राष्ट्रिय पोशाकविहीन अवस्थामा टोपी दिवस



ज्ञानमणि नेपाल “कालोटोपी”

नेपाल विविध भेषभूषा लगाउनेहरुको साझा चौतारी हो। यहाँ बसोबास गर्ने सबै नागरिकका आ–आफ्नै जातीय पहिचान झल्किने पहिरन छन्। अर्को अर्थमा भन्नुपर्दा, कुनै व्यक्तिको पहिरनले नै ऊ कुन समुदायको हो भनेर सहजै अनुमान लगाउन सकिन्छ। यसर्थ पनि सबैको पहिचान झल्कने पोशाक हुनु जरुरी एकातिर छँदै छ भने अर्कातिर नेपालमा गणतन्त्रको शुरुवातपछिका केही वर्षमै नेपालीको राष्ट्रिय पोशाकलाई अनिवार्य नगरी हटाइएको अवस्था छ। विनाकारण कुनै पनि देशको राष्ट्रिय पोशाक हट्नु भनेको त्यो देशको मौलिक संस्कृति हट्नु हो, पहिचान हट्नु हो अनि बहुसंख्यक नेपालीको आत्मसम्मानमा चोट पुग्नु पनि हो। बहुसंख्यक नागरिकको साझा पोशाकको रुपमा वर्षौंदेखि जरा गाडेको नेपाली पोशाक दौरा, सुरुवाल, ढाकाटोपी र गुन्युचोलीलाई एकाएक हटाएर हाम्रा राजनीतिक दलका नेताहरुले कुन फाइदा लुटे ? त्यो त उनीहरु नै जानून्, तर उनीहरुले हामीलाई राष्ट्रिय पोशाकविहीन बनाएरै छोडे।

त्यसैले जन्म भयो नेपाली टोपी दिवसको। अनि त्यसको साइत जुर्यो अंग्रेजी वर्षको पहिलो दिन अर्थात् जनवरी १। किन जनवरी १ मा नै नेपाली टोपी दिवस त ? किन वैशाख १ गतेचाहिँ गरिएन त भनेर पनि प्रश्न उठ्ने गरेको छ। यसको पनि आफ्नै कारण छ। पछिल्ला दिनहरुमा नेपाली युवाहरुले नेपाली चार्डपर्वहरुलाई भुसुक्कै विर्सिएका छन्। उनीहरु पश्चिमा संस्कृतिको अनुशरण गर्दै गर्दा नेपालीपन भुल्न पुगेको यथार्थ छर्लङ्गै छ। हामी अंग्रेजी नयाँ वर्षमा ‘ह्याप्पी न्यू एयर’ भन्न लजाउँदैनौं। बरु नेपाली नयाँ वर्षको शुभकामना भन्नचाहिँ धक मान्छौं। त्यसैले पनि हामी आज हरेक कुरामा पछि मात्रै परेका छैनौं, आफ्नै कारणले अरुबाट हेपिएका पनि छौं। यो हेपाइको अन्त्यका लागि र पश्चिमा संस्कृतिको पालना गरिरहेका बहुसंख्यक हाम्रा युवाहरुलाई जनवरी १ मा नेपाली पहिचान झल्किने खालका कार्यक्रमहरु पनि गर्न सकिन्छ है भनेर सन्देश दिने उद्देश्यले हामीले जनवरी १ लाई नै नेपाली टोपी दिवसका रुपमा छनौट गरेका हौं।

विश्वमा हरेक मुलुकहरुको आ–आफ्नो मौलिक पहिचान छ। पहिचानको मुख्य आधार मानिने पोशाकलाई अधिकांश मुलुकले आफ्नो पहिचानका रुपमा सूचीकृत गरेका छन्। तर नेपाल र आमनेपालीलाई विश्व समुदायमाझ चिनाउँदै आएको एउटै मात्र पोशाक दौरा, सुरुवाल, टोपी र गुन्युचोलोलाई गणतन्त्रपछिको तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएको छ। मुलुकमा जातीय पहिचानको आवाज बुलन्द बनिरहँदा हामी अहिले राष्ट्रिय पहिचानविहीनताको अवस्थामा छौं। जातीय पहिचानको महत्व जति छ राष्ट्रिय पहिचानको महत्व पनि उत्तिकै छ। पहिलो कुरा मुलुक हो, तब मात्र क्षेत्र, धर्म, जाति हुन्छ। तसर्थ हामी जातीय पहिचानसँगसँगै राष्ट्रिय पहिचानको खोजीमा छौं।

