ककपिटभित्रै पाइलटबीच झगडा



मुम्बई, (एजेन्सी)
जेट एयरवेजले बेलायतको राजधानी लन्डनबाट भारतीय शहर मुम्बईतर्फ उडेको विमानको ककपिटभित्रै झगडा गरेको आरोपमा दुई जना पाइलटलाई बिहीबार ग्राउन्डेड गरेको छ। इन्डियन एयरलाइनले नयाँ वर्षको दिवा उडानको क्रममा ककपिटका चालक दलबीच असमझदारी भएको पुष्टि गरेको छ।

साथै उक्त एयरलाइनले ती चालक दलका सदस्यलाई कामबाट हटाइएको तर अनुसन्धान रोकिएको पनि जनाएको छ। तर ३ सय २४ जना यात्रु बोकेको सो विमान मुम्बइमा सुरक्षित ढंगले अवतरण भएको थियो।

प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले पुरुष पाइलटले महिला पाइलटलाई गालामा थप्पड हानेपछि विवाद सृजना भएको जनाएको छ। ती महिला पाइलटले रुँदै ककपिट छोडेर हिँडे पनि उनका अन्य सहकर्मीहरुले पछि उनलाई फकाएर ककपिटभित्र लगेका थिए।

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए)का एक जना अधिकारीले पुरुष पाइलटले सुरक्षा नियम उल्लंघन गर्दै सो घटनाका बेला दुईपटक ककपिट त्यसै छोडेर हिँडेको पीटीआई समाचार निकायलाई बताएका छन्।

जेट एयरवेजका प्रवक्ताले बीबीसीसमक्ष घटनाको पुष्टि गरे पनि घटनाबारे विस्तृत विवरण दिएको छैन। तर यस एयरलाइन्सले सुरक्षा नियमसँग खेलाँची गर्ने कुनै पनि कर्मचारीलाई कुनै हालतमा पनि नछोडिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्