सुदूर पश्चिमाञ्चल सुपर लिगमा



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल पुलिस क्लबसँगै सुदूर पश्चिमाञ्चल जारी १६औं राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत सुपर लिगमा पुगेका छन्।

राखेप च्याम्पियनसिपअन्तर्गत आयोजना भएको सो लिगमा बिहीबार सम्पन्न खेलमा सुदूरले मध्यमाञ्चललाई १–० ले हराएको हो। टोलीको जितमा किरण चौधरीले खेलको सातौं मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो। सुदूर दुई खेलको जितसँगै सुपर लिगमा समूह ‘ए’को उपविजेता टोली बन्दै पुग्यो भने शीर्ष टोली पुलिसले तीनै खेल जितेको थियो। प्रतियोगितामा सुपर लिगमा पुग्नेमा सुदूर एक मात्र क्षेत्रीय टोली पनि हो।

अर्को खेलमा पुलिसले पूर्वाञ्चललाई ५–० गोलले हराउँदा निर्मला विकेले ह्याट्रिक गरेकी थिइन्। उनले टोलीलाई खेलको चौथो मिनेटमै अग्रता दिलाइन्। त्यस्तै अर्को दुई गोल पनि पहिलो हाफमै गरेर उनले ह्याट्रिक पूरा गरिन्। उनले १५औं र ४२औं मिनेटमा गोल गरेकी थिइन्। त्यस्तै निरु थापाले दुई गोल गर्ने क्रममा ७७औं र अन्तिम मिनेटमा जाली चुमाएकी थिइन्। समूह ‘बी’बाट त्रिभुवन आर्मी र एपीएफ पहिल्यै सुपर लिगमा पुगिसकेका छन्। आज यी टोलीले शीर्ष स्थानका लागि खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्