त्यसका लागि हामीले विगत ४ वर्षदेखि विभिन्न अभियानहरु सञ्चालन गर्दै आयौं। जसमध्ये हरेक अंग्रेजी नयाँ वर्षका दिनलाई नेपाली टोपी दिवसका रुपमा मनाउने हाम्रो मुख्य अभियान हो। यो वर्ष ‘नेपाली टोपी, नेपालको पहिचान’ भन्ने नारासहित पाँचौं नेपाली टोपी दिवसका रुपमा मनाउन लागिएको छ। सम्भव भएसम्म दौरा, सुरुवाल, टोपी र गुन्युचोली सधैँ लगाऔं, नभए नेपाली टोपी अवश्य लगाऔं भन्ने कुरालाई आत्मसात् गर्दै विगतदेखि नै नेपालीलाई चिनाउँदै आएको ढाकाटोपी र भादगाउँले कालोटोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं। नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक भएकाले यहाँ थुप्रै जातीय टोपीहरु पनि छन्। त्यसैले ती टोपीहरुको पनि संरक्षण र प्रवद्र्धन गर्ने हाम्रो अर्काे मूल लक्ष्य हो।

अभियानअन्तर्गत जागरुक युवाहरुले अहिले नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्ने, कार्यक्रममा सहभागि हुन नसक्नेले नेपाली टोपीमा सजिएर सामाजिक सञ्जालमा आफ्नो तस्वीर सार्वजनिक गर्ने र अभियानका बारेमा सक्दो प्रचारप्रचार गर्ने गरिरहेका छन्। सकेसम्म हामीले सबै किसिमका नेपाली पहिचान झल्किने पोशाक सधैँ लगाउनुपर्छ। यदि त्यो सम्भव भएन भने नेपाली टोपी मात्र भए पनि लगाऊँ भन्ने जागरुक युवा अभियान नेपालको मुख्य उद्देश्य हो। यस दिनलाई धेरै साथीहरुले पोशाक दिवसको रुपमा पनि मनाउँदै आएका छन्। आखिर जे–जसरी मनाए पनि नेपालीत्व झल्किने गरी अभियान चलाउनुलाई हामीले स्वाभाविक रुपमा लिएका छौं।

हुन त यस दिन धेरै संस्था, क्लब र व्यक्तिहरुले आ–आफ्नै तरिकाले राष्ट्रियता झल्किने खालका कार्यक्रमहरु गर्ने गरेको पाइएको छ । कसैले राष्ट्रिय पोशाक दिवस भनेर पनि मनाइरहेका छन् भने कसैले ढाकाटोपी दिवस अथवा कसैले नेपाली टोपी दिवस भनेर मनाउँदै आएका छन्। जो जुन बाटोबाट हिँडेर गए पनि आखिर गन्तव्य भने एउटै हो। सबैको चाहना सरकारलाई राष्ट्रिय पोशाक र राष्ट्रिय पोशाक दिवस चाहियो भनेर दबाब दिने नै हो। यसर्थ पनि यसमा धेरैको साथ र सहयोग त एकातिर आवश्यक छँदै छ भने अर्कातिर दिन–प्रतिदिन राष्ट्रिय ओतप्रोतले भरिएका युवा जमातहरुको संख्या पनि बढिरहेको छ। हाम्रो दबाबले नै हाम्रा नेताहरुको चेत खुल्नेछ भन्ने हामीले आशा गरेका छौं।

