महिला भलिबललाई रेडबुलको ३३ लाख



काठमाडौं, (नेस)
इनर्जी ड्रिङ्स रेडबुलको प्रायोजनपछि ढोरपाटन महिला डबल लिग भलिबलको १३औं संस्करणमा रेडबुल जोडिएर प्रतियोगिता सञ्चालन गर्ने भएको छ। मंगलबार आयोजक ढोरपाटन स्पोर्टस् क्लबका अध्यक्ष मनवीर छन्त्याल र मुख्य प्रायोजक गोर्खाबु्रअरीका मार्केटिङ मेनेजर इन्द्र रेग्मीबीच सम्झौतापत्र आदानप्रदान भयो। रेडबुलले प्रतियोगिताको लागि प्रत्येक वर्ष ११ लाखका दरले ३ वर्षमा प्रायोजनबापत ३३ लाख उपलब्ध गराउने पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष छन्त्यालले जानकारी गराए।

प्रतियोगिताले सहप्रायोजकका रूपमा युएम आईएमई अर्टोमोटिप्स, सामाखुसी बोडिङ स्कुल (सेब) बीजी मल र जिमी गु्रपको साथ पाएको छ। युएम आईएमई अर्टोमोटिप्स प्रालिले चार उत्कृष्ट खेलाडी र एक दर्शकका लागि जम्मा ५ स्कुटरको प्रायोजन गर्नेछ। त्यस्तै अर्को सहप्रायोजक सेब स्कुलले नगद २ लाखको प्रायोजन गर्ने भएको आयोजकले जनाए।

नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा माघ ४ देखि १९ सम्म हुने प्रतियोगितामा तीन विभागीय टोली नेपाल एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस तथा न्यु डायमन्ड एकेडमी, न्यु डायमन्ड स्पोर्ट्स क्लब, पोखराको टप्स हाइ स्कुल, पूर्वाञ्चल क्षेत्रीय महिला भलिबल, काठमाडौंको पारामाउन्ट हाइ स्कुल, भक्तपुरको स्प्रिङडेल इङलिस स्कुल, श्री गाउँ स्पोर्ट्स विकास समिति, मेघौली स्पोर्ट्स फाउन्डेसन र थ्री स्टार एकेडमीको सहभागिता रहनेछ। प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन रिड मोडल कलेजले भने सहभागिता जनाएको छैन। प्रतियोगितामा सहभागी टिमले विदेशी ४ खेलाडी राख्न पाउने प्रावधान छ। तर प्लेइङ सिक्समा भने ३ खेलाडी मात्र कोर्टमा उत्रन पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ३ लाख २५ हजार र उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउने छन्। यस्तै चौथो हुनेलाई ५० हजार, पाँचौं हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टिमले २० हजार नगद प्राप्त गर्ने छन्। प्रतियोगिताको अर्को आकर्षकका रूपमा रहेको ५ युएम पावरम्याक्स स्कुटर हो।

चार विधामा उत्कृष्ट खेलाडीले युएम पावरम्याक्स स्कुटर पाउने छन्। बेस्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दी इयर र प्लेयर अफ दी सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुने छन्। प्रतियोगिताका बेस्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भिर, ब्लकर, उत्कृष्ट क्वीकर र उत्कृष्ट कोचलाई जनही ५ हजार पुरस्कार पनि दिइने आयोजकले जनाएको छ।
प्रतियोगिताको १३औं संस्करणमा एक दर्शकले समेत स्कुटर पाउने भएका छन्। प्रतियोगिताको अन्तिम दिन टिकट किनेर खेल हेर्न दर्शकमध्ये एकले लक्की ड्रबाट स्कुटर जित्ने छन्। प्रत्येक दिन एक दर्शकले लक्की ड्रबाट डाइमन्ड मोबाइल पनि पाउनेछन्। नेपाल भलिबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको छ। पत्रकार सम्मेलन तथा साइनिङ सेरेमनीमा नेपाल भलिबल संघ अध्यक्ष मनोरञ्जन रमण शर्माले बल र नेट ढोरपाटन क्लबका अध्यक्ष छन्त्याललाई हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्