दिउँसो पनि बलिराख्ने सडक बत्ती हटाउन शुरू



नेपाल समाचारपत्र
काठमाडौं
मितव्ययिता नपनाउने तराई क्षेत्रका सडक बत्तिको बल्ब हटाउने अभियानमा नेपाल विद्युत् प्राधिकरण लागेको छ। दिउँसोमा पनि सडक बत्ति बालेर लापबाही गरेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तराईका विभिन्न क्षेत्रको सडक बत्तिको बल्ब हटाउन शुरू गर्नुभएको हो।

सडक बत्तिबाट विद्युत् चुहावट भइरहेको र राजस्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक बत्ति निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिनुभएको प्राधिकरणले जनाएको छ। घिसिङले जनकपुर तथा हेडौडा क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रको आइतबार, सोमबार र मंगलबार स्थलगत निरीक्षण गर्नुभएको थियो। ‘त्यस क्षेत्रका नगरपालिकाले राखेका सडक बत्ति दिनभर बल्दा रहेछन्, यसबाट एकातर्फ प्राधिकरणले राजस्व गुमाएको छ भने अर्कोतर्फ ऊर्जा खेर गइरहेको छ,’ उहाँले भन्नुभयो–‘बत्ति निभाउन नगरपालिका र बासिन्दासमेतले पहल गर्नु पर्यो, अब त्यस्ता बत्ति निकाल्न अभियान नै शुरू गरिसकेका छौं।’

उहाँले दिउँसो बलिरहने सडक बत्ति निभाइदिएर ‘उज्योलो नेपाल’ अभियानलाई सफल बनाउन सहयोग गरिदिन आग्रहसमेत गर्नुभयो। प्राधिकरणको हेटौडा क्षेत्रीय कार्यालयअन्तर्गतका भरतपुर तथा वीरगंज महानगरपालिका, हेटौडा उपमहानगरपालिका, गौर, कलैया, लगायतका नगरपालिकाले विद्युतको पोलमा झुण्डाएर सडक बत्तिका बल्ब दिनभर बलिरहेको भटिएको जनाएको छ।

त्यस्तै जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतको जनकपुर उपमहानगरपालिका, जलेश्वर नगरपालिका, मलंगवालगायतका नगरपालिकाले राखेका सडक बत्ति दिनभर बलिरहेका छन्।प्राधिकरणले भन्यो– ‘धेरै ठाउँमा बत्ति बाल्न तथा निभाउन स्वीचसमेत राखिएको छैन। कतिपय स्थानमा प्राधिकरणसँग स्वीकृति नलिई स्थानीय निकायले आफूखुशी बत्ति राखेका कारण स्वीचसमेत नराखिएको हो।’

सडक बत्ति रातको समयमा मात्रै बालिने भएकाले त्यस्ता सडक बत्तिको १२ घण्टाको मात्रै बिलिङ हुने गरेको प्राधिकरणले जनाएको छ। नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा भित्री सडकमा बत्ति राख्ने तर त्यसलाई ननिभाउँदा विजुली चुहावट भई प्राधिकरणले करोडौं रुपियाँ राजस्व गुमाइरहेको छ।

प्राधिकरणका अनुसार जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्यमा आपूर्ति पुग्दैन। एकातर्फ दिनभर सडक बत्ती बल्दा उत्पादनमा दबाब पर्छ भने अर्कोतर्फ भारतबाट बढी आयात गर्नुपर्छ।‘निर्वाचित जनप्रतिनिधि आएपछि सडक बत्ति राख्न प्रतिस्पर्धा नै चलेको छ। तर, हामीसँग समन्वय नै नगरी हचुवाको भरमा जथाभावी सडक बात्ति राखिएको छ, निभाउन तथा बाल्न स्वीचसमेत राखिएको छैन,’ प्राधिकरणले जनाएको छ।

सडक बत्ति दिनभर बल्ने सबैभन्दा ठूला समस्या जनकपुरमा छ। जनकपुर बितरण केन्द्रको विद्युत् चुहावटमा सडक बत्तिको हिस्सा करिब एक प्रतिशत रहेको अनुमान गरिएको छ। जनकपुर वितरण केन्द्रको कार्यालय अगाडि नै राखिएको सडक बत्ति दिनभर बलिरहन्छ। त्यसलाई न त जनकपुर उपमहानगरपालिकाले निभाउँछ न प्राधिकरणका कर्मचारीले नै। स्वीच राखिएको ठाउँका सडक बत्तिसमेत दिनभर बलिरहने गरेको जनकपुर क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले स्वीकार गर्नुभयो। उहाँले भन्नुभयो–‘सडक बत्ति निभाउन भनिरहेका छौं तर हाम्रो प्रयास प्रभावकारी हुन सकिरहेको छैन,’

प्रतिक्रिया दिनुहोस्