नेपाली टोपीकै कुरा गर्ने हो भने, यसअन्तर्गत ढाकाटोपी र भादगाउँले कालोटोपी मात्र पर्छ कि भनेर पनि धेरैमा भ्रम परिरहेको छ। मुख्यतया यी दुई खालका टोपीहरुले नेपाली टोपीको प्रतिनिधित्व गरे पनि यसभित्र अन्य समुदायले लगाउने टोपीहरु पनि पर्छन् भनेरचाहिँ हामीले भुल्नुहुँदैन। जे भए पनि ढाकाटोपी र कालोटोपीले भने पूरै नेपालको मौलिक संस्कृतिको प्रतिनिधित्व गरेका छन्। ढाकाटोपीको चुच्चो परेको माथिल्लो भागले हिमाली भेगको प्रतिनिधित्व गरेको छ। बीचको भिरालो भागले पहाड र तलको भागले समथर तराईलाई चिनाएको छ। यसर्थ पनि यी टोपीहरुको महत्व धेरै छ। यसो भनिरहँदा अरु टोपीहरुको महत्व छैन भनेर भन्न खोजेकोचाहिँ पक्कै होइन।

नेपाली टोपी दिवस कहिले मनाउन थालियो भनेर पनि धेरै जनाले सोधेको प्रश्न हो। धेरै जनालाई त थाहा भएकै हुनुपर्छ। नेपाल र नेपालबाहिर रहेका नेपालीहरुले विगत ५ वर्षदेखि जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै आइरहेका छन्। शुरुका २ वर्ष यो दिवस सामाजिक सञ्जालमा मात्र सीमित भयो। तर विगत ३ वर्षदेखि भने यसलाई औपचारिकता दिने गरी सार्वजनिक कार्यक्रम गर्दै धेरै संघसंस्थाहरुले नेपाली टोपी दिवसको विधिवत् शुरुवात गरेका छन्। यसै क्रममा जागरुक युवा अभियान नेपालले पनि यसलाई निरन्तरता दिन थालेको छ। यस संस्थाले विगत ३ वर्षदेखि औपचारिक कार्यक्रम गरी नेपाली टोपी दिवसलाई भव्यताका साथ मनाउँदै आइरहेको छ। यस वर्ष पनि उसले जनवरी १ लाई नेपाली टोपी दिवसको रुपमा मनाउँदै छ।

यति भनिरहँदा पनि हामीले यो बिर्सनुहुँदैन कि हामी अहिले पनि राष्ट्रिय पोशाकविहीनताकै अवस्थामा छौं। जहाँ जाँदा जति ठूला भाषण गरे पनि हाम्रा नेतृत्वहरुले अहिलेसम्म नेपाली पहिचान झल्किने कुनै पनि पोशाकको आवश्यकता नै देखेका छैनन्। तर पनि कुनै जाति विशेषका चार्डपर्वहरुमा जाँदा हाम्रा नेताहरु उनीहरुका टोपी लगाएर राष्ट्रियताको झल्को दिने नाटक भने अहिले पनि गरिरहेका छन्। जागरुक युवा अभियानको मुख्य उद्देश्य भनेको जसले हाम्रो मौलिक पहिरनलाई पररर ताली ठोकेर संसद्बाट हटाए, संविधानबाट हटाए, तिनै नेताहरुले त्यसरी नै ताली ठोकेर हाम्रो पहिचानलाई पहिले जसरी नै संविधानमा अटाउने वातावरण बनाउनु नै हो। यसर्थ पनि हाम्रो यो अभियान चली नै रहन्छ। तपाईं–हामी जुन ठाउँमा छौं, जे गरिरहेका छौं, त्यो काम निरन्तर गरेरै पनि सकेसम्म सबै पहिचान झल्किने पोशाक सधैँ लगाऊँ, सधैँ सकिँदैन भने एकदिन मात्र भए पनि लगाएर राष्ट्रियतालाई बचाइराखौं भनेर नै नेपाली टोपी दिवसको थालनी गरिएको हो। तर यस दिनलाई औपचारिकरुपमा नेपाली टोपी वा राष्ट्रिय पोशाक दिवस भनेर अझै पनि हामीले मनाउन पाएका छैनौं। जागरुक युवा अभियान नेपालको उद्देश्य नेपाली टोपीलाई बचाउँदै जनवरी १ लाई नै टोपी दिवसको रुपमा सधैँ मनाउने वातावरण मिलाउन सकियोस् भन्नु नै हो। यसर्थ यसमा सबैको साथ र सहयोगको उत्तिकै जरुरी छ।

प्रतिक्रिया दिनुहोस्