प्रधानमन्त्रीले बोलाए आज साँझ सर्वदलीय बैठक



नेपाल समाचारपत्र, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

उनले हालैसम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा दलीय हैसित प्राप्त गर्ने दलहरुका शीर्षनेताहरुलाई बालुवाटारमा डाकेका हुन् । निर्वाचन पश्चात दलीय असमझदारी बढेका बेला प्रधानमन्त्री देउवाले राष्ट्रियसभाको निर्वाचन र प्रदेश प्रमुख नियुक्ति विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरमका शीर्ष नेताहरुलाई उक्त विषयमा छलफल गर्न प्रधानमन्त्रीले बोलाएका जनार्इएको छ ।

‘राष्ट्रियसभाको निर्वाचन मिति, प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरीएको हो,’ प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, ‘यी विषयमा दलीय सहमतिको प्रयास गर्न प्रधानमन्त्रीले बैठक बोलाउनुभएको हो ।’

सर्वदलीय बैठकलगत्तै मन्त्रिपरिषद् बैठक राखेर राष्ट्रियसभा निर्वाचनको मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन् ।

प्रतिक्रिया दिनुहोस्