सर्वदलीय बैठकमा पुगेन ‘भ्यागुताको धार्नी’



नेपाल समाचारपत्र
काठमाडौं
राजनीतिक निकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन। प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा सहमति निर्माण गर्न बसेको सर्वदलीय बैठकमा सहमति जुट्न नसकेको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलको सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताहरूले नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउन मार्ग प्रशस्त गर्नुपर्ने विषयमा जोड दिएका थिए। प्रधानमन्त्री देउवालाई वाम गठबन्धनका नेताहरूले सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने काम आफ्नो ढंगले चाँडो गर्न आग्रह गरेका थिए।

राष्ट्रियसभाको निर्वाचनको विषयमा पनि सर्वदलीय बैठकमा कुनै सहमति जुट्न सकेन। वाम गठबन्धनका नेताहरूले सरकार तत्काल छोड्ने विषयलाई जोड दिए पनि राष्ट्रियसभाको निर्वाचन र प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्ने विषयमा सहमति नजुटेपछि बैठकबिना निष्कर्ष सकिएको थियो।

बैठकपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नयाँ जनादेश आइसकेको अवस्थामा सत्ता हस्तान्तरणलाई ढिलाइ गरेकोप्रति आफूहरूले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको बताउनुभयो।

‘प्रतिनिधिसभाको समानुपातिकको परिणाम रोकाउने काम भएको छ, हामीले निर्वाचनअघि नै प्रदेशको राजधानी र प्रमुखबारे निर्णय गर्न माग गर्दा कुनै सुनुवाइ नै भएन’, उहाँले भन्नुभयो– ‘अब सत्ता हस्तान्तरणका लागि गर्नुपर्ने संवैधानिक र कानुनी काम सरकारले चाँडो गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई भन्यौं।’

बैठकमा वाम गठबन्धनका नेताहरूले प्रधानमन्त्री देउवाको आलोचना गरेका थिए। वाम गठबन्धनका नेताहरूले सरकारले दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न चेतावनी दिँदै सरुवा बढुवा नगर्न आग्रह गरेका थिए। उपाध्यक्ष रावलले सरकारले निर्वाचन आयोगलाई दबाब दिएर नै निर्वाचनको परिणाम रोकाएको दाबी गर्नुभयो।

बैठकपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले आवश्यक गृहकार्य गरेर प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने बताउँदै राष्ट्रियसभाको निर्वाचनको मिति तोक्न सरकारले निर्वाचन आयोगसँग परामर्श गरिरहेको बताउनुभयो।

एमाले नेताहरूले काम चलाउ सरकारले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेभन्दा पनि नियुक्ति सरुवा बढुवा र राज्यकोषबाट करोडौं रुपियाँ सत्ताधारीलाई बाँड्ने काम गरेकोप्रति प्रधानमन्त्री देउवासँग असन्तुष्टि जनाएका थिए। तर देउवाले एमालेका नेताहरूले लगाएको आरोपको खण्डन गर्दै आफूले कुनै गलत निर्णय नगरेको दाबी गर्नुभएको थियो।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्दै सरकारले सत्ता हस्तान्तरणका लागि ढिलाइ गरे त्यसको जवाफ दिने बताउनुभएको थियो।

बैठकमा कांग्रेसका सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री डां शशांक कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कांग्रेस नेताहरू विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौला, एमालेका उपाध्यक्ष रावल, नेताहरू सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र अग्नि खरेल, संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ तथा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, राजकिशोर यादवलगायतका नेताहरूको सहभागीता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्