केन्याबाट ७ नेपाली महिलाको उद्धार



काठमाडौं, (नेस)
वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली महिलालाई भारतले उद्धार गरेको छ। ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताउनुभएको छ।

मानव तस्करीमा संलग्न गिरोहले केन्याको बन्दरगा शहर मोम्बासामा भारतीयसहित नेपाली महिलालाई बन्दी बनाएको थाहा पाएपछि उद्धार गरिएको स्वराजले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिनुभएको छ। ‘हामीले ३ जना भारतीय युवतीलाई उद्धार गरेका छौं, ७ जना नेपाली युवती पनि उद्धार गरिएका छन्।’ –स्वराजले ट्वीटरमा उल्लेख गर्नुभएको छ।

संगठित मानव तस्कर समूहको फन्दामा परेर उद्धार गरिएका नेपाली र भारतीय महिलालाई भारत ल्याउने तयारी भइरहेको बताइएको छ। तर उद्धार गरिएका नेपालीबारे सरकारले बिहीबार अबेरसम्म विस्तृत सूचना पाउन सकेको छैन। यसबारेमा जिज्ञाशा राख्दा परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले खबर थाहा पाउनेबित्तिकै दक्षिण अफ्रिकामा रहेको नेपाली दूतावासमार्फत सूचना लिने प्रयास भए पनि बिहीबार अबेरसम्म विस्तृत सूचना नआएको बताउनुभयो।

‘त्यस्तो खबर थाहा पाउनेबित्तिकै मन्त्रालयले दक्षिण अफ्रिकामार्फत खबर बुझ्ने प्रयास जारी राखेको छ’, उहाँले भन्नुभयो– ‘अफ्रिकी दूतावासले केन्यामा रहेका अवैतनिक नेपाली वाणिज्यदूतमार्फत पनि सूचना लिने प्रयास गरेको छ।’ मन्त्रालयकै एक उच्च स्रोतका अनुसार केन्यामा बन्धक बनाइएका नेपाली महिला स्थानीय डान्स बारमा काम गर्नेहरू हुन्।

प्रतिक्रिया दिनुहोस्