सिलवालविरुद्ध पक्राउ पुर्जी



दीपक रिजाल, काठमाडौं
प्रहरी महानिरीक्षक बढुवाका लागि नक्कली कागजात प्रयोग गरेको ठहर गर्दै कारबाही गर्न सर्वोच्च अदालतले निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वडीआईजी तथा एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको छ।

ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संसाद सिलवाललाई आईजीपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्ने फैसालको आधारमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको अनौपचारिक जानकारी आफूले पाएको महानगरीय आयुक्त कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दले जानकारी दिनुभयो।

एआईजी चन्दले काठमाडौं प्रहरी प्रमुखले पक्राउ पुर्जी जारी गरेको मौखिक जानकारी आफूलाई दिएको तर अहिलेसम्म पत्र भने कार्यालयमा दर्ता नभएको जानकारी दिनुभयो। प्रहरी परिसर काठमाडौंले पक्राउ पुर्जी जारी गर्न अघिल्लो दिन सोमबार नै सांसद सिलवाल मलेसिया गएको उहाँको पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई टोलिफोन गरी सिलवाललाई किन अहिलेसम्म पक्राउ नगरेको अदालतले त्यत्रो आदेश दिँदा किन बेवास्ता गरेको भन्दै प्रश्न गरेपछि आईजीपी अर्यालले तत्काल पक्राउ पुर्जी जारी गर्न निर्देशन दिएको बताइएको छ।

प्रहरी महानिरीक्षक अर्यालले काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई सिलवालविरुद्ध तत्काल पक्राउ पुर्जी जारी गर्न निर्देशन दिएपछि पक्राउ पुर्जी जारी गरे पनि एसएसपी धानुक भने सञ्चारमाध्यमसँग तर्कनुभएको छ। उहाँसँग उपलब्ध भएका सबै फोन नम्बरमा सम्पर्क राख्दा उहाँले फोन उठाउनुभएको छैन। महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीसँग सम्पर्क राख्दा उहाँले आफू केही दिनदेखि बिदामा रहेकाले यसबारे आफूलाई केही जानकारी नभएको बताउनुभयो।

महान्यायाधिवक्ताको कार्यालयले प्रहरी परिसर काठमाडौंलाई पत्र लेखेर सिलवालविरुद्ध कारबाही अगाडि बढाउन निर्देशनसहितको उजुरी दर्ता गराएपछि परिसरले कारबाही प्रक्रिया अगाडि बढाएको थिएन। पुस ५ गते परिसरमा दर्ता भएको उजुरीलाई बेवास्ता गर्दै आएको परिसरलाई आईजीपी अर्यालले जुनसुकै हालतमा सिलवाललाई पक्राउ गरी कानुनी दायरमा ल्याउन निर्देशन दिएपछि परिसरले पक्राउ पुर्जी जारी गरेको परिसरका एक अधिकृतले नेपाल समाचारपत्रलाई जानकारी दिए।

परिसरले पक्राउ पुर्जी जारी गरेर सांसद सिलवाललाई पक्राउ गर्न सादा पोसाकका प्रहरी उहाँको बालकुमारीस्थित निवासमा पठाएको भए पनि उनीहरू भने रित्तोहात फिर्ता भएका थिए। प्रधानमन्त्री देउवाले केही कानुनविद्सँग छलफल गरेपछि सांसद सिलवाललाई पक्राउ गर्न आदेश दिनुभएको बताइएको छ। सिलवालविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार नै वरिष्ठ कानुन व्यवसायीसँग परामर्श गर्नुभएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्