२०१७ मा संन्यास लिएका चर्चित फुटबलर



कविरस शर्मा

जे–जस्तो विषय भए पनि उदाउने र अस्ताउने प्रक्रिया चलिरहन्छ। यो प्रक्रिया सबैतिर लागू हुन्छ। हरेक क्षेत्रझैं खेलकुदमा पनि वर्षैपिच्छे खेलाडी उदाउने र अस्ताउने गरेका छन्। यसै सन्दर्भमा सन् २०१७ मा आफ्नो सक्रिय खेल जीवनलाई पूर्णविराम लगाएका खेलाडी छन्। फुटबलबाट अस्ताएका केही विश्व चर्चित हस्तीका बारेमा यहाँ छोटो जानकारी प्रस्तुत गरिएको छ।

फिलिप लाहम
जर्मनीको सबैभन्दा सफल फुटबल क्लब बायर्न म्युनिखको स्टेडियमबाट गत मेमा फुटबलबाट बिदा लिएको अर्को नाम हो फिलिप लाहम। हुन त जर्मनीको राष्ट्रिय टिमका पूर्वकप्तान लाहम त्यसअघि नै अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भइसकेका थिए। उनले १ सय १३ म्याचपछि जर्मनीको राष्ट्रिय टोलीबाट बिदा लिएका थिए। सन् २०१४ को फिफा विश्वकप जर्मनीले उचाल्दा उनले टिम कप्तानका रूपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

डिफेन्समा पर्खालसरह बन्ने फुलब्याक लाहम परिआएको बेला मिडफिल्डमा समेत जम्न सक्ने खुबी भएको खेलाडीमा गनिन्छन्। विशेषतः पेप ग्वार्डियोलाले बायर्न म्युनिखको प्रशिक्षण सम्हाल्दा उनी म्युनिखको मिडफिल्डमा पनि जमेका थिए। आफ्नो सक्रिय खेल जीवनमा ३४ वर्षीय लाहमले बायर्न म्युनिखलाई ८ पटक जर्मन बुन्डेसलिगाको उपाधि र ६ पटक डीएफबी पोकल्स तथा च्याम्पियन्स लिगको उपाधि दिलाएका छन्। लोनमा म्युनिखबाट २ वर्षका लागि स्टुटगार्टमा समेत आबद्ध भएका उनी बायर्नका हल अफ फेमर हुन्।

जाबी एलोन्सो
स्पेनको राष्ट्रिय टोलीका पूर्वमिडफिल्डर जाबी एलोन्सोले पनि बायर्न म्युनिखबाट नै आफ्नो खेल जीवन त्यागेका हुन्। फुटबलबाट संन्यास लिएका उनले १८औं सिजन पूरा गरेका थिए। लिभरपुल, रियल मेड्रिड हुँदै उनले बायर्न म्युनिखमा आफ्नो १८औं सिजन र खेल जीवन टुंग्याएका हुन्।

सटिक पास उपलब्ध गराउन माहिर ३६ वर्षीय एलोन्सोले सन् २००५ को च्याम्पियन्स लिगअन्तर्गत लिभरपुल र एसी मिलानविरुद्धको खेल अविस्मरणीय बनाएको छ। लिभरपुलले टाइब्रेकरमा ३–२ ले जितेको उक्त खेलको पहिलो हाफसम्म ३–० ले पछि परेको लिभरपुललाई दोस्रो हाफमा बराबरीमा ल्याउन उनले तेस्रो गोल फर्काएका थिए।

योबाहेक एलोन्सो सम्मिलित टोलीले सन् २०१४ मा ला डेसिमा जित्नुका साथै तीनपटक जर्मन बुन्डेसलिगा, दुईपटक ला लिगा, युएफा सुपरकप, एफए कप, कोपा डेल रे, डीएफबी पोकल, डीएफएल सुपरकप, सुपर कोपा डे इस्पाना र कम्युनिटी शिल्डको उपाधि जितेका छन्।

स्पेनिस राष्ट्रिय टोलीबाट पनि १ सय १४ म्याच खेलेका एलोन्सोको योगदान अतुलनीय छ। सन् २००८ देखि २०१२ सम्ममा स्पेनले दुईपटक युरोपियन कप र एकपटक फिफा विश्वकप जित्दा उनी स्पेनका महत्त्वपूर्ण खेलाडी बनेका थिए।

फ्रान्सिस्को टोट्टी
‘द फेस अफ रोम’ र ‘वान क्लब म्यान’ बाट परिचित छन् इटालियन फुटबलका हस्ती फ्रान्सिस्को टोट्टी। गत मेमा इटालियन क्लब एफसी रोमाबाट अन्तिम म्याच खेलेपश्चात् उनले स्टडियो ओलम्पिकको रंगशालाबाट आँशु झार्दै फुटबलबाट संन्यासको घोषणा गरेका थिए।

उनले कुल ७ सय ८६ म्याचमा ३ सय ७ गोल गर्दै फुटबलबाट बिदा लिएका हुन्। यतिमात्र होइन, सन् २००६ मा इटालीले चौथोपटक फिफा विश्वकपको उपाधि जित्दा उनी टिमका महत्त्वपूर्ण सदस्य थिए। योबाहेक सन् २०००⁄२००१ सिजनमा रोमालाई इटालियन सिरी ए उपाधि दिलाउँदा उनको भूमिका अविस्मरणीय बनेको थियो।

