आगलागीको पीडामा चीसो थपियो



हेटौंडा, (नेस) । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८, इपापञ्चकन्या चन्द्रामकी एकल महिला पञ्चमाया भोलनको घर आगलागीले नष्ट भयो । पुस १४ गते बेलुका करिब साढे ७ बजे अचानक घरमा लागेको आगोले घरगोठ नष्ट ग¥यो ।
आगलागीबाट घर नष्ट भएपछि कठ्यांग्रिदो चिसोमा उहाँको बास टहरामा भएको छ । आगलागीबाट घरमा रहेका खाद्यान्न, लत्ताकपडा तथा पशुपक्षी गरी करिब ९ लाख रुपियाँ बराबर क्षति भएपछि उहाँलाई अहिले आफ्नो सर्वस्व गुमेको लागिरहेको छ । ‘सम्पत्ति भन्ने एउटा घर थियो, त्यो पनि आगोले खायो,’ उहाँले भन्नुभयो–घरमात्र जलेन, मलाई त मेरो सर्वश्व नै गुम्यो जतिकै भइरहेको छ ।
आगलागीमा परी खाद्यान्न, लत्ताकपडा सबै नष्ट भएपछि आफ्नो दैनिकी कष्टपूर्णरुपमा बितिरहेको उहाँको दुःखेसो छ । ‘खानेकुरा नभए पनि जाडोमा न्यानो कपडा भएको भए छोरीहरुलाई सजिलो हुने थियो,’ उहाँले पीडा पोख्नुभयो–आपत पनि बेसाहारालाई नै आइलाग्दो रहेछ ।
तीन वर्षअघि पति गुमाउनुभएकी पञ्चमायालाई यतिबेला आगोले घर जल्दा साहारा गुम्यो भन्ने लागेको छ । आफ्ना लागिमात्र सोचेर भएन, दुई बालिका छोरीको भविष्यको चिन्ता छ । बासकै टुंगो नभएको बेला छोरीको शिक्षादीक्षा लगायतमा आफूले कसरी ध्यान दिने भन्ने चिन्ताले सताइरहेको उहाँले दुःखेसो गर्नुभयो ।
आगलागीबाट घर पूर्णरुपमा जलेपछि स्थानीयले जस्तापाताले बेरबार पारेर बनाइदिएको अस्थायी टहरामा दुई छोरीसहित उहाँ बसिरहनुभएको छ । खाद्यान्न, भाँडाकुडा तथा लत्ताकपडा आवश्यक परेको उहाँले सुनाउनुभयो ।
आगलागीका कारण उहाँ समस्यामा परेको जानकारी पाएर सहयोग गर्न पुग्नुभएकी भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती राना उहाँको अवस्था देखेर चिन्तित बन्नुभयो । ‘पति गुमाएर छोरीहरुलाई साहारा दिनुपर्ने आमा आफैं आपतमा परेको देख्दा कसको पो मन नरोला र ?,’ उहाँले भन्नुभयो–हामीले पनि तत्काल गर्न सकिने सहयोग ग¥यौं ।
उपाध्यक्ष रानाले तत्कालका लागि राहत होस् भनेर दाल, चामल, नुन र तेललगायत खाद्यान्न तथा केही लत्ताकपडा सहयोग गरिएको बताउनुभयो । वडा नम्बर–८ अध्यक्ष जगतमान घिसिङ, वडा नम्बर–५ अध्यक्ष जारसिं लामा, वडा नम्बर–६ का अध्यक्ष सीताराम थापासहित पुग्नुभएकी उपाध्यक्ष रानाले पञ्चमायाको दुःखमा आफू साथ रहने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्