डबीच नै पद बाँडफाँडमा अलमल हुँदा एकताको प्रक्रिया पनि लम्बिने भएको छ।’
दुई अध्यक्षले पद बाँडफाँडमा मोटामोटी सहमति गरेपछि मात्र एकता संयोजक समितिको बैठक बस्ने तयारी गरेपछि ओली र प्रचण्डको बीचमा नै छलफल हुन सकेको छैन। केही दिनदेखि अस्वस्थ हुनुभएका ओली स्वस्थ्य भए पनि प्रचण्ड चितवनका कार्यक्रममा व्यस्त हुँदा भेटवार्ता हुन सकेको छैन। ओली र प्रचण्डको भेटको समय अझै तय नभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी एकता प्रक्रिया सकारात्मक दिशामा अगाडि बढेको र दुई अध्यक्षको बीचमा कुराकानी भइरहेको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘एकता हुन्छ, एकताका लागि गृहकार्य भइरहेको छ।’ ओली र प्रचण्डबीच पद बाँडफाँडमा सहमति जुट्न नसक्दा निर्वाचन सम्पन्न भएको एक महिनाको अवधिमा पनि पार्टी एकता संयोजक समितिको बैठक बस्न सकेको छैन।
दुई अध्यक्षका बीचमा सहमति जुटेपछि मात्र बाँकी विषयमा छलफल अगाडि बढाउने तयारी एकता संयोजक समितिमा रहेका नेताहरूले गरेका छन्।

नेकपा एमालेका वरिष्ठ नेता एवम् एकता सयोजक समितिका सदस्य झलनाथ खनालले पार्टी एकताका बारेमा कुनै शंका गर्नुपर्ने ठाउँ नरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘एकताका लागि बहस र छलफल भइरहेका छन्, अब छिट्टै एकता संयोजक समितिको बैठक बस्छ।’ उहाँले पार्टी एकता र सरकार गठनको कार्य एकसाथ अगाडि बढाउने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्