२५ वर्ष सक्रिय फुटबल करिअरमा उत्कृष्ट प्रदर्शन गरे पनि उनको पोल्टामा भने उपाधि संख्या भने कमैमात्र रहेको छ। इटालियन सिरी ए मा २ सय ५० गोल कटाउने उनी २ सय ७४ गोल गरेका सिल्भियो पियोलापछि दोस्रो स्थानमा रहेका छन्। खेलाडी जीवनबाट बिदा लिए पनि ४० वर्षीय टोट्टी हाल रोमाको निर्देशकका रूपमा फुटबलसँग जोडिएका छन्।

फ्रान्क लाम्पार्ड
इंग्ल्यान्डका हाई प्रोफाइल खेलाडीमध्ये एक हुन् मिडफिल्डर फ्रान्क लाम्पार्ड। गत फेब्रुअरीमा उनले फुटबलबाट बिदा लिएका हुन्। अमेरिकाको मेजर लिग सकरअन्तर्गत न्युयोर्कबाट उनले आफ्नो अन्तिम म्याच टुंग्याएका थिए।

३९ वर्षीय चेल्सीका पूर्वस्टार लाम्पार्ड वेस्टह्याम युनाइटेडको युथ एकेडेमीबाट उदाएका हुन्। १३ वर्ष चेल्सीमा बिताउँदा उनी सम्मिलित टोलीले ३ पटक इंग्लिस प्रिमियर लिगको उपाधि, ४ पटक एफए कप, ईएफएल कप र च्याम्पियन्स लिगको उपाधि उचाले। उनी दुईपटकसम्म चेल्सीको सर्वाधिक गोलकर्ता सूचीमा अटाएका थिए। यतिमात्र होइन इंग्ल्यान्डको राष्ट्रिय जर्सीमा १ सय ६ खेलमा उनले २९ गोल गरेका छन्।
यीबाहेक सन् २०१७ मा फुटबलबाट संन्यास लिने अन्य सम्झनलायक फुटबलरमा डर्क कुएट, भिक्टर भाल्डेज, मार्टिन डेमिचेलिस र अल्भारो अर्बेलो रहेका छन्।

आन्द्रे पिर्लो
‘नो पिर्लो, नो पार्टी’ यो भनाइ फुटबलमा २२ वर्ष समय खर्चेका आन्द्रे पिर्लोको सम्मानमा इटालियनबीच प्रचलित छ। इटालियन फुटबलका लेजेन्ड पिर्लोले गत नोभेम्बरमा सक्रिय खेल जीवनबाट संन्यासको घोषणा गरेका हुन्। पिर्लोले करियरको अन्तिम खेल अमेरिकी मेजर लिग सकरअन्तर्गत न्युयोर्क सिटीबाट समाप्त गरेका हुन्। आफ्नो सक्रिय खेलजीवनमा उनले आफ्नो टोलीलाई थुप्रै उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेका थिए। जर्मनीमा सम्पन्न सन् २००६ को फिफा विश्वकपको उपाधि इटालीले जित्दा उनको भूमिका अतुलनीय रहेको थियो। त्यसबाहेक एसी मिलानलाई दुईपटक च्याम्पियन्स लिग दिलाउँदा मिडफिल्डमा उनले प्रमुख भूमिका निभाएका थिए। एसी मिलानबाहेक रोजोनेरी र युभेन्ट्सबाट गरी ६ पटक इटालियन सिरी ए को उपाधि उनले उचालेका छन्। ३८ वर्षीय पिर्लोले इटालियन राष्ट्रिय जर्सीमा १ सय १६ म्याचमा १३ अन्तर्राष्ट्रिय गोलसमेत आफ्नो नाममा लेखाएका छन्।

काका
बेलोन डे ओर अवार्ड, च्याम्पियन्स लिग, फिफा विश्वकप, इटालियन सिरी ए, फिफा क्लब विश्वकप, युएफा सुपरकप, कोपा डेल रे कप र सुपर कोप्पा इटालियाना प्रतियोगिताको सूची लामो छन्। यी सबैको उपाधि उचाले ब्राजिलियन फुटबल हस्ती काकाले। ३५ वर्षीय काकाले गत डिसेम्बरमा सक्रिय खेल जीवनबाट बिदा लिइसकेका छन्। खेल जीवनको उत्तराद्र्धमा अमेरिकाको प्रतिष्ठित घरेलु फुटबल मेजर लिग सकर (एमएलएस) अन्तर्गत ओरल्यान्डो सिटीसँग आबद्ध उनले आफ्नो सम्झौता अवधि समाप्त भएलगत्तै फुटबलबाट संन्यासको घोषणा गरेका हुन्।

काकाले आफ्नो करियरलाई निक्कै झकिझकाउ बनाएका छन्। इटालियन सिरी ए क्लब एसी मिलानलाई च्याम्पियन्स लिग, सुपर कप र फिफा क्लब विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेर सन् २००७ मा उनले बेलोन डे ओर अवार्ड प्राप्त गरेका थिए। प्ले मेकर काकाले ब्राजिलको राष्ट्रिय जर्सीमा पनि गर्विलो इतिहास रचेका छन्। ब्राजिलबाट ९२ अन्तर्राष्ट्रिय म्याच खेलेका उनले २९ गोल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्