ट्रम्पको ट्विटलाई लिएर पाकिस्तानीमा आक्रोश ‘सत्य तथ्य बाहिर ल्याउने’



वासिङटन, (एजेन्सी)
पाकिस्तानलाई दिइने अमेरिकी सहायताका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको बयानलाई इस्लामाबादले लिएर कडा विरोध गरेको छ। पाकिस्तानका नागरिकहरूले पनि सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पाकिस्तानलाई दिने भनिएको सहायता एक मुर्खतापूर्ण फैसला भएको बताएका थिए। उनले पाकिस्तानले त्यसको बदलामा झुठ र छल मात्र गरेको आरोप लगाएका थिए।

ट्रम्पको पछिल्लो बयानलाई लिएर सामाजिक सञ्जालहरूमा केहिले पाकिस्तान आफैं पीडित भएको बताइरहेका छन् भने कसैले अमेरिकालाई लुटेरा भनिरहेका छन्।

एक युजर लफ्टिनेन्ट जनरल अमजद सोएबले टिवट गरेका छन्– ‘पाकिस्तानले आतंकवादलाई हराउनमा जो कसैले भन्दा धेरै प्रयास गरेको छ। हामीलाई दोषी ठहर्याउनुअगाडि डोनाल्ड ट्रम्पले अफगानिस्तानप्रति आफ्नो नीतिमा पुनर्विचार गर्नुपर्छ।’
मेन्डिलिसियस नामका एक युजरले लेखे– ‘डोनाल्ड ट्रम्प इतिहासमा सबैभन्दा ठुलो कार्टुन हो र हामी पाकिस्तानलाई लिएर गरिएको उनको बकंफुसे ट्विटमा हाँस्न मात्र सकिन्छ।’

एक अर्को युजरले ट्विटमा भनेको छ– ‘पाकिस्तानले त्यो युद्धमा भाग लियो, जुन कहिले पनि हाम्रो थिएन। यसबाट हामीमाथि १ सय अर्ब डलरको भार पर्यो र ७० हजारभन्दा धेरैले ज्यान गुमाए। अमेरिका आफ्ना सम्पूर्ण सेनासहित अफगानिस्तानमा तालिबानलाई हराउन असफल रह्यो र यसका लागि पाकिस्तानलाई जिम्मेदार ठहर्याएको छ।’

ट्रम्पको उक्त बयानलाई लिएर भारतमा सामाजिक सञ्जालमा भारतीयहरूले डोनाल्ड ट्रम्पको उक्त ट्विटलाई भारत सरकारको प्रयासको नतिजा भएको बताएका छन्। अनमोल कटियार नामका एक युजरले ट्विटमा लेखेका छन्– ‘नरेन्द्र मोदी सरकारको लगातार प्रयासपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान विरुद्ध कडा कदम उठाउने संकेत दिएको छ। यो पहिला नै हुनुपथ्र्यो।’

ट्रम्पले सोमबार ट्विटमा भनेका थिए– ‘अमेरिकाले विगत १५ वर्षमा पाकिस्तानलाई ३३ अर्ब डलरभन्दा धेरै मद्दत दिए र उसले बदलामा झुठ र छलबाहेक केही दिएन। उसले सोचेको छ, अमेरिकी नेता मुर्ख हुन्। हामी अफगानिस्तानमा जुन आतंकवादीहरूलाई खोजिरहेका छौं, उनीहरूले उसलाई आश्रय दिएका छन्। अब त्यस्तो हुनेछैन।’

ट्रम्पको उक्त ट्विटपछि पाकिस्तानका विदेश मन्त्री ख्वाजा आसिफले ट्विटमा जवाफ दिएका थिए।‘हामी चाँदै राष्ट्रपति ट्रम्पलाई जवाफ दिनेछौं। हामी विश्वलाई साँचो बताउनेछौं। तथ्य र कल्पनाबीचको फरक देखाउनेछौं।

त्यसको लगत्तै पाकिस्तानका विदेश मन्त्रालयले पाकिस्तानका लागि अमेरिकी राजदूतलाई बोलाएर ट्रम्पको ट्विटलाई लिएर विरोध जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्