शाहरुख जिरो!



बलिउड नायक शाहरुख खानको पछिल्ला केही फिल्म लगातार फ्लप भइरहेका छन्। त्यस कारण पनि उनी त्यस्तो फिल्मको खोजीमा छन्, जुन फिल्मले उनको स्टारडमलाई बचाइराखोस्।

यही क्रममा उनले निर्देशक आनन्द एल राएसँग दोस्ती अडाडि बढाएका थिए। फलस्वरूप उनी अब नयाँ फिल्म जिरो लिएर आउँदै छन्। मानिसमा कौतुहलता थियो कि यति ठूलो हिरोको फिल्मको नाम कसरी जिरो भयो। हालै रिलिज भएको यो फिल्मको टिजर र पोस्टरले भने यो प्रश्नको जवाफ मज्जैले दिएको छ। यसबाट उनले दर्शकको सराहना बटुल्न सफल पनि भएका छन्। उनी फिल्ममा होचा व्यक्तिको भूमिकामा देखिएका छन्। त्यसो त उनले आफ्नो फिल्मी करिअरमा हरेक प्रकारको भूमिका निर्वाह गर्दै आएका छन्। तर, यस्तो खालको भूमिका भने पहिलोपटक निर्वाह गरेका हुन्। उनले पोस्टर तथा ट्रेलर रिलिजको क्रममा भनेका छन्– ‘हामी जसको पछि लाग्छौं, लाइफ बनाइदिन्छन्।’ फिल्ममा उनको रूप मन पराइएपछि अब दर्शक उनको फिल्म रिलिजको पर्खाइमा छन्।

निर्देशक आनन्द एल रायका अनुसार जिरोलाई सेलिब्रेट गर्न चाहन्थे। ‘एक अपूर्ण व्यक्ति हुनु कुनै ठूलो कुरा होइन। अधुरो हुनुका बीच पनि आफ्नै सुन्दरता छ’ –निर्देशक रायले भनेका छन्। यस फिल्ममा शाहरुखको साथमा कट्रिना कैफ, अनुश्का शर्मा आदिको अभिनय रहेको छ। फिल्म डिसेम्बर २१ मा रिलिज हुँदै छ।

प्रतिक्रिया दिनुहोस्