शहर–बजारका अस्तव्यस्त तार हटाऊ



राजधानी काठमाडौंमा विद्युत्का पोलहरुमा केबल, विद्युत्, फोनलगायतका तारहरु छरपस्टै रहेका छन्। यस विषयमा सरकारी निकायको ध्यान जान सकेको छैन। उपत्यका मात्रै हैन, देशैभरिका शहर तारको सञ्जालमा छन्। अव्यवस्थितरुपमा बिच्छ्याइएका तारले कतिपय ठाउँमा मान्छेको ज्यानै लिएको घटना पनि देखिएको छ। जमिनमुनिको तार राखिएको ठाउँमा पनि सुरक्षित नभएको कुरा बाहिर आइरहेका छन्। कहाँ तार छ भन्नेसम्म पनि विद्युत् प्राधिकरण र दूरसञ्चार कम्पनीहरुलाई थाहा नहुनु दुर्भाग्यको कुरा हो। यसबाट हुने हानि नोक्सानीलाई कसले जिम्मा लिने ?

यो एउटा निकै संवेदनशील र महत्वपूर्ण विषय हो। नेपाल सरकारका सम्बन्धित निकायले यो विषयमा छिटोभन्दा छिटो पहल गर्नु जरुरी रहेको छ। नेपाल टेलिकम, विद्युत् प्राधिकरण, केबल कम्पनी सबैले व्यवस्थितरुपमा तारको व्यवस्थापन गर्न जरुरी रहेको छ। देशैभरिका तार व्यवस्थित गर्ने अभियान अहिलेसम्म चलाएको पाइएको छैन। राजधानीका सडकमा झन्डै ५० देखि ६० वटासम्म विभिन्न आईएसपी र केबल वितरकका तार अव्यवस्थित छन्। राजधानीमै यस्तो भएपछि अन्य शहरको हबिगत अनुमान आफैं गर्न सकिन्छ।

राजधानीका पोलमा राखिएका तारमा पहिचान राख्ने र पहिचान नभएका तार काट्ने अभियान शुरुवात गरिएको भनिए पनि त्यसको कुनै टुंगो लागेको देखिँदैन। यस कामको बारेमा प्रगति सुन्न पाइएन। राजधानीका विद्युत्का पोलहरुमा रहेको तारले शहर कुरुप भएको छ। धेरै पहिलेदेखि राजधानीको त्रिपुरेश्वर–कंलकी सडकमा तार अन्डरग्राउन्ड गर्ने योजना शुरु भएको थियो। त्यो काम अहिले पनि अलपत्र नै छ। त्रिपुरेश्वरमा मन्त्रालयले केही समयअगाडि हटाएको तार देखावटीका लागि भयो, त्यसपछि कुनै काम भएन। कालिमाटीमा सडक विस्तारले त्रिपुरेश्वर–कलंकी सडकमा अन्डर ग्राउन्ड अझै गर्न सकेको छैन। यो विषयमा सरकारसहित सम्बन्धित निकायको ध्यान जानु जरुरी छ।
– अनुपराज कर्माचार्य,
सातदोबाटो, ललितपुर

कुरा नारायणगढ–मुग्लिन सडकको
निर्माणको क्रममा रहेको नारायणगढ–मुग्लिन सडकमा केही समय यातायात बन्द गरेर मर्मत गरिंदै छ। बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको सुधारका लागि मर्मत सम्भार मात्रै नभएर चौडा पनि बनाउनुपर्ने अवस्था छ। अहिले यो सडकखण्डमा दैनिक ९ हजारदेखि ११ हजार सवारीसाधन आवतजावत गर्ने गरेको पाइएको छ। दैनिक यसरी नै सवारीसाधनको चाप तीव्ररुपमा बढ्ने क्रम जारी नै छ। यसै गरी सवारीसाधनको चाप बढ्ने हो भने अबको पाँच वर्षभित्र यस सडकखण्डमा सवारीसाधनको चाप १५ हजारसम्म नपुग्ला भन्न सकिन्न। त्यसका लागि अहिलेबाटै बाटोको सुधार र चौडामा ध्यान दिनु जरुरी हुन्छ। सामान्य मर्मतबाहेक बाटोमा अझैसम्म पनि केही सुधार हुन सकेको छैन। हाल विस्तार भइरहेको सडकलाई हेर्ने हो भने अबको पाँच वर्षपछि सवारीको चाप थेग्न नसक्ने देखिएको छ। यस्तो अवस्थामा भविष्य सोचोर काम गर्नु जरुरी देखिन्छ।

नारायणगढ–मुग्लिन सडकखण्डको विकल्पको रुपमा धादिङको मलेखुबाट चितवनको भण्डारा जोड्ने ग्रामीण सडकलाई विस्तार गर्न आवश्यक देखिएको छ। अर्को विकल्पका रुपमा मुग्लिनबाट देवघाट हुँदै नवलपरासीको गैंडाकोटसम्मलाई पनि बनाउन सकिन्छ। यस्ता खालका दुई विकल्पले काम गर्ला वा नर्गला, कुनै ठेगान छैन। यो विययमा विस्त्रित अध्ययन हुन जरुरी देखिएको छ।

अहिलेको अवस्थामा नारायणगढ–मुग्लिन सडक काहाली नै लाग्ने खालको छ। सडकमा सवारी बढी गुड्ने हुँदा काम गर्न पनि सहज नहुने र छिटो निर्माण गर्न नसकिने अवस्था छ। हालको नारायणगढ–मुग्लिन सडकलाई विस्तार गर्न कठिन हुँदा विकल्पका रुपमा मानिएको भए पनि धेरै फराकिलो भने सो सडक बनाउन कठिन देखिएको छ। विकल्पका सडकलाई गाडी हिँड्ने बनाउन र विकल्पको रुपमा प्रयोग गर्न सरकारले पहल गर्नु जरुरी छ। पश्चिमबाट आउने सवारीलाई सो सडक प्रयोग गरेर, पूर्वबाट आउने सवारीलाई भण्डारा–मलेखु सडक प्रयोग गर्दा सवारी चाप व्यवस्थापन गर्न सकिन्छ। यसलाई व्यवस्थितरुपमा काम गर्नु जरुरी रहेको छ। नारायणगढ–मुग्लिन सडक निकै जोखिमपूर्ण रहेको छ। जोखिम कम गर्न मात्रै हैन, जाम कम गर्न पनि विकल्पका सडकले काम गर्नेछ। यस्तो सडकमा जोखिमपूर्ण यात्रा आखिर कहिलेसम्म ? यसमा पनि सरकारको ध्यान जाओस्। यसलाई सरकारले मुख्य कामको रुपमा लिएर काम थालोस्।
–विष्णु पौडेल, चितवन

प्रतिक्रिया दिनुहोस्